जिल्लाको सम्भावनाको उजागर गर्ने मुख्य उद्देश्यले शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठाँै म्याग्दी महोत्सव, माघे संक्रान्ति एवं ४ नम्बर प्रदेश स्तरीय कृषि, आद्यौगीक व्यापारीक मेला सुरु हुदैछ ।
म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा माघ ७ गतेसम्म सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको छ । महोत्सव स्थल खुल्ला मञ्चमा पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । व्यापारीक स्टलमा सामान राख्न थालीएको छ । सामान विक्रीका विभिन्न विभिन्न ठाउँबाट व्यापारीहरु आएका छन् ।
२ सय वटा स्टल रहने संघका महासचिव लिलाराम गौतमले जानकारी दिनुभयो । उनका अनुसार म्याग्दी जिल्लाको उत्पादनका स्टललाई भने निशुल्क प्रर्दशनीको व्यवस्था गरिएको छ । कृषकहरुलाई व्यवससायीक र प्रतिस्पर्धी बनाउन कृषि विकास कार्यालयसँगको सहकार्यमा कृषि मेला प्रर्दशनी समेत गरिने भएको छ ।
बेनी बजार प्रवेश गर्ने नाकाहरुमा स्वागतद्धार निर्माण गरिएको छ । बजारबासीले टोल टोलमा सरसफाई गरी ध्वजापतकाले सिगारेका छन् । तुल, व्यानर झुण्डाइएको छ । म्याग्दी र कालिगण्डकी नदीको दोभानमा रहेको बेनी बजार विवाहघर जस्तै सिगारीएको छ । महोत्सवको सबै तयारी पुरा भएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यले बताए ।
दश दिनसम्म चल्ने महोत्सवको शुक्रबार दिउँसो १ बजे पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । उद्घाटन पुर्व बेनी बजारमा झाँकी सहितको ¥याली निकालीने भएको छ । स्थानीय उत्पादनको बजार प्रर्वद्धन, कला र संस्कृतीको संरक्षण, पर्यटन, कृषि, जलविद्युत, खनिज र पशुपालन क्षेत्रको सम्भावनाको उजागर गरि लगानी भित्र्याउने र व्यापार प्रर्बद्धन गर्ने महोत्सवको मुख्य उद्देश्य रहेको अध्यक्ष कर्मचार्यले बताए ।
म्याग्दीलाई समेटेको कालीगण्डकी कोरीडोर सडक आयोजना, जलविद्युत आयोजना, पर्यटकीय मार्ग र कोरला नाका सञ्चालन गराउन महोत्सव मार्फत सकारात्मक सन्देश प्रवाह गराउने लक्ष्य छ । महोत्सवमा म्याग्दीका धार्मीक, पर्यटकीय स्थल, कला, संस्कृती र जिवनशैली झल्काउने तस्विर तथा वृतचित्र समेत प्रर्दशनी गरिने भएको छ ।
स्थानीय तह स्तरीय महिला पुरुष भलिबल, बास्केटबल, लोकदोहोरी गित प्रतियोगिता, कलाकारहरुबाट गित तथा नृत्य प्रस्तुती, झाँकी प्रर्दशनी, रमाईलो मेला महोत्सवको आकर्षण रहने प्रथम उपाध्यक्ष सुविन श्रेष्ठले बताए । उनका अनुसार उद्घाटनका अवसरमा जिल्लामा बसोबास गर्ने १५ भन्दा बढी समूदायको झाँकी प्रर्दशनी गरिने भएको छ । दैनिक रुपमा उनिहरुको कला र संस्कृतीको प्रर्दशनी गर्ने व्यवस्था मिलाइएको छ ।
पर्यटन प्रर्बद्धनका लागि कालिगण्डकीमा ¥याफ्टीङ र बेनी देखि लभहिलसम्म घोडा सफारी गराइने भएको छ । महोत्सवमा डेढ लाख आन्तरीक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । छ करोडको कारोबार हुने अनुमान गरिएको दितृय उपाध्यक्ष राजेश शाक्यले बताए । महोत्सव स्थलको सुरक्षाका लागि सिसीटिभी क्यामेरा जडान गरिएको छ । प्रहरीले महोत्सव लक्षित सुरक्षा योजना बनाएको छ ।













































































































































































































