डेरी पसल तथा उद्योगहरुले आफैले दूध तथा दुग्धपदार्थ उत्पादन गर्न अनिवार्य रुपमा अनुमति लिनुपर्ने भएको छ । दूध तथा दुग्धपदार्थको स्वच्छता एवम् गुणस्तरसम्बन्धी निर्देशिका—२०७५ ले यस्तो व्यवस्था गरेको हो । ‘डेरी पसलले आफैं उत्पादन गरी बिक्रीवितरण गर्न सक्नेछन् । त्यस्ता उत्पादनमा खाद्य ऐन २०२३ अनुरुपको चारित्रिक गुणस्तर कायम भएको हुनुपर्दछ,’ निर्देशिका भनिएको छ ।

दूध तथा दुग्धपदार्थको गुणस्तर सुनिश्चित गरेर मात्र बिक्रीवितरण गर्न पाइने विभागले जनाएको छ । खाद्य स्वच्छता र गुणस्तर कायम गर्ने गरी डेरी पसल आफैंले दुग्धपदार्थ बिक्रीवितरण गर्न पाउने र त्यसका लागि विभागको अनिवार्य स्वीकृति लिनुपर्ने खाद्य विभागका महानिर्देशक सञ्जीव कर्णले बताए ।

विभागबाट स्वीकृति पाएको डेरी पसल आफ्नो गुणस्तर र स्वच्छता कायम गर्नुपर्ने उनको भनाइ छ । ‘विभागले अनुमति लिएर डेरी उद्योग आफैंले दुग्धपदार्थ उत्पादन तथा बिक्रीवितरण गर्न पाउँछन् । निर्देशिकामा पनि राखेका छौं,’ उनले भने, ‘दूधको गुणस्तर सुनिश्चितता भने गर्नुपर्छ ।’

त्यसका लागि डेरी पसलले दूधको स्रोत, परिमाण, गुणस्तर, बिक्रीवितरणलगायतका अभिलेख राख्नुपर्ने, दूध प्राप्ति र बिक्री गर्दाको समय रेकर्ड गरिएको तापक्रम अभिलेख, डेटरजेन्ट÷साबुनलगायतका सरसफाइमा प्रयोग हुने रसायनको लगत राख्नुपर्नेलगायतका कुराहरु निर्देशिकामा तोकिएको छ । डेरी पसल सञ्चालकले गर्नुपर्ने कार्य सूचकहरु पूरा गर्नुपर्ने उल्लेख छ । दुग्धजन्य वस्तु उत्पादन गर्ने डेरी तथा उद्योगले अनिवार्य रुपमा अनुज्ञापत्र लिएको हुनुपर्ने विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।

खुला रुपमा प्याकेटमा दूध बिक्री गर्ने डेरी पसलले भने स्वीकृति लिनु नपर्ने उनको भनाइ छ । ‘सम्बन्धित डेरी उद्योगले अनिवार्य रुपमा अनुज्ञापत्र र स्वीकृति लिनुपर्छ,’ उनले भने, ‘तर, खुला रुपमा प्याकेटमा दूध बेच्ने पसलका हकमा भने स्वीकृति लिनुपर्दैन ।’

गुणस्तर छुट्याउने किसानदेखि उपभोक्तासम्म मापदण्ड

निर्देशिकाले दूध तथा दुग्धपदार्थको स्वच्छता र गुणस्तर कायम गर्न दुधको उत्पादन, सङ्कलन, चिस्यान सञ्चालन, प्रशोधन, भण्डारण, ढुवानी तथा बिक्रीवितरण गर्ने तहसम्म निश्चित मापदण्डका आधारमा कार्य तोकेको छ ।

दूध उत्पादन गर्ने किसानले पनि दूध दुहुनुअघि र पछि साबुनपानीले हात धुनुपर्ने, चोटपटक र घाउखटिरा हुन नहुने, गोठ सफा राख्नुपर्ने, मलमूत्रका लागि छुट्टै स्थान व्यवस्थापन गर्नुपर्ने, दूध सङ्कलन केन्द्र÷चिस्यान केन्द्र वा प्रशोधन कारखानासम्म बढीमा दुई घण्टाभित्र पु¥याउनुपर्छ । त्यस्तै दूध सङ्कलन केन्द्रमा दूध ढुवानीका लागि पायक पर्ने, सफा र विद्युत्, पानीको सुविधा भएको स्थान हुनुपर्ने उल्लेख छ । त्यस्तै चिस्यान केन्द्रमा सफा गर्न सकिने स्टिल वा आल्मुनियम भाँडो वा क्यानमा सङ्कलन गरी ल्याएको दूध चिस्यान केन्द्रले लिनुपर्नेछ ।

अन्य भाँडामा ल्याएको दूध चिस्यान केन्द्र लिनुहुँदैन । पानीलगायत अन्य वस्तु मिसावट भएको दूध खरिदबिक्री गर्नुहुदैन । चिस्यान केन्द्रले कम्तीमा ४ डिग्री तापक्रममा दूध चिस्याएर सकभर छिटो साधनद्वारा ढुवानी गरी प्रशोधन केन्द्रसम्म पु¥याउनुपर्छ । १० डिग्रीभन्दा बढी तापक्रम भएको दूध उद्योगमा पु¥याउनुहुँदैन । त्यस्तै डेरी पसलले अनिवार्य गुणस्तर परिधिनुरुपको कार्य गर्नुपर्छ ।

चरा, मुसा नहुने स्थानमा उद्योग

दुग्धपदार्थ उत्पादन तथा बिक्रीवितरण गर्ने डेरी पसल तथा उद्योगहरु वातावरणीय प्रदूषण नहुने गन्ध, धूलो, धूवाँ, रसायन तथा जैविक साथ कीरा, चरा मुसा आदिको प्रकोप नहुने स्थानमा हुनुपर्छ । निर्देशिकामा उल्लेख भएअनुसार उद्योग परिसर सुरक्षित गर्न पर्खाल र कम्पाउन्ड वाल लगाएको हुनुपर्छ ।

निर्देशिका स्वीकृत भएको ६ महिनाभित्र तोकिएबमोजिमका कार्य गर्नुपर्ने विभागले जनाएको छ । तर निर्देशिका लागू हुनुपूर्व स्थापना भएका डेरी उद्योगको हकमा १ वर्षभित्र सुधार गर्नुपर्ने र दुई वर्षभित्र स्थानान्तरण गर्न सकिने निर्देशिकामा उल्लेख गरिएको छ ।