सूचना र सञ्चार, वचत तथा ऋण लगायत सामाजिक कार्यमा क्रियाशिल आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले सञ्चालन गरेको सामाजिक सुरक्षा कोष अन्तर्गत संस्थाका शेयर सदस्यका अभिभावकको निधनमा राहत रकम प्रदान गरेको छ । संस्थाले शेयर सदस्य तथा उनीहरुका परिवारका सदस्यको निधन हुदा घरमै गएर श्रद्धाञ्जली अर्पण गर्नुका साथै राहत रकम प्रदान गर्दै आएको छ ।
बागलुङ नगरपालिका–४ रमेटार निवासी शेयर सदस्य रुपा क्षेत्रीका ससुरा कर्णबहादुर आचार्य क्षेत्रीको निधन भएको १२ औं दिनको पुण्य तिथि पारेर संस्थाका तर्फबाट बिहीबार घरै गएर शुक्रबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाका सह–सचिव ललिता थापाले स्वर्गीय कर्णबहादुरकी छोरी बिमला कार्कीलाई शेयर सदस्यका परिवारका सदस्यको निधनमा संस्थाले प्रदान गर्ने ५ हजार मृत्यु राहत रकम र शोक वक्तव्य प्रदान गरेकि हुन ।
हरेक शेयर सदस्यबाट प्रत्येक दिन एक रुपैया संकलन गरी संस्थाले दैवि प्रकोप तथा उद्धार राहतकोष स्थापना गरेको छ । उक्त कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र परिवारका सदस्यको निधनमा ५ हजार रुपैया संस्थाले सहयोग गर्दै आएको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिईन ।
धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै धौलागिरि टेलिभिजन सञ्चालनमा सहकार्य गर्दै आएको आदर्श सञ्चार सहकारीमा हाल १ हजार २ सय जना शेयर सदस्य, २ करोड ६० लाख शेयर रकम, ८ करोड वचत रकम र ११ करोड कर्जा लगानी रहेको उपाध्यक्ष जिसीले जानकारी दिईन ।













































































































































































































