
चितवन राष्ट्रिय निकुञ्जले ‘शून्य सिकार’ वर्ष मनाइरहँदा गत आर्थिक वर्षमा त्यहाँ २६ गैँडाको मृत्यु भयो।
त्यो सङ्ख्यालाई स्वाभाविक मान्न नसकिने संरक्षणविद्हरूले बताएका छन्। ती गैँडाको मृत्यु प्राकृतिक रूपमा भएको भनिए पनि व्यवस्थापकीय कमजोरीका कारण त्यस्तो भएको हुन सक्ने उनीहरूको धारणा छ।
मृत्युको कारण आपसमा जुध्नु, बिरामी हुनु, बच्चा पाउन नसक्नु, बाढीले बगाउनुजस्ता पाइएको अधिकारीहरूले बताएका छन्।
त्यस्तो अवस्था आउनुमा वासस्थानमा आएको परिवर्तन प्रमुख रहेको विज्ञहरूको मत छ।
सङ्ख्या
सन् २०१५ मा भएको गैँडा गणनामा देशभरिमा ६४५ एकसिङ्गे गैँडा पाइएकामा चितवन राष्ट्रिय निकुञ्जमा मात्र ६०५ गणना भएका थिए।
यो सङ्ख्या वर्षेनि ५ प्रतिशतका दरले बढिरहेको संरक्षण अधिकारीहरूले बताएका छन्।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल भन्छन्, “माथिल्ला भागका महाभारत र चुरे क्षेत्रमा भएको प्राकृतिक दोहनका कारणले भएको भूक्षयले गर्दा तल्लो भागका सिमसार क्षेत्रहरू पुरिए र पानीका स्रोतहरू सुक्न थाले, घाँसे मैदान र तालतलैयाहरू पनि व्यवस्थित भएनन्।”
संरक्षण अधिकारीहरूका अनुसार मिचाहा प्रजातिका झारहरू फैलिएर समेत उनीहरूको वासस्थानमा परिवर्तन आएको पाइन्छ।
विकल्प
गैँडाहरू मर्ने क्रम बढेसँगै चितवन राष्ट्रिय निकुञ्जकै आग्रहमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले केहीअघि विज्ञहरू सम्मिलित एउटा अध्ययन कार्यदल गठन गरेको थियो।
त्यसले बच्चा र वृद्ध गैँडा बाघको सिकार हुने र बाढीको जोखिममा रहेको औँल्याएको छ।
बाढीले बच्चा बगाएपछि बचाउने क्रममा पोथी गैँडा समेत जोखिममा परेका पाइएका छन्।
अध्ययनपछि गैँडा गणनामा यसअघि नगरिएको निकुञ्जको भारवहन क्षमता बुझ्नुपर्ने बताउँछन् कार्यदलका संयोजक रहेका विभागका इकोलजिस्ट लक्ष्मण पौडेल।
“एकातर्फ महानगर अर्कोतर्फ नगर र गाउँहरूबीच रहेको जङ्गलले अब कति गैँडा थेग्न सक्छ भन्ने जान्नु आवश्यक भएको छ।”

उनीहरूको प्राकृतिक वासस्थानमै बर्खे विपद्का बेला जनावरहरू जान सक्ने उच्च स्थानको व्यवस्था गर्नेजस्ता व्यवस्थापकीय उपाय सिर्जना गर्न सकिने विज्ञहरू बताउँछन्।
संरक्षणविद् सुशीला नेपाली भन्छिन्, “जुधेर मर्नेजस्ता समस्यासँग जुझ्न उनीहरूको सङ्ख्या बढी भएको स्थान पहिचान गरेर अन्यत्र सार्नेजस्ता काम गरियो भने पनि मृत्युको यो सङ्ख्या घटाउन सकिन्छ।”वीवीसी नेपालीबाट