२६ भाद्र २०८३, शुक्रबार

 

पर्वतीय पर्यटन विकासका लागि नगरपालिकाबीच सहकार्य

गण्डकी प्रदेशका नगरप्रमुखहरु प्रदेशको पर्यटन प्रवद्र्धनका लागि एकीकृत पर्वतीय विकास परियोजना सञ्चालन गर्न सहमत भएका छन् । बागलुङ नगरपालिकाको आव्हानमा बागलुङ बसेको नेपाल नगरपालिका संघ गण्डकी प्रदेश समितिको बैठकले गण्डकी प्रदेश पर्वतीय पर्यटन विकासको सभ्भाव्य ठाउँ भएकाले सोही अनुसार अगाडि बढ्न सहमत भएका हुन् ।

बैठकले गण्डकी प्रदेशलाई पर्यटन हवको रुपमा विकास गर्नका लागि नगरपालिकाहरुबीच सहकार्य गरेर अगाडि बढ्ने निर्णय भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिए । बैठकले प्रदेशको पर्यटन विकाससँगै जलवायु परिवर्तनको असर न्यूनिकरण, फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाबीच सहकार्य गरेर अगाडि बढाउँने निर्णयसँगै नगरपालिका संघ गण्डकी प्रदेशले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई प्राप्त अधिकार तथा कार्य जिम्मेवारी अनुसारका योजना तर्जुमा र कार्यान्वयनमा समन्वय र सहकार्य गरी एकीकृत कार्य प्रणाली अपनाउनका लागि प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने निर्णय भएको नगरप्रमुख पौडेलले बताए ।


बैठकमा सहभागी नगरपालिकाका प्रमुख तथा उपप्रमुखलाई बागलुङका पर्यटकीय स्थल चित्रित मायाको चिनो प्रदान गर्दै नगरप्रमुख जनक पौडेलले पोखरा केन्द्र बनाएर आउने पर्यटकहरुलाई गण्डकी प्रदेशका ११ वटै जिल्लासम्म पुराउँनका लागि नगरपालिकाबीच सहकार्य आवश्यक रहेको बताए । बागलुङ पर्यटकीय दृष्टिकोणले अति महत्वपूर्ण क्षेत्र भएको भन्दै पौडेलले नेपालको एकमात्र शिकार आरक्ष भएको ढोरपाटन शिकार आरक्ष, प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिर, भैरव स्थान मन्दिर, पञ्चकोट, भकुण्डे, गाजाको दह लगायतका सयौं पर्यटकीय स्थलका बारेमा जानकारी गराएका थिए ।

गोरखाको पालुङ्टार नगरपालिकाका नगरप्रमुख दिपकबाबु कँडेलको अध्यक्षतामा सम्पन्न बैठकको स्वागत बागलुङ नगरपालिकाका उपप्रमुख सुरेन्द्र खड्का तथा सञ्चालन बागलुङ नगरपालिकाका अधिकृत युक्तप्रसाद सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung