२३ भाद्र २०८३, मंगलवार

 

फिल्म निर्माण करोडमाथि

फिल्म निर्माण लागत आकासिएको छ । केही समयअघिसम्म पनि ४०–५० लाख रुपैयाँसम्ममा फिल्म बनेर प्रदर्शन हुन्थे । तर, पछिल्लो झन्डै दुई वर्षयता फिल्मको बजेट निकै उच्च भएको छ ।

औसत चल्तीका कलाकार तथा निर्देशक लिँदा पनि फिल्मको बजेट एक करोड नाघ्ने गरेको छ । तर, व्यापार भने फेसबुक र अनलाइन मिडियामा मात्रै ‘बबाल’ देखाइने, लेखाइने गरिएको छ । करोडमाथि लागेका निकै कम फिल्मले मात्रै लगानी उठाएको तथ्य पाइन्छ । तर, करोडभन्दा बढी लगानी गरेका निर्माता भने आफ्नो फिल्मले घाटा खाएको स्विकार्न हिचकिचाउँछन् । चार वर्षअघि प्रदर्शित ‘जेरी’ फिल्ममा झन्डै ९० लाख बजेट लागेको बताइएको थियो । हेमराज बिसीको निर्देशन र अनमोल केसी मुख्य भूमिकामा रहेको सो फिल्मले सुपरहिटको व्यापार गरेको खबर फैलिएको थियो । तर, निर्माता मनोज शेरचनले भने जेरीबाट आफ्नो लगानीसम्म पनि फिर्ता नभएको भन्दै उप्रान्त फिल्ममा लगानी नगर्ने बताएका थिए । साँच्चै नै उनले त्यसपछि अर्काे फिल्म निर्माण गरेका छैनन् ।

शुक्रबारदेखि प्रदर्शनमा आएको ‘कृ’ फिल्म सम्भवतः अहिलेसम्मको सर्वाधिक महँगो नेपाली फिल्म हो । सुवास गिरी र भुवन केसीले निर्माण गरेको कृमा कुल तीन करोड ८० लाख रुपैयाँ लगानी लागेको निर्माण पक्षको दाबी छ । यस हिसाबले कृले लगानी मात्र ‘कभर’ गर्न झन्डै दश करोड ग्रस गर्नुपर्छ ।

‘लिलिबिली’का निर्माता गोविन्द शाही आफ्नो फिल्मको बजेट पनि झन्डै तीन करोड पुग्ने दाबी गर्छन् । प्रदीप खड्का मुख्य भूमिकामा रहेको लिलिबिलीको सम्पूर्ण सुटिङ युरोपियन देशहरूमा गरिएको हो । फिल्मको निर्मातामा गोविन्दका साथमा निर्देशक मिलन चाम्स र सुदीप खड्का छन् । लिलिबिली नयाँ वर्षको अवसरमा चैत ३० देखि प्रदर्शनमा आउने तयारीमा छ । ‘अब ४०–५० लाखमा फिल्म बन्ने दिन गए,’ निर्देशक विकास आचार्य भन्छन्, ‘हरेक कुरा महँगो छ । त्यसमाथि कलाकारको पारिश्रमिक नै चर्काे छ । त्यसकारण अब पहिलाको जस्तो अवस्था रहेन ।’ हाल ‘नाइँ नभन्नु ल–५’ निर्माणको तयारीमा रहेका निर्देशक आचार्य आफ्नो सो फिल्ममा पनि करोडमाथिको बजेट लाग्ने दाबी गर्छन् ।

पुस २८ मा रिलिज भएको ‘मिस्टर झोले’ फिल्मको कुल बजेट एक करोड ६३ लाख बताइएको छ । सो फिल्मबाट निर्देशक रामबाबु गुरुङले २५ लाख रुपैयाँ पारिश्रमिक लिएको कुराले पनि चर्चा पाएको थियो । टेकेन खड्काले निर्माण गरेको मिस्टर झोलेलाई वितरक तथा निर्देशकले हिट फिल्म भन्ने गरेका छन् । तर, बुझ्नमा आएअनुसार सो फिल्मबाट निर्मातालाई कुल १७ लाख रुपैयाँ घाटा छ । देशविदेश तथा युट्युब प्रदर्शनको अधिकार बेच्दा पनि फिल्मबाट घाटै लाग्ने आँकडा देखिन्छ ।

पछिल्लो समय प्रदर्शनमा आएकामध्ये ‘लालपुर्जा’ले निर्माता मात्र होइन, वितरकलाई समेत नराम्रोसँग घाटा लगायो । सो फिल्मको काठमाडांै उपत्यकाको वितरण जिम्मा सुनील मानन्धरले लिएका थिए भने मोफसलका हलमा रोहित–रत्नले प्रदर्शन गरेका थिए । निगम श्रेष्ठ निर्देशित लालपुर्जाको देशभरबाट १० लाखभन्दा बढी सेयर नआउने प्रारम्भिक हिसाबकिताब छ । सौगात मल्ल र विपिन कार्की मुख्य भूमिकामा रहेको सो फिल्मको बजेट सवा करोडमाथि बताइने गरिएको छ । लालपुर्जामा वितरकको नै झन्डै ४५ लाख रुपैयाँ परेको बताइन्छ ।

फिल्म निर्माणमा जति–जति तीव्रता आएको छ, व्यापारको अनुपात भने घट्दै गएको देखिन्छ । करोड घटी बजेटमा फिल्म नबन्ने र एकसाथ धेरै फिल्मसँग जुधेर प्रदर्शन हुनुपर्ने कारणले गर्दा पनि व्यापार घाटा बढ्दै गएको बुझाइ निर्माता सुशील पोखरेलको छ ।

‘फिल्म निर्माण निकै महँगिएर गयो,’ पोखरेल भन्छन्, ‘प्रतिस्पर्धा पनि अस्वस्थ भयो । त्यसकारण नाफा कमाउने चान्स निकै कम देखिन्छ । तर, पनि भइहाल्छ कि भनेर फिल्म बनाइरहिएको छ ।’ सुशील नयाँ वर्षको अवसरमा प्रदर्शित आफ्नो ‘राधे’ फिल्मले केही लाख मात्रै मुनाफा गरेको सुनाउँछन् । ‘अलि धेरै नाफा हुने थियो । एक साथ तीन फिल्म जुधे । हल बाँडियो, दर्शक पनि बाँडिए,’ उनले सुनाए । निर्माता सन्तोष सेनले अहिलेसम्म तीन वटा फिल्म ‘चंखे शंखे पंखे’, ‘प्रेमगीत’ र ‘प्रेमगीत–२’ निर्माण गरिसके । उनका तीनवटै फिल्मको लगानी उच्च छ । चंखे शंखे पंखेमा करोड हाराहारी लागेको बताइन्छ भने प्रेमगीतमा सवा करोड र प्रेमगीत–२ मा साढे दुई करोडमाथि । चंखे शंखे पंखेले घाटा लगाए पनि प्रेमगीत र प्रेमगीत–२ बाट भने आफूलाई मुनाफा भएको दाबी सन्तोषको छ ।

‘पछिल्ला दुई फिल्मबाट भने मलाई नाफा भयो,’ उनी भन्छन्, ‘तरिका मिलाएर बनाउने हो भने घाटा हुँदैन ।’ सेन अब ‘दीपेन्द्र सरकार’ र ‘प्रेमगीत–३’ निर्माणको तयारीमा जुटेको बताउँछन् ।

महँगो पारिश्रमिक लिने निर्देशकका रूपमा निश्चल बस्नेतको पनि चर्चा हुने गर्दछ । लुट–२ बाट अपेक्षाकृत सफलता हासिल नगरे पनि उनलाई हास्य कलाकारद्वय कुमार कट्टेल र अर्जुन घिमिरेले आफूहरूको फिल्म ‘फनफनी’ निर्देशन गर्ने जिम्मा २५ लाख रुपैयाँ पारिश्रमिकमा ‘फाइनल’ गरेको दाबी गर्ने गरेका छन् । निर्देशकले नै २५ लाख लिएपछि त्यो फिल्मको बजेट स्वाभाविक रूपमा करोड कट्ने निश्चित छ । नेपाली फिल्मको बजार विदेशमा पनि राम्रो भएकाले निर्माण महँगिएको तर्क गर्नेहरू पनि एकथरी छन् । केही समयअघि अभिनेत्री झरना थापाले निर्माण गर्ने नयाँ फिल्मका लागि अनमोल केसीलाई ५० लाख रुपैयाँ पारिश्रमिक दिन तयार भएको खबर बाहिरिएको थियो । झरनाले आफूले अनमोललाई अफर नगरेको दाबी गरे पनि अनमोलले आफूलाई सो पारिश्रमिकको अफर आएको खुलासा गरेका थिए ।

‘हिरोलाई नै ५० लाख पारिश्रमिक दिन थालेपछि त्यो फिल्मको बजेट दुई करोड कटिहाल्छ नि,’ एकजना वितरक रन्किँदै थिए, ‘यो सबै बजार बिगार्ने काम हो । अन्ततः यो प्रत्युत्पादक नै हुन्छ ।’ एक समय अभिनेता आर्यन सिग्देल ‘डिमान्डेड’ हिरोमा थिए । उनलाई ‘रुद्रप्रिया’ फिल्मका लागि निर्माता रमेश सम्बेदनाले १५ लाख रुपैयाँ पारिश्रमिक दिएको खबरले पनि चर्चा पाएको थियो । तर, अपसोस, रुद्रप्रिया असफल भयो ।

सुवास गिरीसँगको संयुक्त निर्माणमा ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ निर्माण गरेका आर्यन अचेल रामप्रसाद रिजालसँग मिलेर ‘कायरा’ फिल्म निर्माण गरिरहेका छन् । लक्ष्मण रिजालको निर्देशनमा फिलिपिन्समा सुटिङ भइरहेको सो फिल्ममा साम्राज्ञी शाह हिरोइन छिन् । साम्राज्ञीलाई १० लाख रुपैयाँ पारिश्रमिक दिइएको खबर अहिले पनि चर्चामा छ । आर्यनले आफू चल्न छाडेपछि साम्राज्ञीको सहारा लिएको भनेर कुरा काट्नेहरू पनि फिल्मलाइनमा बग्रेल्ती छन् । यस हिसाबले कायराको बजेट पनि दुई करोड छुने पक्कापक्की देखिन्छ ।

फिल्मले हलमा गर्ने व्यापार र मिडियामा आउने खबरबीच ठूलो अन्तर हुने गरेकाले नेपाल चलचित्र संघले केही दिनअघि प्रेसविज्ञप्ति जारी गरेर वितरक तथा हलवालालाई हावादारी रिपोर्ट नदिन चेतावनी दियो । ‘हलमा मान्छे हुँदैनन्, कतिपय मिडियामा भने एकै दिनमा करोड क्लबमा पुग्यो भनेर हचुवा समाचार आउँछ । त्यसले अन्ततः नेपाली फिल्मलाई दुर्गतितिरै धकेलिरहेको छ,’ संघका अध्यक्ष उदय भन्छन्, ‘त्यसकारण संघले वितरक र हल व्यवसायीलाई हचुवाका भरमा मिडियामा व्यापार रिपोर्ट प्रकाशित नगराउन अनुरोध गरेको हो ।’ कतिपय निर्माताले फिल्ममा लागेकोभन्दा तेब्बर बढी लगानी बताउनाले पनि समस्या देखिएको उदय बताउँछन् ।

भारतीय नागरिक रतन दारुवालाको लगानीमा ‘भैरव’ फिल्म निर्माण गरेका निखिल उप्रेतीले सो फिल्मको बजेट करोडमाथि बताए । फिल्म रिलिज भइरहेको वेलामा उनले भैरवले सुपरहिटको व्यापार गरेको दाबीसमेत गरे । लागेका मल्टिप्लेक्समा एकैदिनमा उत्रिएको भैरवले सिंगल थिएटरमा भने राम्रै व्यापार गरेको थियो । अन्ततः भैरवले लगानीसम्म पनि ‘कभर’ गरेन । खास निर्माता दारुवाला अँध्यारो मुख लगाएर मुम्बई फर्किए ।

करोड घटीका फिल्ममा अभिनय नगर्ने मनसाय बनाएका निखिलले भैरवपछि ‘किङ’, ‘निर्भय’, ‘राधे’, ‘रुद्र’ र ‘पिँजडा ब्याक अगेन’ फिल्ममा अभिनय गरे । तीमध्ये राधेबाहेक सबै फिल्मले निर्माता डुबाए । अचेल निखिल फिल्मविहीन छन् । उनका फिल्मलाई मल्टिप्लेक्सले सो नै दिँदैन । उनको ‘कमिटमेन्ट सिक्स्टी आवर’ र ‘भिलेन’ फिल्मको सुटिङ बीचमै रोकिएको छ । अर्का उप्रेती हिरो रमेशले आफ्नै लगानीमा डेढ करोडभन्दा बढी खर्चिएर ‘ऐश्वर्य’ निर्माण गरे । सो फिल्मले भने रमेशलाई जोगायो । रमेश अचेल ऐश्वर्यको विशेष प्रदर्शनका लागि विभिन्न देश पुगिरहेका छन् । ‘स्ट्यान्डर्ड फिल्म बनाउन पैसा खर्च हुन्छ,’ उनी भन्छन्, ‘समय धेरै बदलिइसकेको छ । दर्शकलाई हलिउड, बलिउडको फिल्म हेर्ने बानी लागिसकेको छ । त्यसैले हामीले पनि त्यही स्ट्यान्डर्डमा फिल्म बनाउनुपर्छ । त्यसका लागि करोड कममा फिल्म बन्दैन ।’ रमेश वर्षमा एउटा फिल्म दर्शकमाझ ल्याउने धुनमा छन् । अबको फिल्म पनि ‘हाई बजेट’ नै हुने दाबी उनको छ । ‘३०–४० लाखमा फिल्म बन्ने दिन गएछन्,’ निर्माता केशव भट्टराईको बुझाइ छ, ‘अहिले दर्शक पनि निकै चुजी भइसके । त्यसैले स्ट्यान्डर्ड फिल्म नै बनाउनुपर्छ ।’ अचेल नयाँ फिल्म निर्माणको तयारीमा जुटेका भट्टराई आफ्नो फिल्म करोडमाथि बजेटकै हुने बताउँछन् ।

अभिनेत्री तथा निर्मात्री झरना थापा फिल्म निर्माणमा करोडमाथि नै पैसा खर्च हुने अनुभव सुनाउँछिन् । ‘पहिला ५० लाखसम्म राम्रो फिल्म बन्थे । अहिले त जमाना बदलिइसकेको छ,’ ए मेरो हजुर–२ पछि त्यसकै सिक्वेल बनाउने सोचमा रहेकी उनी भन्छिन्, ‘लगानीअनुसार बजार पनि विस्तार भएकाले त्यति साह्रो तनाव लिनुपर्ने स्थिति भने छैन ।’ अधिकांश निर्माताले आफ्नो फिल्मको बजेट निकै बढाएर भन्ने गरेका छन् । खासमा ४० लाख पनि नलागेको फिल्मलाई एक करोडभन्दा बढी बजेट भन्ने, पार्टनरलाई करोडको हिसाब देखाउनेहरू पनि बग्रेल्ती छन् । जसकारण फिल्ममा खास कति रकम लागेको छ, लाग्छ भन्ने कुराको हिसाबमा निर्माता आफैँ कन्फ्युज हुने गरेकोसमेत पाइन्छ ।

नयाँपत्रिकाबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung