३ श्रावण २०८३, आईतवार

 

इजरेल: ‘चिहान भएको गुफामा प्राचीन भट्टी र मदिरा’

अनुसन्धानकर्ताहरूले इजरेलको हाइफास्थित एउटा प्रागैतिहासिक गुफामा मदिरा बनाउने सबैभन्दा पुरानो भट्टी फेला पारेका छन्।

त्यहाँ १३ हजार वर्षअघि अन्न कुहाएर बनाइएको मदिराको अंश पनि भेटिएको छ।

अर्धफिरन्ते सिकारीहरूको चिहानको अध्ययन गर्ने क्रममा त्यहाँ प्राचीन भट्टी भेटिएको हो।

यसअघि पाँच हजार वर्षदेखि मात्र अन्न कुहाएर मदिरा बनाउन थालिएको भन्ने मान्यता थियो। तर यो नयाँ प्रमाणले मदिराको इतिहासमा परिवर्तन हुने देखिन्छ।

रोटी बनाउँदा मात्रै मदिराको उत्पादन हुन्थ्यो भन्ने पुरानो मान्यतालाई पनि यसले फेरिदिनेछ।

तर अनुसन्धानकर्ताहरूका अनुसार रोटी पहिला कि मदिरा पहिला बनाउन थालिएको हो त्यो भन्न चाहिँ गाह्रो छ।

‘जर्नल अफ आर्किअलजिकल साइन्स: रिपोर्ट्स’ को अक्टोबर अङ्कमा प्रकाशित लेखमा मदिरा मृतकको सम्मानमा आयोजना हुने भोजका लागि बनाइने गरेको तर्क गरिएको छ।

“यो मानवनिर्मित सबैभन्दा पुरानो मदिरा भएको प्रमाण हो,” अनुसन्धानको नेतृत्व गरेकी स्यान्फर्ड विश्वविद्यालयकी प्राध्यापक ली लिउले स्यान्फर्ड न्यूजलाई बताइन्।

लिउका अनुसार अनुसन्धानकर्ताहरूले अहिले ती नटुफियन मानिसहरूले कस्ता वनस्पति खान्थे भनेर खोजी गर्दैछन्।

नटुफियनहरू पुरापाषाणयुगदेखि नवपाषाणयुगसम्म अस्तित्वमा थिए।

इजरेल गुफातस्वीर कपीराइटDANI NADEL/AFP

अनुसन्धानकर्ताहरूले गहुँ र जौबाट बनेको मदिराका अंश गुफाभित्र ढुङ्गाको सतहमा बनाइएका खोबिल्टामा भेटेका थिए। त्यही अंशको वैज्ञानिक विश्लेषण गरिएको थियो।

साठी सेन्टिमिटरसम्म गहिरा ती खोबिल्टाहरू ओखलका रूपमा, अन्नपात भण्डार गर्न, ओट, दाल एवम् बोटबिरुवाबाट सङ्कलित रेसा जस्ता सामग्री पिस्न र पकाउन प्रयोग गरिन्थ्यो।

प्राचीन मदिरा लेदो हुन्थ्यो। हिजोआज उत्पादन गरिने बियरभन्दा यो धेरै भिन्न देखिन्थ्यो भन्ने आकलन गरिएको छ।

अनुसन्धानटोलीले प्राचीन मदिराजस्तै पदार्थ बनाएर गुफामा भेटिएको अवशेषसँग तुलना गरेको छ।

त्यसका लागि अन्नलाई उमारेर त्यसबाट माड बनाइयो र पिसिएको लेदोलाई तताइयो। त्यसमा यिस्टयुक्त मर्चा हालेर फर्मेन्टेशन गराइयो।

त्यो प्राचीन मदिरा भने आधुनिक बियरभन्दा सम्भवत: दुर्बल थियो।

बीबीसी नेपालीबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung