२९ बैशाख २०८१, शनिबार

 

‘सुनचाँदी व्यवसायमा नाफा मात्र खोज्ने होईन ग्राहकको विश्वास जित्नुपर्छ’ –धमाल

पछिल्लो समयमा आफ्नो पुख्र्याैली पेशा छाडेर अन्य पेशा व्यवसाय अगाल्नेहरुको संख्या बढ्दो रहे पनि यहाँका एक व्यवसायीले भने बाउ बाजेदेखि कै पेशामा जमिरहेका छन ।

जुनसुकै पेशा व्यवसायीको एउटै लक्ष्य हुन्छ, ‘आर्थिक कमाई र जीविको पार्जन’ । तर बागलुङ बजारका मनकाजी घमालले कमाईसँगै आफ्नो पुख्र्यौली पेशानै अङगालेका छन । ‘हुन त पैशा कमाउनकै लागि हो तर म पैशासँगै आफ्नो पुर्खाले गर्दै आएको कामलाई जगेर्ना गरिरहेको छु, घमालले भने, ‘सुरुको २ वर्षसम्म त यो छोडेर नयाँ पेशा थालौँ की भन्ने लागेको थियो तर यसैमा लागेर आजसम्म निरन्तरता दिइरहेको छु ।’
उनले बागलुङ बजारको लालिगुराँस चोकमा मनकामना ज्वेलर्स चलाई रहेका छन ।

वि.स. २०४६ सालमा बुर्तिबाङमा सुनचाँदीको कारोबार सुरु गरेका उनी त्यहाँ २ वर्ष बसे । तीन दाजुभाईमध्येका जेठा उनलाई नेपालमा व्यवसायी बनेर परिवार चलाउन सकिन्न की भन्ने पनि नलागेको होईन । विदेशको सपना देखेपछि उनले थालेको २ वर्षमै सुनचाँदी पेशा छाडे । तर ५–७ वर्षसम्म प्रयास गर्दा पनि सफल हुन नसकेपछि उनले २०५६ सालमा बागलुङ बजार आएर मनकामना ज्वेलर्सको नामबाट पुरानै पेशा पछ्याए ।

फेरि पनि २ वर्षसम्म उनी पूर्ण सन्तुष्ट हुन सकेनन् । तर हिम्मत हारेनन् लगातार यसैमा मेहनत गरे । झण्डै दुई दशकको लगानी र मेहनतले अहिले आफुलाई सफलता सँगै सन्तुष्टी मिलेको उनी बताउछन । ‘हामीले उच्च गुणस्तरका सुनचाँदीका तयारी गहना दक्ष कालिगढबाट तयार गरेर विक्री गछौँ,’ धमालले भने, ‘इमान्दारिताका साथ व्यवसाय गरेकै कारण विदेशबाटै समेत फोनको आधारमा अर्डर गर्नुहुन्छ, हामीले तयार गरेर दिने गछौँ ।’

मिसावट रहित सुनका आकर्षक गहना विक्री गर्ने गरेकै कारण ग्राहकको विश्वास जितेको उनको भनाई छ । उनले पुरानो सुनका गहना साटफेर पनि गर्दै आएको बताए ।
उनले ग्राहकले पुराना र नयाँ दुबै डिजाईनका गहना खोज्ने भएकाले माग अनुसार दुवै थरी गहना बनाउने गरेका छन् । नेपाली मैलिक संस्कृति अनुसारका गहना बनाउन आफुलाई बढी रुचि लाग्ने गरेको उनको अनुभव छ ।
अहिले ग्राहकले जंतर, नौगेडी, तिलहरी, सिरफुल, चन्द्रहार, माडवरी, कटहरेगेडी, रानीहार, सिरवन्दी जस्ता गहनाको माग बढी गर्ने गरेको उनको भनाई छ ।

यो पेशाबाट परिवार चलाउन सकिन्छ की सकिन्न भनेर दोधार हुँदै कारोवार सुरु गरेका धमालले अहिले अरु ८ जनालाई पनि रोजगारी दिएका छन् । उनीहरुले मासिक २० हजारदेखि २५ हजार रुपैयाँसम्म तलब पाउने गरेका छन् ।

अरु सबै कुरा बाट उत्साहित धमाल यो कारोवारमा प्रर्याप्त सुन नपाउनु समस्या भएको बताउँछन् । ‘अहिले राष्ट्र बैङले देशभरका लागि दैनिक जम्मा २५ केजी सुन दिने गरेको छ,’ उनले भने, ‘माग अहिले देशभ दैनिक कम्तीमा ३५ केजी छ ।’

उनी दुई कार्यकाल सुनचाँदी व्यवसायी संघ बागलुङको अध्यक्ष भएर काम गरि सकेका छन् । धमालले पेशामा नाफा मात्र नखोजेर ग्राहकको विश्वास जितेर काम गर्दै आएको बताए ।

प्रतिक्रिया दिनुहोस्