४ श्रावण २०८३, सोमबार

 

म्याग्दीलाई व्यापारीक केन्द्र बनाउने हो– कर्माचार्य

म्याग्दी उद्योग वाणिज्य संघले आयोजन गरेको म्याग्दी महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले महोत्सवको सम्पूर्ण तयारी पुरा भएको र म्याग्दी जिल्लालाई ४ नम्बर प्रदेशको व्यापारीक केन्द्र बनाउनको लागि महोत्सव आयोजना गरेको बताए । महोत्सव यही पुष २८ गतेदेखि बेनी बजारमा सुरु हुँदै छ । ‘उद्योग, व्यापार र कलाको विकास गर्ने, संस्कृतिको संरक्षण गर्दै पर्यटनको प्रबद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो’ कर्माचार्यले बताए ।

उक्त महोत्सवमा आन्तरिक तथा बाह्य गरी १ लाख ५० हजार पर्यटक भित्र्याउने लक्ष्य राखेको म्याग्दी उद्योग वाणिज्य संघका महासचिव लिलाराम गौतमले जानकारी दिए । महोत्सवमा आउने पर्यटकहरुलाई प्रसिद्ध गलेश्वर, रुप्से छहरा, पुलस्य आश्रम, पुन हिल, तातोपानी कुण्ड, लभ हिल, बागलुङको बागलुङ कालिका, पञ्चकोट, पर्वतको लामो र अग्लो पुल, गुप्तेश्वर गुफा, मल्लाज दरबार लगाएका पर्यटकिय तथा धार्मिक गन्तव्यहरुमा भ्रमण गराउने गौतमले बताए ।

त्यस्तै महोत्सवमा ६ करोडको कारोबार गर्ने लक्ष्य राखिएको छ । लक्ष्य अनुसारको पर्यटक भित्र्याउन सके र हाम्रो स्थानीय उत्पादन, गन्तव्य स्थलको भ्रमण गराउन सके धेरै व्यवसायीहरु लाभान्वित हुने म्यााग्दी उद्योग वाणिज्य संका कोषाध्यक्ष अमित बानियाँले बताए । ‘हामीले ठूलो मेहनत गरेर महोत्सवको आयोजना गरेका छौ । यो हामी सबैको साझा सपना हो । भविष्यको म्याग्दी कस्तो बनाउने भन्ने बहस र साझा आर्थिक एजेण्डामा सबैलाई गोलबद्ध गर्न महोत्सवले मञ्च उपलब्ध गराउने छ’ निवर्तमान अध्यक्ष जीवन विश्वकर्माले बताए । ‘म्याग्दी महोत्सव सफल बनाउन हामी सबै लागेका छौँ ।

भर्खरै सफल भएको बागलुङ महोत्सव पछि म्याग्दीको घरेलु, कृषि पशुपालन, उर्जा, पर्यटन, रेमिट्रान्स र व्यापारलाई कसरी बजारीकरण गर्न सकिन्छ भन्ने मुल मर्म यो महोत्सवले बोकेको छ’ नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य निर्माण कुमार श्रेष्ठले बताए । ‘म्याग्दी महोत्सवले आर्थिक कारोबारलाई चलायमान बनाउने, म्याग्दीको व्यवसायीक सम्भावना, सामथ्र्यलाई उजागर गर्ने र लगानी मैत्री वातावरण निमार्ण गर्न स्थानीय जनप्रतिनिधिलाई उत्साहित गर्ने लक्ष्य रहेको छ’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रमोद श्रेष्ठले बताए ।

त्यसैगरी महोत्सवको मुख्य आकर्षकको रुपमा घोडा चडी, फोटो प्रदर्शनी, कालिगण्डकीमा ¥यापटिङ लगाएतका मनोरञ्जनात्मक कार्यक्रम रहेको छ । महोत्सवमा १ सय ८० स्टल राख्ने भनिए पनि स्टलको धेरैले माग गरेकोले २ सय स्टल पुराएको छ । स्टल स्थानीय उत्पादनको लागि निशुल्क भएको अध्यक्ष कर्माचार्यले बताए । महोत्सवमा टिकट विक्रीबाट ३० लाख, स्टलबाट १७ लाख आम्दानी गर्ने लक्ष्य राखेको महासचिव गौतमले जानकारी दिए । यति बेला बेनी बजार रंगीचंगी भएको छ । महोत्सवको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung