आज भोलि धेरै युवाको एउटै गुनासो सुनिन्छ, ‘देशमा भनेजस्तो काम पाइएन’ । गतिलो रोजगारी भेटिएन, यो देशले मेरो खाँचो देखेन भन्दै विदेशिने युवाको लर्को लागेका बेला गतिलो प्रेरणा बनेका छन्, ढोरपाटन नगरपालिका वडा न १ खाराखेत रातामाटाका किसान लालबहादुर श्रीपाली । श्रीपालीले देशमै केही गर्छु भन्ने सोचसहित वैदेशिक रोजगारी त्यागेर स्वदेशमै कृषि गरि गतिलो अम्दानी गरीरहेका छन । ३६ वर्षिय श्रीपालीले गाउँ ठाउँमै बसेर च्याउ खेती गरेरै मासीक १५ हजार आम्दानी गर्न सफल भएको बताउछन् ।
‘३५ दिन भित्रमा एक लटको च्याउ उत्पादन हुन्छ , यस अघिको लटबाट मात्रै ३० हजार रुपैयाँ चोखो मुनाफा कमाएँ’ उनले भने । झण्डै २ रोपनी जग्गामा २ ओटा टनेल बनाएर कन्ये जातको च्याउ खेतीको साथसाथै बाँकी रहेको जग्गामा आलु, बन्दा, काउली, साँग लगाएतका साग सब्जी लगाएका श्रीपालीलाई घरपरिवारको पनि सहयोग मिलेकोे छ । उनले गाउँ र बजारमा ३ सय रुपैयाँमा च्याउ बेचेको बताउ छन । ‘च्याउको बजारका लागि समस्या छैन उनले भने’ ।
श्रीपालीले उत्पादन गरेको च्याउ बुर्तिबाङ बजार नजिकै भएकाले बजारमै खोसाखोस गरी खपत हुने गरेको र धेरै जसो ग्राहकले त झन टनेल सम्मै पुगेर किन्ने गरेको बताउछन् । ढोरपाटन नगरपालिका–३ को छरछरे रातामाटामा करिब २ रोपनी जग्गा भाडाँमा लिएर सुरुमा साथीसँग मिलेर गरेका श्रीपालीले पछि आफु एक्लैले गर्न थाले पनि च्याउबाट भरपुर आम्दानी भएको बताउछन् । ‘सधैँ एकनासको कमाई हुँदैन , लगातार हार नमानी काम गर्ने हो भने आम्दानी सोचेजस्तै हुन्छ’ ।
श्रीपालीले च्याउ खेती गर्ने प्रविधि पाँच वर्ष पहिले पोखरामा सिकेका थिए । उनी भन्छन “तालिम पछि म मोटो रकम कमाउनको निम्ति विदेश गए तर भाग्यले साथ दिएन काम पनि अप्ठ्यारो प¥यो, पछि सोचँे विदेशमा बगाउने पसिना आफ्नै देश बगाउँछु’ । केहि समय काम गरेपछी स्वदेश फर्किएका श्रीपालीले च्याउ खेति सुरु गरे पछि राम्रै आम्दानी भएको बताए ।
कृषि कार्यबाट मनग्य आम्दानी गर्न सफल यी युवा जस्ता दिनप्रतिदिन विदेशिने युवाहरुलाई नेपालमै काम गर्ने वातावरण राज्यले मिलाए आफ्नै देशमा पेशा–व्यवसाय गरेर नेपालमै केहि गरे वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्यामा कमी आउने उनको विचार छ ।























































































































































































