१२ कार्तिक २०८३, बुधबार

 

उखुको खोस्टाबाट विजुलीः पीपीएका लागि चिनी उद्योगलाई पत्राचार

उखुको बगास (खोस्टा)बाट उत्पादन हुने विद्युत्का लागि विद्युत् खरिद सम्झौता (पीपीए) का लागि दुई ओटा प्रवद्र्धक चिनी उद्योगलाई पत्राचार गरिएको छ । नेपाल विद्युत् प्राधिकरणले एभरेस्ट सुगर मिल र इन्दुशङ्कर चिनी उद्योगलाई प्रतिकिलोवाट ६ सय रुपैयाँका दरले बैङ्क ग्यारेन्टीसहित पीपीएको अन्तिम स्वीकृतका लागि आउन पत्राचार गरेको प्राधिकरणका प्रवक्ता तथा विद्युत् विकास विभागका प्रमुख प्रबल अधिकारीले जानकारी दिए ।

यस वर्षको हिउँदसम्ममा पीपीएको अन्तिम स्वीकृति, वित्तीय व्यवस्थापनलगायत अन्य सम्झौता फाइनल गरी उत्पादन थाल्न आग्रह गरिएको उनले बताए । आगामी हिउँदसम्ममा ती दुवै चिनी उद्योगबाट ६ मेगावाट विद्युत् गर्ने गरी पीपीए गरिने उनले जानकारी दिए ।

त्यस्तै अर्को १५ मेगावाटको रिलायन्स सुगर मिलको पीपीए ड्राफ्टसम्बन्धी प्रवद्र्धकलाई उपलब्ध गराइसकिएको छ । प्रवद्र्धकले प्रारम्भिक हस्ताक्षर गरी विद्युत् विकास विभागमा पेस गरेपछि पीपीएको स्वीकृति प्रक्रिया अघि बढ्ने उनले बताए । पीपीए ड्राफ्ट एन्ड नेगोसिएसनको बैठकले पीपीएका लागि बैङ्क ग्यारेन्टीसहित पत्राचार गर्नेछ ।

रिलायन्स सुगर मिलले मौखिक रुपले पीपीएको स्वीकृतिका लागि आउने बताए पनि ढिलाइ गरिरहेको उनको भनाइ छ । यसरी नै रिलायन्सले ढिला गर्दै गएको खण्डमा प्राधिकरणले पर्खन नसक्ने अधिकारीको तर्क छ । ‘रिलायन्स पीपीए स्वीकृतिमा जति ढिला ग¥यो । त्यति नै सबस्टेसनसम्बन्धी प्रसारण लाइन बनाउन ढिला हुन्छ,’ उनले भने, ‘त्यसका लागि प्राधिकरणले ताकेता गरिरहेको छ ।’

दुई चिनी उद्योगले बर्खायाममा प्रतियुनिट ४ रुपैयाँ ८० र हिउँदमा ८ रुपैयाँ ४० पैसाका दरले पीपीए भएको अधिकारीले बताए । उखुको खोस्टाबाट उत्पादन हुने विद्युत्का मौसम हिउँद नै भएकाले यसले हिउँदमा हुने विद्युत् लोड धान्ने र विद्युत् माग सन्तुलन कायम गर्नेछ । दूरीका आधारमा विद्युत् भोल्टेज घटबढ हुने समस्या समाधान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung