वि.सं २०५७ सालमा बागलुङ बजारमा स्थापना भएको बागलुङ बहुउद्धेश्यीय सहकारी संस्थाले पछिल्लो समय सामाजिक सेवाका क्षेत्रमा लगानी गर्न अग्रसर देखिएको छ । सुरुमा १० लाख १४ हजार पूँजी संकलन गरी भाडाको घरमा सहकारी चलाएको सहकारीले अहिले १० करोड २० लाख रुपैँयाको आफ्नै भवन निर्माण गरी सेवा दिइरहेको छ । सहकारीले विगत डेढ महिनादेखि बागलुङ बजारमा सुपथ मुल्य पसल समेत सञ्चालन गर्दै आएको छ ।
सहकारीमा रहेका सदस्यहरुको मुनाफाको ५ प्रतिशत लगानीबाट सुरु भएको सुपथ मुल्य पसलमा अहिले दैनिक रुपमा आवश्यक पर्ने उपभोग्य बस्तुहरु विक्रि गरिदैँ आएको छ । सुपथ मुल्यमा सदस्यहरुको ५ प्रतिशत मुनाफा अर्थात ७० लाख रुपैँया लगानी भएको सहकारी संस्थाका अध्यक्ष अशोकगोविन्द राजभण्डारीले बताए । उनले सहकारीले कृषि र सामाजिक क्षेत्रमा लगानी गरिरहेको बताए । ‘हामीले कृषि र सामाजिक क्षेत्रमा लगानी गरेका छौ ।’ उनले भने, ‘नाफा आर्जन भन्दा पनि सामाजिक कल्याण सहकारीको मुख्य उद्धेश्य हो ।’

सेयर सदस्यदेखि महिला समुहको सुपथ मुल्य पसलमा कारोबार
सुपथ मुल्य पसलमा हरेक दैनिक उपभोग्य सामाग्रीहरु बाहिरको पसलमा भन्दा सर्वसुलभ रहेकाले दैनिक रुपमा पसलमा ग्राहकहरु आउने गर्छन । उपभोक्ताको गुणस्तर र सर्वसुलभ मुल्यमा पाइएकाले दैनिक रुपमा सहकारीको सुपथ मुल्य पसलबाट सामानहरु खरिद गर्ने गरेको कालीगण्डकी आयआर्जन महिला समुहकी अध्यक्ष लक्ष्मी थापाले बताइन । ‘अन्य पसलमा भन्दा सस्तो र गुणस्तरीय सामान सहकारीको पसलमै पाइन्छ भने किन अन्त जानु ।’ उनले भनिन् ‘सहकारी आफैँमा सेवामुखी संस्थाले चलाएको पसल हो । अन्त जस्तो नाफा खाने कुनै सम्भावना हुन्न । त्यसैले मैले सहकारीबाटै सामान लैजान्छु । ’
उनीमात्रै होइन सहकारीकै सदस्यहरुले पनि सुपथ मुल्यबाटै सामान खरिद गर्ने गरेका छन । गुणस्तरीय सामानहरु सस्तो मुल्यमा उपभोक्तालाई सेवा दिनु सहकारीको उद्धेश्य रहेको दैनिक सहकारीकै सुपथ मुल्य पसलबाट सामान खरिद गर्ने सहकारीका संरक्षक तथा सदस्य देवबहादुर श्रेष्ठले बताए ।
सहकारीले बानपा १० भकुण्डेमा ४२ कृषक परिवारलाई ६० लाख लगानी गरेको छ । सुरुमा सहकारीले त्यस क्षेत्रका ३० कृषक परिवारलाई ५ लाख रुपैँया लगानी गरी गरेको थियो । कृषक परिवारले सहकारीबाट पाएको लगानीले तरकारी खेती, पशुपालन, माछापालन फलफुल, बेमौसमी तरकारी उत्पादन गरी आयआर्जन गर्दै आएका छन । हाल सहकारीमा ५७४ शेयर सदस्य पुगेका छन । सहकारीले पछिल्लो आर्थिक वर्षमा ३७ लाख ६८ हजार ७ सय ८७ नाफा गर्न सफल भएको छ । हाल सहकारीको पूँजी ४ करोड ७८ हजार ७० हजार ४ सय रहेको छ । सहकारीले १४ जनालाई रोजगारी प्रदान गरेको छ ।
हालसम्म सहकारीले कृषि तथा पशुपालनका क्षेत्रमा ३ करोड रुपैँया भन्दा बढि लगानी गरेको छ ।
सहकारीबाट ऋण लिएर कृषिमा लगानी गरी बानपा ३ कि एक कृषक असल कृषकको रुपमा राष्ट्रपति कृषि पुरस्कारबाट सम्मानित भएकी छिन । विपन्न वर्ग, दैवी प्रकोष, रोगबाट पिडित भएका सेयर सदस्यहरुलाई राहत हस्तान्तरण गर्दै आएको छ ।



















































































































































































































