देशभरका सहकारी संघ संस्थाहरुको प्रवद्र्धनका क्षेत्रमा क्रियाशिल राष्ट्रिय सहकारी बैंक लिमिटेडको शाखा शनिवार सर्लाहीको हरिवनमा उद्घाटन गरिएको छ । सर्लाही जिल्लाका सहकारी संघ संस्थाहरुबीच कारोबार गर्ने योजनाका साथ बैंकको शाखा सञ्चालन गरिएको हो ।
शाखाको उद्घाटन प्रदेश नं. २ का सामाजिक विकास मन्त्री नवल किशोर साहले गरेका थिए । उद्घाटन पछि बोल्दै मन्त्री साहले प्रदेश नं. २ को समृद्धिका लागि सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिने बताएका थिए । विपन्न वर्गका जनतालाई आर्थिक रुपमा सबल र सामाजिक रुपमा सक्षम बनाउनका लागि सहकारी उपयुक्त माध्यम भएकाले सहकारी मार्फत प्रदेशको समृद्धि संभव रहेको उनको भनाइ थियो ।
सहकारी क्षेत्रमार्फ गरिवी निवारणका लागि सहकारीहरुमा वित्तीय विकाससंगै मानव स्रोतको प्रभावकारी परिचालन आवश्यक रहेको भन्दै उहाँले त्यसका लागि राष्ट्रिय सहकारी बैंकले सहकारी संस्थाहरुलाई सहयोग गर्नु पर्नेमा जोड दिए ।
शाखा उद्घाटन कार्यक्रममा राष्ट्रिय जनता पार्टीका सचिव राजाराम पासवन, हरिवन नगरपालिकाका प्रमुख रेणुका पौडेल, नेफ्स्कुनका लेखा समिति सदस्य सुभद्रादेवी महतो, बचत तथा ऋण सहकारी संसथा सर्लाहीका उपाध्यक्ष हरेन्द्र राउत, राष्ट्रिय सहकारी बैंक राजविराज शाखा समन्वय समितिका संयोजक विश्वनाथ मण्डल, सानिमा बैंकका क्षेत्रीय प्रमुख प्रदिप चालिसे, सगुन वचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष तारा पोखरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा बैंकको स्थापना, वर्तमान अवस्था र आगामी कार्ययोजनाका बारेमा बैंकका प्रवन्ध सञ्चालक के.बी. उप्रेतीले जानकारी गराएका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य शाखा प्रमुख सुजन नेपाल र सञ्चालन बैंकका सञ्चालक हरिहरनाथ योगीले गर्नु भएको थियो । सो अवसरमा बैंकको समग्र अवस्थाका बारेमा बैंकका तालिम विभाग प्रमुख रामबाबु आचार्यले प्रस्तुतीकरण गरेका थिए ।
राष्ट्रिय सहकारी बैंकले नेपाल राष्ट्र बैंक र सहकारी विभागबाट यस आर्थिक वर्षमा ७ वटा थप शाखा सञ्चालनको अनुमति पाएको छ । बैशाख १४ गते पाँचथरको फिदिममा शाखा उद्घाटन भइसकेको छ भने धनकुटाको धनकुटार बजार, महोत्तरी जिल्लाको बर्दिवास, चितवन जिल्लाको भरतपुर, नवलपरासी जिल्लाको कावासोती र नवलपुर जिल्लाको बर्दघाटमा यसै आर्थिक वर्षमा शाखा उद्घाटन गरिने बैंकका सञ्चालक एवं सूचना तथा सञ्चार उपसमितिका संयोजक रामबहादुर जिसीले जानकारी दिए ।
मुख्य शाखा सहित ४५ स्थानबाट सदस्य सहकारी संघ संस्थाहरुलाई सेवा प्रदान गर्न लागेको आएको बैंकमा १४ अर्ब निक्षेप, ११ अर्ब लगानी र १६ अर्बको कुल कारोबार रहेको प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले दिए ।



















































































































































































































