१८ भाद्र २०८३, बिहीबार

 

मंगला गाउँपालीकामा विकास निर्माण सुस्त

म्याग्दीको मंगला गाउँपालीकामा विकास निर्माणको गति सुस्त देखिएको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिनाको अवधिमा समग्रमा साढे अठार प्रतिशत बजेट खर्च गरेको मंगलाले पूर्वाधार निर्माणको दुई प्रतिशत मात्र बजेट खर्च गरेको छ । मंगला गाउँपालीकाका जनप्रतिनिधि, कर्मचारी र सरोकारवालाहरुको परम्परागत कार्यशैली र ढिलासुस्ती बजेट परिचालनमा बाधक बनेको स्थानीयबासीले बताएका छन् ।

गत असार अन्तिम साता भएको गाउँसभाबाट २३ करोड ७७ लाख ५३ हजार रुपैया बजेट पारित गरेको गाउँपालीकाले साउन देखि पुष सम्म जम्मा १८.४६ प्रतिशत बजेट खर्च गरेको हो । २२ करोड ३३ लाख ८० रुपैयाको अख्तियारी आएपनि चार करोड ३९ लाख ६५ हजार ५४५ रुपैया मात्र खर्च भएको गाउँपालीकाका लेखापाल मुक्तिराम खरेलले जानकारी दिए ।
गाउँपालीका अन्तरगतको स्वास्थ्य, शिक्षा, पशु र कृषि शाखाका कर्मचारीको तलबभत्ता र उनिहरुले सञ्चालन गर्ने योजना तथा कार्यक्रमका लागि शसर्त अनुदान शिर्षकमा बिनियोजन भएको नौ करोड ११ लाख ६५ हजार रुपैया मध्य तिन करोड २९ लाख ७८ हजार ५०८ रुपैया खर्च भएको छ ।

वित्तिय समानीकरणतर्फको १३ करोड छ लाख १८ हजार रुपैया मध्य पूर्वाधार योजनाहरुका लागि बिनियोजित तिन करोड तिन लाख ३४ हजार ८४० रुपैया मध्य २.३२ प्रतिशत मात्र खर्च भएको छ ।

गाउँपालीका अन्तरगत सञ्चालित पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनामा बिनियोजन भएको एक करोड ५९ लाख सत्तरी हजार रुपैया मध्य ४४ लाख ८२ हजार ९०५ रुपैया खर्च भएको छ ।

१५ लाख ७५ हजार रुपैया राजस्व उठाउने लक्ष्य राखेको गाउँपालीकाले छ महिनाको अवधिमा तिन लाख २४ हजार २२५ रुपैया (२०.५८ प्रतिशत) राजस्व संकलन गरेको छ ।

गाउँपालीकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद पौडेलले उपभोक्ताले भौतिक पूर्वाधार योजनाको सर्वेक्षण, सम्झौता र कार्यान्वयनमा ढिलाई गर्दा बजेट परिचालन हुन नसकेको बताए ।

बर्खा, चाडपर्व, प्रदेश र प्रतिनिधिसभाको चुनाव, प्राबिधिक जनशक्ति र जनप्रतिनिधिको समन्वयको अभावका साथै उपभोक्ताको ढिलासुस्तीका कारण योजना कार्यान्वयन प्रभावीत बनेको छ । योजना सर्वेक्षण, सम्झौता र कार्यान्वयनलाई तिब्रता दिइएकाले अब विकासको कामले गति लिने गाउँपालीकाका अध्यक्ष सतप्रसाद रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung