३ कार्तिक २०८३, सोमबार

 

म्याग्दीको सुन्तला पोखरामा निकासी

म्याग्दीको बेनी नगरपालिका–३ मरेकमा उत्पादन भएको सुन्तला यस वर्ष पोखराको बजारमा निकासी हुने भएको छ ।पोखराका व्यापारी गाउँमै आएर सुन्तला निकासी गर्न थालेका हुन् । मरेकका कृषकहरु हिजोआज बारीमा लटरम्म फलेका सुन्तला टिपेर बजार पठाउन व्यस्त छन् । गाउँबाटै साठी रुपैया प्रतिकिलोका दरले सुन्तला बिक्री भैरहेको मरेकका अगुवा कृषक ईन्द्रबहादुर थापाले जानकारी दिए ।

पहिलो चरणमा तिन लाख बराबरको सुन्तला बजार पठाईसकिएको छ । यस वर्ष मरेकमा पन्ध्र लाख रुपैया भन्दा बढीको सुन्तला उत्पादन भएको कृषक थापाले जानकारी दिए । मरेकका २१ घरधुरीले ब्यवसायीक सुन्तला खेती गरेका छन् । दश हजार बोट रहेकोमा पाँच हजार बोटमा फल लागेको छ । दाना झर्ने समस्याका कारण पुराना बोटमा फल कम लागेपनी नयाँ बोट थपिएकाले गत वर्षकै हाराहारीमा सुन्तला उत्पादन भएको छ ।

पश्चिम फर्कीएको भिरालो पाखोमा अवस्थित मरेकका कृषकहरुले कोदो, मकै, गहुँ, धान लगायत अन्नबालीको विकल्पमा धमाधम सुन्तला खेती विस्तार गरिरहेका छन् । अन्नबाली भन्दा सुन्तला खेतीबाट पाँच गुणा बढी आम्दानी हुने कृषक धना थापाले बताए ।

सुन्तला बजारीकरण गर्न मरेकका बासिन्दाले पाँच वर्षअघि गाउँमा कच्चि सडक पु¥याएका थिए । सडक पुगेपछि आवत जावतका साथै सुन्तला निकासी गर्न सजिलो भएको कृषकहरुको भनाई छ । सडक नहुँदा डोके ब्यापारीलाई कुर्नुपर्ने समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung