पर्यटकीय जिल्ला म्याग्दी र मुस्ताङ घुम्न गएका पर्यटकहरुले होटल खोज्दै बागलुङ आउन थालेका छन् ।दशै तथा तिहारको समयमा म्याग्दी र मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन ह्वातै बढेपछि होटल नपाउने समस्या बढेका कारण पर्यटकहरु होटल खोज्दै बागलुङ आउन थालेका छन् । म्याग्दी र मुस्ताङ्ग आएका पर्यटकहरुले त्यहा सबै होटल भरिएपछि पर्यटकहरु होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत आउन थालेका हुन ।
‘मुस्ताङ र म्याग्दीमा यो सिजनमा धेरै पर्यटक जान्छन’ बागलुङका होटल व्यवसायी निलेश राजभण्डारीले बताए । ‘त्यहा ठूलो क्षमताका होटल छैनन् त्यसैले होटल खोज्दै बागलुङ आउछन् ।’ दशै तिहारको वीचमा मुस्ताङ्ग घुम्न आएका काठमाडौंका केशव लामिछाने म्याग्दी बास बसेर मुस्ताङ्ग जाने योजनामा थिए । उनले त्यहा होटल नपाउदा बागलुङ्ग फर्केर बास बस्नु परेको बताए । यतिबेला बागलुङ जिल्लाका ठूला होटल मुस्ताङ्ग र म्याग्दी घुम्न जाने पर्यटकहरुले भरिएको होटल व्यवसायी संघ बागलुङले जनाएको छ ।
‘दशैको भोलिपल्ट देखि म्याग्दी र मुस्ताङ्गका सबैजसो होटलहरु पर्यटकका लागि बुक भइरहेका छन्’होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष तारा प्रसाद आचार्यले भन्नुभयो । ‘मुस्ताङ जानका लागि म्याग्दी आउने पर्यटकहरुलाई छिमेकी जिल्ला पर्वत तथा बागलुङका होटलहरुमा पठाउने गरिएको छ ।’बागलुङमा ठूला क्षमताका होटल भएपनि मुस्ताङ र म्याग्दीमा ठूला क्षमताका होटल खासै छैनन् । मुस्ताङ जान आउने पर्यटकहरु सिधै मुस्ताङ नगईकन म्याग्दीमा बास बस्नुले होटलको माग बढेको म्याग्दीका होटल व्यवसायीहरु बताउछन् ।
मुस्ताङवाट र्फकदा म्याग्दीको भुरुङ तातोपानी बस्ने योजना बनाएका फ्रान्सेली नागरीक डेविट होटल नपाउदा बागलुङ बजारको पिस प्यालेसमा बास बस्न आएको बताउनुहुन्छ । दशै तिहारको समयमा म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटकहरु विगतका वर्षमा भन्दा यो वर्ष अत्याधिक भएको पर्यटन व्यवसायीहरु वताउछन् ।
यस सिजनमा घुम्नका लागि पर्यटकहरु कम आएपनि गुणस्तरीय होटलको खोजीमा बागलुङ आउने पर्यटकको संख्यामा वृद्धि भएको छ । प्रायजसो प्राइभेट गाडि तथा मोटरसाईकलमा आउने पर्यटकहरु बागलुङ, म्याग्दी घुम्दै मुस्ताङ्ग जाने गर्दछन् भने एजेन्सी मार्फत आएका पर्यटकहरु सिधै मुस्ताङ्ग जाने गरेका छन् ।
















































































































































































