४ श्रावण २०८३, सोमबार

 

नृत्यबाटै ३० अर्ब ७५ करोड

गीत, संगीत र नृत्य क्षेत्रको चर्चित नाम हो सकिरा । उनी अत्यन्तै लोकप्रिय एवं सफल कोलम्बियाली पप गायिका र नृत्यांगाना पनि हुन् । ‘सकिरा इसाबेल मेबारक रिपोल’ को नामले समेत उनी चिनिन्छिन् । उनको सम्पत्तिको स्रोत भनेकै गीत/संगीत र नृत्य हो ।

  • जब तपाई उडान भर्न सिक्नुहुन्छ तब पैदल हिँड्न धेरै दिक्क लाग्दो हुन सक्छ ।
  • लोकप्रियताले मानिसलाई वास्तविकताबाट निकै टाढा पुर्‍याइदिन्छ, यो धेरै कलाकारसँग हुने गर्छ र म चाहन्छु कि यो मसँग नहोस् ।
  • एउटा गायकका लागि सबैभन्दा निराशाजनक कुरा संगीतलाई आफ्नो करियरका रूपमा चयन गर्नु हो र फेरि संगीत सिर्जनामा सक्षम नहुनु पनि हो । किनभने यो क्षेत्रमा तपाईले सधैं साक्षात्कारका लागि अभ्यस्त हुनैपर्छ ।
कसैले पेसाबारे उनीसँग सोध्दा ‘गायिका र गीतकार’ भन्न रुचाउँछिन् । आजैको दिन ४० वर्ष (२ फेब्रुअरी १९७७) अघि कोलम्बियाको बरान्क्विल्लामा उनको जन्म भएको हो । पप कलाकार सकिराका ७० लाखभन्दा बढी एल्बम विश्वभर बिक्री भइसकेका छन् । उनले विश्वभरका चर्चित पुरस्कारसमेत हात पार्न सफल भएकी छन् ।
सानैदेखि उनको झुकाव संगीतमा थियो । संगीतमा चासो भए पनि सुरुवातचाहिँ उनले कविताबाट गरेकी थिइन् । मात्र चार वर्षको उमेरमा उनले पहिलो कविता लेखेकी थिइन् । एउटा रेस्टुरेन्ट, जहाँ ग्रुभी संगीत सुनाउने गरिन्थ्यो, उनले अचानक त्यहाँ नाच्न सुरु गरेकी थिइन् । सामान्यतया उनी स्कुले जीवनमै नाच्न थालेकी हुन् । आफ्ना कक्षाका सहपाठी र शिक्षकको अनुरोध आउने बित्तिकै उनी छमछमी नाच्न थाल्थिन् । फलस्वरूप कलिलै उमेरमा साकिराले ‘बेली डान्सर गर्ल’ को उपाधि हासिल गर्न सफल भइन् । लोकप्रियता ग्राफ उकालो लागेसँगै उनको डिमान्ड गर्नेहरू हवात्तै बढेका हुन् । त्यसपछि उनले सहरका विभिन्न स्थानमा आफ्नो प्रस्तुति दिन सुरु गरिन् । त्यसैक्रममा एउटा कार्यक्रममा उनले स्थानीय थिएटर प्रोडयुसर मोनिका एरिजाको ध्यान तान्न सफल भइन् । त्यसपछि मोनिकाले सकिरालाई सोनी कोलम्बियाको कार्यकारी निर्देशक सिरो भार्गससँग परिचय गराइन् । उनले सकिराको पहिलो ‘म्यागिया’ एल्बम सार्वजनिक गरिन्, त्यसताका उनको उमेर मात्र १४ वर्षको थियो । वित्तीय रूपमा उक्त एल्बमले अपेक्षाकृत सफलता हासिल गर्न नसके पनि सकिराको लोकप्रियता किशोर–किशोरीको माझ निकै माथि उक्लियो ।
दोस्रो एल्बम पनि त्यति जमेन । तर, तेस्रो एल्बम ‘पाइस डेसकाल्जोस’ बाट उनले ‘ब्रेकथ्रु’ नै गरिन् । विभिन्न आठ मुलुकमा कयौं सातासम्म यो एक नम्बरमा रहन सफल भयो । त्यसपछि साकिराले कहिले पछाडि पर्कनु परेन । लोकप्रियतासँगै विभिन्न अवार्डहरूसमेत प्राप्त गर्न थालिन् । यो एल्बमले थुप्रै पुरस्कारका लागि उनको नाम मनोनयनमा पार्‍यो । उनी रातारात स्टार बनिसकेकी थिइन् । सोनी कोलम्बियाले साकिराको तीनवटा जति एल्बम निकालेको थियो ।
सन् १९९१ मा सकिराको ‘म्यागिया’ एल्बम सार्वजनिक भएको हो । यो एल्बममा उनले आठ वर्ष उमेरअघि आफैंले रचेका गीतहरूसमेत समेटिएकी थिइन् । त्यसले व्यावसायिक रूपमा सफलता भने हात पार्न सकेन । दुई वर्षपछि सन् १९९३ मा उनको दोस्रो एल्बम ‘पेलिग्रो’ बजारमा आयो । यो पहिलोभन्दा केही चर्चित भए पनि बजारमा भने चलेन । त्यसपछि उनले ब्रेक गरिन् अनि फेरि पढाइ सुरु गर्न पुगिन् । हाई स्कुल शिक्षा उत्तीर्ण गर्ने उद्देश्यले कक्षाकोठामा जान थालिन् । झन्डै तीन वर्षपछि उनी फेरि संगीत क्षेत्रमै फर्किन् । सन् १९९६ मा उनको तेस्रो एल्बम ‘पाइस डेस्काल्डोस’ सार्वजनिक भयो । उक्त एल्बमका आधा दर्जनजति गीत हिट भए ।
गीतसंगीतका समीक्षकहरूले उनका पक्षमा आफ्ना धारणाहरू राख्न बाध्य भए । तिनीहरूले प्रशंसामा अनेकांै शब्द खर्चे । यो एल्बमको चर्चासँगै उनले विभिन्न स्थानको भ्रमण गर्ने अवसर पाइन् । यसले कलाकारिता क्षेत्र (खासगरी गीतसंगीतमा) उनको चर्चा परिचर्चाले ठाउँ पायो । सन् १९९८ मा उनको अर्को एल्बम ‘डोन्डे इस्टान लस ल्यान्ड्रोन्स’ बजारमा आयो । यो ल्याटिन पप शैलीको संगीतलाई ‘रक इन इस्पानोल’ तत्त्वका साथ श्रोतामाझ पस्किएको थियो । यो एल्बम अमेरिकामा स्पेनिस भाषाकै सबैभन्दा बढी बिक्री हुनेमा दरियो र विश्वभरि ७० लाख कपी बिक्यो । सन् २००१ मा उनले आफ्नो कलाकारितालाई अंग्रेजी भाषामा प्रस्तुत गर्ने सुर कसिन् । त्यसैक्रममा ‘लाउन्ड्री सर्भिस’ बजारमा ल्याइन् । यो एल्बममा ‘ल्याटिन रक’ र ‘ल्याटिन पप’ शैलीको फयुजन गरिएको थियो । यसको एउटा गीत ‘हवेनेभर, हवेनेभर’ अमेरिकाको ‘बिलबोर्ड हट ल्याटिन सङ चार्ट’ मा सर्वाधिक चर्चासँगै पहिलो नम्बरमा रहन सफल भयो ।
सन् २००५ मा सकिराको स्पेनिस एल्बम ‘फिजासिओन ओरल, भोल्युम १’ सार्वजनिक भयो । त्यसलगत्तै अंग्रेजी एल्बम ‘ओरल फिक्सेसन, भोल्युम २’ त्यही वर्षको नोभेम्बरमा बजारमा आयो । त्यसको एकल गीत ‘हिप्स डोन्ट लाइ’ अमेरिकाको ‘बिलबोर्ड हट १००’ मा लामो समयसम्म अग्र स्थानमा रहयो । यो नै उनको ‘सिग्नेचर सङ’ बन्न पुग्यो । सन् २००९ मा सार्वजनिक भएको ‘सी वल्फ’ मा सकिराले पहिलेको भन्दा फरक स्वाद आफ्ना श्रोता र फयानहरूमाझ पस्केकी थिइन् । यसमा इलेक्ट्रोपप, डान्सहल र विश्व शैलीलाई गजब तरिकाले प्रस्तुत गरेकी थिइन् । यसले फरक अपिलका साथ उनले खुबै प्रशंसासमेत बटुल्न सफल भइन् । सन् २०१० मा ‘वाका वाका’ गीत गाइन्, जुन त्यो वर्षको फिफा विश्व कपका लागि आधिकारिक गीत बन्यो । यसमा दक्षिण अफ्रिकी चर्चित ब्यान्ड ‘फ्रेसली ग्रान्उड’ को पनि सहयोग रहयो । यो गीत त्यसताका सुपर हिट नै बन्यो । त्यो गीतले धेरैलाई गुनगुनाउन बाध्य पारेको थियो । त्यसलगत्तै ‘सेल एल सोल’ सार्वजनिक भयो, जुन विश्वभर व्यावसायिक रूपमा सफल भयो । आम्दानी त बढेकै थियो, उनको स्वर सुन्न धेरै ललायित हुनसमेत थालेका थिए ।
यसो त उनको प्रमुख उपलब्धिका रूपमा अंग्रेजी एल्बम ‘लाउन्ड्री सर्भिस’ को ‘हवेनेभर, हवेनेभर’ अझै पनि विश्वभर चर्चित छ । यो एल्बमको दुई करोड कपी बिक्री भइसकेको छ र विभिन्न मुलुकमा ‘मल्टी प्ल्याटिनम’ समेत बनिसकेको छ । यसैगरी सकिराको एकल गायन ‘हिप्स डोन्स लाइ’ देखि ‘ओरल फिक्सेसन, भोल्युम २’ अमेरिकाको ‘बिलबोर्ड हट १००’ मा एक नम्बरमै रहन सफल भएको थियो भने यो ५५ मुलुकमा सर्वाधिक चर्चित पनि रहयो । यो उनको लागि ‘सिग्नेचर सङ’ र २१ औं शताब्दीको सबैभन्दा चर्चित गीतसमेत बन्यो ।
सकिराले सन् २००१ मा ‘एमटीभी अनप्लग’ का लागि ‘बेस्ट ल्याटिन पप एल्बम’ र सन् २००६ मा ‘फिजासियन ओरल भोल्युम १’ का लागि ‘बेस्ट ल्याटिन पप/अल्टरनेटी एल्बम’ शीर्षकमा दुईटा ग्रामी अवार्ड पाउन सफल भइन् । यसैगरी सन् २०१० ‘सेल एल सोल’ का लागि ‘वेस्ट पप भोकल एल्बम’ सहितमा गरी आठवटा जतिमा ल्याटिन ग्रामी अवार्ड पनि पाइन् ।
सेलिब्रेटीहरूको वैवाहिक जीवन त्यति सफलभएको पाइँदैन । सकिरा पनि यसको अपवाद बन्न सकिनन् । लामो समयसम्म कानुन व्यवसायी एन्टोनिया डे ला रुवासँग सम्बन्ध राखेकी उनको सन् २०११ मा सम्बन्ध विच्छेद हुन पुग्यो । हाल स्पेनिस फुटबल खेलाडी गेरार्ड पिकसँग उनी आफ्नो जीवन बिताइरहेकी छन्, उनको एउटा छोरा पनि छ । यी त भए उनको गीतसंगीतमा उपलब्धिको कथा । उनी मानव कल्याण र च्यारिटेबल काममा पनि उत्तिकै सक्रिय छिन् । मानव भएर जन्मेपछि समाजलाई आफ्नो योगदान दिनुपर्छ भन्ने मान्यता पनि उनको रहँदै आएको छ । त्यही थिमअनुरूप उनले सन् १९९७ मा ‘पाइस डेस्काल्डोस फाउन्डेसन’ स्थापना गरी कोलम्बियाभरका विशेष खालको विद्यालयका गरिब बालबालिकालाई सहयोग गर्छिन् ।
सकिरा बिटस्ल स्टार जोन लेननबाट सबैभन्दा बढी प्रभावित रहेको बताउँछिन् । पूर्वमिस कोलम्बिया भ्यालेरी डोमिन्गुज उनकै काकाका छोरा हुन् । ‘दि फेमस पिपुल’ का अनुसार गत वर्षको अप्रिल २७ सम्म सकिराको कुल सम्पत्ति ३० करोड अमेरिकी डलर (३० अर्ब ७५ लाख रुपैयाँ) रहेको छ । ‘दि रिचेस्ट’ का अनुसार सन् २०१४ मा ‘साकिरा’ एल्बमको ३ सय ७६ हजार कपी बिक्रीबाट ३ लाख ७६ हजार अमेरिकी डलर कमाउन सफल भएकी थिइन् । सन् २०१३ मा ‘दि भ्वाइस’ बाट वार्षिक तलब १ करोड २० लाख अमेरिकी डलर पाएकी थिइन् । सन् २०११ मा सकिराले ‘दि सन कम्स आउट वल्र्ड टुर (सेल एल सोल वल्र्ड टुर) को टिकट बिक्रीबाट ५ करोड ३३ लाख अमेरिकी डलर कमाउन सफल भएको ‘दि रिचेस्ट’ अनलाइनले जनाएको छ ।
यसैगरी सन् २०१० मा फरफोरेन्स शुल्कबापत ६ लाख ६२ हजार ८५ र रेकर्ड सेलबापत २ लाख ६० हजार अमेरिकी डलर सम्पत्ति जोडिन् । यसरी कविताबाट आफ्नो साहित्यिक यात्रा थालेकी सकिराले गीतसमेत रच्न थालिन् । पछि गायन र संगीतलाई आफ्नो आम्दानीको स्रोत बनाउँदै अघि बढिन्, आज उनी अर्बपतिमा दरिएकी छन् । गीत संगीतले पनि मानिसलाई अर्बपति बनाउन सक्छ भन्ने कुराकी उदाहरण बनेकी छन्् सकिरा । त्यसैले त नाम र दामसँगै धेरैको हृदयमा बास गरेकी छन् ।
इकान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung