बागलुङको पर्यटकिय शिर घुम्टे लेकमा छैठौं गुराँस उत्सव सम्पन्न भएको छ । उत्सवलाई सम्वोधन गर्दै सांसद मन कुमारी केसीले पर्यटकिय स्थल घुम्टे पर्यटनको प्रचुर सम्भावना बोकेको लेक भएकोले यसको विकास र स्तर वृद्विमा आफुले सक्दो सहयोग गर्ने बताईन ।
प्रकृतिको सुन्दर मनोरम दृश्य, विभिन्न हिम श्रृङखलाहरुको दृश्यावलोकन गर्न पाईनुका साथै विभिन्न जडिबुडी, अनेकौं प्रजातिका गुराँस फुल्ने घुम्टेको महत्वलाई प्रचार प्रसार गरि विश्वभर फैलाउनु पर्ने बताईन त्यसको लागि आवश्यक पुर्वाधार केन्द्र देखि स्थानिय तहको सरकारले सहयोग गर्न आफुले पहल गर्ने केसीको भनाई छ । घुम्टे लेकमा चैत्र ३० र वैशाख १ गते गुराँस उत्सव विविध कार्यक्रम सहित सम्पन्न गरिएको गलकोट घुम्टे पर्यटन विकास केन्द्रका वरिष्ठ उपाध्यक्ष राज बहादुर थापाले जानकारी दिए । जिल्लाको गलकोट नगरपालिका र ताराखोला गाउँपालिकाको बिचमा अवस्थित घुम्टे लेकको पर्यटन प्रवर्द्धन गर्न प्रत्येक वर्ष गुराँस उत्सव गरिदै आईएको छ । घुम्टेलाइ गुराँस पहाड घोषणा गर्न र वैशाख १ गतेलाइ लालीगुराॅस दिवस घोषणा गर्न माग गर्दै गलकोट घुम्टे पर्यटन केन्द्रले गुराँस उत्सव गर्दै आएको केन्द्रका अध्यक्ष झंक बहादुर बस्नेतले बताए । धार्मिक ,प्राकृतिक तथा जैविक हिसाबले महत्त्वपूर्ण घुम्टे लेकको पर्यटकिय विकास र पर्यटन प्रवर्द्धनका लागि गुराँस उत्सवले टेवा पुराएको आयोजकको दावी छ ।
अनेकौ प्रजातिका गुरांसको संरक्षण संगै पर्यटन विकास र लालिगुरांसको महत्व झल्काउन उत्सव आयोजना गरिएको हो । उत्सवको अवसरमा अवलोकन यात्रा ,स्थानिय कला संस्कृतिको प्रदशन ,नौमति बाजा, सुर्यास्त र सुर्योदयको अवलोकन ,झन्डोत्तोलन ,क्याम्प फायर सहित मुख्य समारोहको आयोजना गरिएको थियो । चैत मसान्तमा घुम्टेको लेकमै रात विताएर उत्सवमा सोरठी ,सालैजो ,यानिमाया ,घुम्टे साइलो जस्ता मौलिक सस्कृती संगै विभिन्न झाकि संगै रात भर क्याम्प फायर गरिएको थियो । चैत वैशाखमा फुल्ने अनेकौ प्रजातिका गुराँसले घुम्टेलाई यतिबेला रातै बनाएको छ । समुन्द्री सतह देखि १० हजार ९ सय ९३ फिटको उचाईमा अवस्थित प्रसिद्व घुम्टेमा सिद्द र भैरवको मन्दिर समेत रहेका छन । मन्दिरमा पुजा गर्नको लागि वर्षभरी नै भक्तजनको चहलपहल हुने गर्दछ भनें वैशाख पुर्णिामामा विशेष मेला समेत हुॅदै आएको छ । मध्यपहाडी लोकमार्गबाट मल्म पाण्डवखानी सडक, भैंसे हरिचौर टेउवा सडक, हटिया हरिचौर टेउवा सडक, हिलको सडक हुॅदै झण्डै ३ घण्टाको पैदल यात्रा पछि घुम्टे पुग्न सकिन्छ । आन्तरिक तथा बाह्य पर्यटकको सहजताको निम्ति हरिचौर टेउवाबाट पैदल मार्ग, अफ्ठ्यारो ठाउमा रेलिङ समेत लगाईएको छ । त्यहाॅ जाने पर्यटकको निम्ति बस्नको लागि टहराको समेत व्यवस्था छ भनें गत वर्ष देखि अटो सोलार समेत जडान गरिएको छ ।
गलकोट नगरपालिका वडा नं ७ मल्मका वसन्त केसीले झण्डै डेढ लाखको लगानीमा उक्त सोलार केन्द्रलाई सहयोग गरेका हुन । सोलार जडान पछि अहिले घुम्टेमा रहेका सिद्व भैरव मन्दिरमा रातभर झलमल्ल हुने गरेको छ । उक्त सोलार बत्ती रातको समयमा गलकोट क्षेत्र सॅगै छिमेकी जिल्ला गुल्मी, पाल्पा, अर्घाखाॅची, स्याङजा, पर्वत र म्याग्दीका विभिन्न स्थानबाट देख्न सकिन्छ ।
















































































































































































