बागलुङकै पुरानो मध्येको एक विद्यामन्दिर माद्यमिक विद्यालयको अध्यक्षमा सुवाश चन्द्र्र राजभण्डारी सर्वसम्मत चयन भएका छन् । बागलुङ बजारमा रहेको विद्यालयमा आईतबार भएको अभिभावक भेलाले उनलाई निर्विरोध अध्यक्ष बनाएको हो । समितिको सदस्यमा बाबुलाल शाक्य, कुलबहादुर बिक, रुद्रादेवी रोका क्षेत्री, मायाँ बस्नेत र जसोधा शर्मा चयन भएका छन् ।
विद्यालय रहेको वडाको अध्यक्ष समितिमा पदेन सदस्य रहने व्यवस्था छ । यसअनुसार वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा स्वतः समितिको सदस्य भएकी छन् । समितिको सदस्य सचिव विद्यालयका प्रधानाध्यापक जगन्नाथ आयार्य छन् ।
‘विद्यामन्दिरलाई नमुना बनाउँछु’ –राजभण्डारी
सर्वसम्मत अध्यक्ष बनेका सुवाश चन्द्र्र राजभण्डारीले विद्यामन्दिर माविलाई नमुना विद्यालय बनाउने प्रतिबद्धता जनाएका छन् । उनले नयाँ विश्वसँग कुरा गर्दै आफ्नो तीन वर्षे कार्यकालमा विद्यालयको शैक्षिक र भौतिक सुधारमा ध्यान दिने वताए । ‘मैले चार कक्षादेखि पढेर एसएलसी दिएको स्कुलमा अध्यक्ष वन्ने अवसर पाएको छु,’ उनले भने, ‘यो विद्यालयलाई नमुना बनाउने मेरो चाहना छ ।’
उनले कुनै स्वार्थ र प्रभावमा नपरि सम्बन्धित नीति नियमका आधारमा विद्यालायका सबै काम अघि बढाउने आफ्नो मुख्य प्रतिवद्धता रहेको सुनाए । ‘म हरेक संस्था नीति र विधिअनुसार चल्नुपर्छ भन्ने मान्यता राख्छु,’ उनले अगाडी थपे, ‘अध्यक्ष बन्नुको पछाडी मेरो कुनै स्वार्थ र लोभ छैन, जतिसक्छु निस्वार्थ भएर विद्यालयको सुधारमा काम गर्छु ।’
यस्ता छन उनले गर्ने कामका सूची
विद्यालयको पुर्वाधार निर्माणलाई पूर्णता दिने ।
शिक्षक कर्मचारीबीचमा रहेका मतभेदको अन्त्य गरेर कार्यसम्पादनलाई प्रभावकारी बनाउने ।
विद्यालयमा राजनीति गर्ने परिपाटीको अन्त्य गर्ने ।
सम्बन्धित शिक्षकलाई आफुले पढाउने विषयमा विद्यार्थीलाई राम्रो बनाउनुपर्ने दायित्व पुरा गर्न निर्देश गर्ने ।
प्रविधिमा आधारित शिक्षामा जोड दिने ।
को हुन राजभण्डारी ?
सामाजिक काम गर्न रुचाउने राजभण्डारीले कक्षा ४ देखि एसएसीसम्म विद्यामन्दिर माविमै पढे । उनी विसं २०४० सालमा यहि विद्यालयबाट एसएलससी पास भएका हुन । आईए उनले तत्कालिन महेन्द्र बहमूखी क्याम्पस (अहिलेको धौलागिरी) पढे । २०२२ सालमा तत्कालित कालिका गाविस (अहिले बागलुङ नगरपालिका) राधाकृष्ण टोलमा जन्मिएका हुन् । उनी अहिले पनि त्यहिँ वस्छन् ।
यसअघि पारिवारिक वसाई र व्यवसायका सिलसिलामा १४ वर्ष काठमाण्डामा वसेका थिए । पछि बागलुङ फर्किएर व्यवसायमा लागे । उनले सुरु गरेको कालिका मिनरल वाटर अहिले भाईले चलाउँदै आएका छन् । राजभण्डारीले बागलुङको चिप्लेटी वसपार्कका लागि जग्गा व्यवस्थापर्ने समितिमा अध्यक्ष भएर काम गरेका थिए ।
उनले ३८ सालतिर १० कक्षामा पढ्दा विद्यालयको भैलो कार्यक्रममा विद्यार्थी संयोजक भएर काम गरेको सुनाए । त्यसबेला विदुर खड्का विद्यालयका अध्यक्ष थिए । भैलोमा ९० हजार रुपैयाँ जुटेको उनी अहिले पनि सम्झन्छन् ।
विद्यामन्दिर माविमा धान्यांचल हुँदा उनी उपसंयोजक भएर आर्थिक सहयोग जुटाउने काम गरे । विद्यालयको भवन निर्माण समितिमा अहिले पनि उपाध्यक्ष छन् ।

































































































































































































