
नेकपा एमालेका केन्द्रीय सदस्य तथा सांसद मनकुमारी जिसीले देशको गरिवी निवारणका लागि राज्य र निजी क्षेत्रले सहकारी क्षेत्रसंग समन्वय गर्नु पर्नेमा जोड दिएकी छन । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शुक्रवार आयोजना गरेको वधाई ज्ञापन, सम्मान तथा स्वागत कार्यक्रममा बोल्दै सांसद जिसीले यस्तो बताएकी हुन । जिसी आदर्श सञ्चार सहकारी संस्थाको संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार हुन ।
समाजमा रहेका विपन्न वर्गका जनताको आर्थिक तथा सामाजिक अवस्था माथि उठाउनका लागि सहकारी उत्तम विकल्प भए पनि स्रोत र समन्वयको अभावमा यसले पूर्णता पाउन नसकेको उनको भनाइ छ । राज्य र निजी क्षेत्रले गरिवी निवारणका लागि सहकारी क्षेत्रसंग समन्वय गरेर सहकारी क्षेत्रमा रहेको श्रम, शिप र पूँजि परिचालनका लागि विधि, प्रविधि र प्राविधिक क्षेत्रमा सहयोग गर्नु पर्नेमा उनको जोड थियो ।
सहकारीले जनतालाई आयआर्जन गर्न, साना उद्यमहरु सञ्चालन गर्न र रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ, तर यसलाई अझै संस्थागत गर्ने र थप प्रभावकारी बनाउनका लागि राज्य र निजी क्षेत्रको समेत सहयोग आवश्यक पर्ने उनले वताइन ।
सञ्चार क्षेत्र विकासको साझेदार भए पनि यसलाई संस्थागत गर्नतर्फ धेरैको ध्यान नगएको भन्दै उहाँले सहकारीमार्फत सञ्चारमाध्यमको संस्थागत विकासमा जुट्दा आइपर्ने कठिन मोडहरुको स्मरण गर्नु भयो । सञ्चार क्षेत्रको सबलताका लागि सहकारी क्षेत्रलाई थप बलियो बनाउनु पर्नेमा सांसद जिसीको जोड थियो । कार्यक्रममा वधाई तथा शुभकामना दिदै जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमले सहकारीमार्फत समाज रुपान्तरणको अभियानलाई तिब्र बनाउनका लागि राज्यका तीन वटै तहले ध्यान दिनु पर्ने बताए ।
कार्यक्रम आदर्श सञ्चार सहकारी संंस्थाका अध्यक्ष अमरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अञ्जु जिसीको स्वागत र सम्पादक रामबहादुर जिसीको सञ्चालनमा सम्पन्न भएको थियो । राजनीतिसंगै सहकारी क्षेत्रमा लागेर केन्द्रीय तहसम्म नेतृत्व गर्न सफल मनकुमारी केसी जिसीले धौलागिरि अञ्चलको पहिलो सञ्चार सहकारीको अध्यक्षका रुपमा काम गर्नु भएको थियो । उहाँको नेतृत्वमा धौलागिरिमा सञ्चार सहकारी मार्फत सञ्चारमाध्यम सञ्चालन गर्ने कार्यको शुरुवात भएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशनका साथै सहकारी र सञ्चार सम्बन्धी विभिन्न कार्यहरु गर्दै आइरहेको छ । ३२ जनाको ३ लाख २० हजार रुपैयाबाट शुरु भएको संस्थामा हाल १ हजार २ सय जना शेयर सदस्य, २ करोड ७५ लाख शेयर रकम, ८ करोड ५० लाख वचत र ११ करोड १५ लाख लगानी रहेको संस्थाका उपाध्यक्ष अञ्जु जिसीले जानकारी दिइन ।