बेनीमा पुष २८ देखि सुरु हुन लागेको छैठौँ म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक व्यापारीक मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा दश दिनसम्म सञ्चालन हुने महोत्सव स्थलमा पूर्वाधार निर्माणको काम तिव्र बनाइएको छ । सुरक्षा, प्रचारप्रसार, स्टल निर्माण, आर्थिक संकलन, अतिथी सत्कार लगाएत व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको महासचिव लिलाराम गौतमले बताए ।
महोत्सवलाई लक्षित गरेर संघले बेनी बजारमा टिकट विक्री गर्न घरदैलो अभियान सञ्चालन गरेको छ । दुई हजार दरका टिकट विक्रीका लागि घरदैलो अभियान सञ्चालन गरिएको संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए । महोत्सवमा ५० वर्ष अगाडिको म्याग्दी जिल्लाको फोटो प्रर्दशनी गरिने भएको छ ।
वि.स २०२२ सालमा म्याग्दी आएर अमेरिकी नागरिकले खिचेका तस्वीरहरु प्रर्दशनीमा राखिने फोटो प्रर्दशनी संयोजक भोजबहादुर रिजालले बताए । उनका अनुसार म्याग्दीको इतिहाँस, कला, संस्कृती, भुगोल र पर्यटकीय स्थलहरुका १ सय २० भन्दा बढी तस्विर प्रर्दशनी गरिने भएको छ ।
महोत्सवमा १ सय ८० वटा विभिन्न व्यापारीक स्टलहरु रहने भएका छन् । १० दिनसम्म चल्ने महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ भने छ करोडको कारोबार हुने अनुमान गरिएको छ । स्थानीय उत्पादनको बजार प्रर्बद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र व्यापार प्रबद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको प्रथम उपाध्यक्ष सुबिन श्रेष्ठले बताए ।
स्थानीय उत्पादन, कृषि, पशुपालन र राष्ट्रिय आन्तराष्ट्रिय औद्योगिक प्रर्दशनीका साथै स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रदर्शनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने प्रचारप्रसार समितिका संयोजक सुवर्ण रिजालले बताए ।













































































































































































































