१२ कार्तिक २०८३, बुधबार

 

यसरी बनाइन्थ्यो झोलुङ्गे पुल

आधुनिक प्रविधि भित्रिनु अघि मुलुकका विकट गाउँ र वस्ती जोड्न स्थानीय सीप र साधन प्रयोग गरेर झोलुङ्गे पुल बनाइन्थ्यो । स्थानीय कालिगढहरुलाई पुल बनाउने जिम्मा दिइन्थ्यो । तर, अहिले नयाँ प्रविधिले त्यसको ठाउँ लिइसक्यो । रैथाने सीपमै आधारित परम्परागत शैलीका यस्ता पुल अहिले देख्न मात्रै पाइन्छ ।

धेरै पुल जीर्ण भइसकेका छन् । अब त यस्ता पुल बनाउने कुशल कालिगढहरु भेट्टाउनै पनि मुश्किल भैसकेको छ । स्थानीय कालिगढ र सीपलाई नयाँ प्रविधिले झण्डै झण्डै विस्थापन गरिसकेको छ । नेपालमा नयाँ प्रविधिको झोलुङ्गे पुल बन्न लागेको १३ वर्ष जति भयो । त्यसो त स्वीस विकास सहयोग (एसडिसी) को सहकार्यमा नेपालमा केही दशकयतादेखि स्वीस प्रविधिका झोलुङ्गे पुलहरु बन्न थालेका हुन् । यसमा स्थानीय उपभोक्ता समूहहरुलाई संगठित गरी श्रमको जोहो गरिन्थ्यो र सामग्री तथा प्राविधिक सहयोग स्वीट्जरल्यान्ड सरकारबाट उपलब्ध हुने गथ्र्यौ । त्यसअघि राणा कालमै कतिपय नदीमाथि झोलुङ्गे पुल बनाइएका थिए ।

स्थानीय समुदायले स्वयं काठे वा झोलुङ्गे पुल बनाउने गरेका सयौं उदाहरण अझै पनि नेपालका विभिन्न ठाउँमा देख्न पाइन्छ । झोलुङ्गे पुल बनाउने रैथाने प्रविधि वा सीप अहिले प्रयोगमा छैन । आधुनिक प्रविधिको झोलुङ्गे पुल निर्माणमा परम्परागत प्रविधिकै विकसित रुप (जसलाई बागलुङ प्रविधि पनि भनिन्छ) अचेल धेरै प्रयोगमा आएको पाइन्छ ।नेपाल भित्रको सानो नेपाल’ ले परिचित बागलुङको अर्को मुख्य चिनारी ‘झोलुङ्गे पुलको जिल्ला’ पनि हो । पछिल्लो एक सर्वेक्षण अनुसार जिल्लामा ४ सय १० झोलुङ्गे पुल छन् । ति मध्ये अधिकांश पुल परम्परागत प्रविधिबाट निर्मित छन् । जीर्ण भएका र केही नयाँ ठाउँमा भने आधुनिक प्रविधिका झोलुङ्गे पुल बनेका छन् ।

(परम्परागत झोलुङ्गे पुल – बागलुङको गलकोटस्थित दरमखोलामा परम्परागत प्रविधिबाट निर्मित झोलुङ्गे पुल तर्दै स्थानीयवासी ।
कति सानो झोलुङ्गे पुल – बागलुङको ताराखोला गाउँपालिका–४ गगीडाँडास्थित गुरुङखोलामा रहेको ५ मिटर लम्बाई र उचाई भएको झोलुङ्गे पुल । दशकौं अघि परम्परागत प्रविधिबाट बनेको यो पुललाई स्थानीयवासीले नेपालकै सानो झोलुङ्गे पुल भनेर दावी गर्ने गर्छन् ।
– रामबहादुर थापा, रासस, बागलुङ ।)

रैथाने ज्ञान र सीप चलाएर झोलुङ्गे पुल बनाउने पुस्ताका व्यक्तिहरु अहिले औंलामा गन्न मिल्ने संख्यामा मात्र जिवीत छन् । उनीहरुसँग पनि त्यसबेला पुल निर्माण गर्दाका संघर्षपूर्ण र कठिन दिनहरुको सम्झना मात्र बाँकी छ । उनीहरुमा भएको रैथाने सीप र कौशल हराइसक्यो । यीमध्ये ताराखोला गाउँपालिका–२ अर्गलका गोविन्द घर्ती अहिले ६४ वर्षको हुनुहुन्छ । विसं २०२८ सालमा झोलुङ्गे पुल बनाउने फलाम लिन उहाँ बुबाहरुसँगै बुटवल जानुभएको थियो । ‘हिँडेर १४÷१५ दिनमा बल्ल बुटवल पुगिन्थ्यो,’ घर्तीले भन्नुभयो, ‘त्यहाँबाट फलाम बोकेर ल्याएर पुल बनाइन्थ्यो । पुल बनाउने योजना बनेपछि गाउँभरिका मानिसहरु लाम लागेर फलाम लिन बुटवल झर्थे ।

त्यसरी ल्याएको फलाम आरानमा गालेर लठ्ठा बनाउन तीन महिनासम्म लाग्थ्यो । पुरै झोलुङ्गे पुल तयार हुँदा आठ महिना बित्थ्यो । फलाम गालेर, पिटेर बनाइएका साङ्ला एकापसमा गाँसेर लामो लठ्ठा बनाउने गरिन्थ्यो । स्थानीय विश्वकर्मा समुदायका कालिगढले फलामको लठ्ठा बनाउने जिम्मा लिन्थे । घर्तीका अनुसारका लठ्ठा बनेपछि मात्र पुलको अरु काम शुरु हुन्थ्यो ।‘सिमेन्ट, बालुवा केहीँ हुँदैनथ्यो, ढुङ्गाले मात्र पुलको ‘जिप’ बन्थ्यो,’ उहाँले भन्नुभयो, ‘ठूल्ठूला ढुङ्गा र खाल्डा प्रयोग गरेर पुलको लठ्ठा तन्काउने विधि थियो ।’ ‘जिप’ को पछाडिपट्टी ठूलो खाल्डा खनी त्यसमा गारो चिन्ने अनि त्यहीँमाथि ढिुङ्गा चढाई लठ्ठा खिच्ने गरिन्थ्यो । ‘लठ्ठा ढुङ्गामा बाँधेपछि तल चिनिएको गारो विस्तार झिक्दा ठूलो ढुङ्गा तल खस्दै जान्थ्यो अनि लठ्ठा तानिन्थ्यो,’ घर्तीले भन्नुभयो ।

उक्त काम होसियारीपूर्वक नगरे पुलको ‘जिप’ नै भत्किने खतरा हुन्थ्यो । लठ्ठा खिच्ने ढुङ्गा ल्याउन, खाल्डो खन्न, लठ्ठा खिच्न मान्छेको बल र बुद्धीको खाँचो पथ्र्यौ । ‘ठूलो ढुङ्गा टाढाबाट डोरी लगाएर ल्याउनुपथ्र्यो, ४०÷५० जना त्यसमा खट्नुपथ्र्यो,’ उहाँले भन्नुभयो । यसरी ढुङ्गा अल्झाएर तानेको लठ्ठाले नै पुलको भार थाम्ने गथ्र्यौ । ढुङ्गा र पहरा भएका ठाउँमा छिनाले दुई हातसम्म प्वाल पारेर लठ्ठा अड्काउने गरिन्थ्यो ।
लठ्ठा तानेपछि पुलको तलपट्टी काठ बिछ्याउने र दायाँबायाँ फलामकै पाताले बार लगाउने गरिन्थ्यो । यसरी बनेका झोलुङ्गे पुलको संख्या ताराखोला गाउँपालिकामा मात्र ७५ भन्दा बढी छन् । एउटा झोलुङ्गे बनाउन सिङ्गै गाउँका मानिस खटिने गरेको स्थानीयवासी ७० वर्षीय दिलबहादुर घर्ती बताउनुहुन्छ । उहाँका अनुसार करिब ७५ वर्षअघि देखि त्यसरी पुल बन्न थालेका हुन् ।

झोलुङ्गे पुल बन्नुअघि भने काठे पुल मात्र प्रचलनमा थिए । झोलुङ्गे पुल बन्न शुरु गरेपछि कतिपय गाउँलेको जिविका पुलमै श्रम गरेर चल्ने गथ्र्यो । प्रायः भने झरालीको रुपमा पुल निर्माणमा खटिन्थे । गाउँले आफै अग्रसर बनेर पुल बनाउने काममा जुट्ने गरेको घर्तीले बताउनुभयो । ‘सरकारको योजना थिएन, गाउँमा पैसा र इज्जत भएका मानिसले पुल बनाइदिन्थे,’ उहाँले भन्नुभयो ।

त्यसबेला झोलुङ्गे पुल बनाउन लाग्ने खर्च एकिन नभएपनि फलाम खरिद गर्न बाहेक बाँकी श्रमको काम गाउँलेले निःशुल्कै गर्थे । आरानमा काम गर्ने कालीगढलाई पारिश्रमिक स्वरुप अन्नबाली दिने चलन थियो । ‘धेरथोर पैसा पनि हुन्थ्यो, बढीजसो बाली लिन्थ्यौं’ ताराखोला गाउँपालिका–५ का कालीगढ तुलबहादुर विकले भन्नुभयो ।

झोलुङ्गे पुल निर्माणमा आधुनिक प्रविधि भित्रिएपछि परम्परागत सीप लोप मात्र भएको छैन आरान चलाउने, भारी बोक्ने, कालीगढी गर्ने व्यक्तिको कमाइको श्रोत पनि गुमेको छ । परम्परागत प्रविधिलाई ‘इन्जिनियरिङ’ गरि नयाँ प्रविधि भित्राइएको तत्कालिन जिल्ला प्राविधिक कार्यालय बागलुङमा झोलुङ्गे पुल हेर्ने इन्जिनियर बलविक्रम दाहालले बताउनुभयो ।

उहाँका अनुसार आधुनिक प्रविधिबाट अहिले बन्ने पुल तीन महिनामै तयार हुन्छन् । लठ्ठा, जाली लगाएतका निर्माण सामाग्री सबै तयारी अवस्थामै किन्न पाइन्छन् । ‘झोलुङ्गे पुल बनाउने पुरानो प्रविधि हराइसक्यो’ इन्जिनियर दाहालले भन्नुभयो, ‘गुणस्तर, लागत खर्च, समय इत्यादि कारणले आधुनिक प्रविधि नै उत्तम छ ।’ सरकारले २०६२ सालमा ल्याएको झोलुङ्गे पुल रणनीति अनुसार तोकिएको मापदण्डमा अहिले पुलहरु निर्माण भइरहेका छन् ।

परम्परागत प्रविधि परिमार्जन भएको झोलुङ्गे पुल निर्माणमा प्राविधिक सहयोग गर्दै आएको ‘टिबिएसयू÷हेल्भेटास’ गण्डकी प्रदेशका सहजीकरण प्रबन्धक दिनेशकुमार पाण्डेले बताउनुभयो । उहाँका अनुसार उक्त प्रविधिबाट १ सय २० मिटर सम्मका लामा ‘सस्पेन्डेट’ पुल बन्ने गर्छन् । अर्को आधुनिक ‘सस्पेन्सन’ झोलुङ्गे पुल बनाउने प्रविधि भने विदेशबाट भित्रिएको हो ।

दुई सय झोलुङ्गे पुल जीर्ण

झोलुङ्गे पुल निर्माणमा व्यवस्थापन र मध्यस्तता गर्दै आएको भिमापोखरा युवा क्लव (बिवाइसी) बागलुङले गरेको सर्वेक्षण अनुसार जिल्लामा दुई सय पुल जीर्ण छन् । तिमध्ये केही तत्कालै पुनःनिर्माण गर्नुपर्ने अवस्थामा रहेको क्लवका सामाजिक परिचालक प्रेम केसीले बताउनुभयो । उहाँका अनुसार जिल्लाभरमा चार सय १० झोलुङ्गे पुल छन् । विसं. ०६२÷०६३ यता दर्जनौं नयाँ पुल बनेका छन् ।

अधिकांश पुराना पुल जीर्ण भएका ठाउँमा र कतिपय नयाँ ठाउँमा झोलुङ्गे पुल निर्माण भएका हुन् । गत आवमा मात्रै जिल्लामा १० झोलुङ्गे पुल बनेका छन् । जिल्ला समन्वय समिति, तत्कालिन जिल्ला प्राविधिक कार्यालय मार्फत ९ र ‘टिबिएसयू÷हेल्भेटास’ पोखराको आर्थिक सहयोगमा २ पुल बनेका हुन् । जीर्ण बनेका, बाढीले बगाएका र केही नयाँ ठाउँमा पुल निर्माण गरिएको हो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung