सतासी वर्षअघि किरात समुदायका अगुवाहररूलाई भेला गराएर जन्म, विवाह र मृत्यु संस्कारमा मासु र मदिरा चलाउन नहुने सहमतिपत्रमा सहीछाप गराउनु पक्कै पनि सामान्य थिएन।
सामाजिक कुरीति र विकृति हटाउन किराती वेद मुन्धुमका व्याख्याता एवं समाज सुधारक फाल्गुनन्द लिङ्देनको नेतृत्वमा विसंं १९८८ वैशाख २५ गते पाँचथरको लेबे्रकुटीमा मांसाहार र मदिरा सेवन निषेध गर्ने सहमति सम्भव भएको थियो। यो घटनालाई इतिहासमा ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’का रूपमा चिनिन्छ।
किरात धर्मको समाज सुधारकका रूपमा परिचित उनै महागुरु फाल्गुनन्द लिङ्देनको १३४औं जन्मजयन्ती आइतबार किरात धर्मावलम्बीहरूले धुमधामका साथ मनाउँदैछन्।
नेपाल सरकारबाट २०६६ मंसिर १६ गते राष्ट्रिय विभूति घोषित महागुरु फाल्गुनन्दको जन्म विसं १९४२ कात्तिक २५ गते आइतबार हालको प्रदेश नम्बर १ को माङ्सेबुङ गाउँपालिका वडा नं २ इभाङस्थित चुम्चिनाम्बामा भएको थियो।
किरात धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किरात समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनुपर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रीतका नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गरिनुपर्ने, सिरिजंगा लिपि प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधार अभियान चलाएका थिए।
विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा निधन भएका उनलाई किरात धर्मावलम्बीहरूले देवदूतका रूपमा उच्च सम्मान गर्दैआएको किरात धर्म तथा साहित्य उत्थान संघका अध्यक्ष डकेन्द्रसिंह थेगिम बताउँछन्।
अध्यक्ष थेगिमका अनुसार किरातीहरूलाई अहिंसा र विश्वबान्धुत्वको महान् ज्ञान प्रदान गर्ने महागुरू फाल्गुनन्दले विसं १९८८ साल वैशाख २५ गते दश लिम्बु र १७ थुमका वरिष्ठ व्यक्तिहरूई पाँचथरको लेबे्रकुटी भन्ने स्थानमा भेला गराएर १० बुँदे ‘सत्य हाङ्मा मुचुल्का’मा सहीछाप गर्न लगाएका थिए।
त्यही ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’लाई फाल्गुनन्दको मुख्य सन्देशका रूपमा लिइने गरिएको छ। नौ हात लामो काँचो कागजमा लेखिएको मुचुल्काको एउटा प्रतिलिपि आफूसँग सुरक्षित भएको अध्यक्ष थेगिमले जानकारी दिए।
सोही धर्म मुचुल्कामा मदिरा, बली प्रथालगायतलाई निषेध गर्ने र किरातीहरुलाई अति तडकभडकयुक्त बिहे संस्कारबाट जोगाउने लगायतका सामाजिक सुधारका नयाँ नीतिहरू समावेश छन्।
महिलालाई पनि पुरुष समान अधिकार र सम्मान दिनुपर्ने सन्देशको प्रचार गरेर फाल्गुनन्दले लैंगिक समानताको वकालत गरेका थिए।
समाज सुधारक र मुन्धुमका संरक्षणकर्ता फाल्गुनन्दको जन्म अति गरिब परिवारमा आमा हंसमति र बुवा जगनबाज लिम्बुको साहिला सन्तानका रूपमा जन्म भएको थियो। उनी ८ वर्षकै उमेरमा ज्ञानी र ध्यानी भएका थिए।
न्वारानको नाम नरध्वज लिङ्देन भए पनि उनी बेलायती फौजमा फाल्गुनन्द नामबाट भर्ती भएका थिए।
बेलायती सेनामा केही वर्ष काम गरेका फाल्गुनन्दले मारकाट र लडाइँ-झगडा नराम्रा कुरा हुन् भन्ने सोचेर जागिरबाट राजीनामा दिई धार्मिक सुधार अभियानमा लागेका थिए। यस क्रममा उनी भारत र भुटानसम्म पुगेको बताइन्छ।
नेपाल सरकारले विसं २०५० मा महागुरु फाल्गुनन्दका नाममा सम्मान स्वरूप १५ रुपैयाँको हुलाक टिकट प्रकाशन गरेको थियो। प्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक सरकारको नेतृत्वमा पुगेका बेला विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीका अवसरमा किरात धर्मावलम्बीहररूका लागि सरकारी सार्वजनिक विदा दिने निर्णय भएको थियो।
पूर्वका विभिन्न जिल्लामा सार्वजनिक विदा
झापाका दमक र अर्जुनधारा नगरपालिका, इलामका माङ्सेबुङ, चुलाचुली, पाँचथरको फिदिम, ताप्लेजुङका फक्ताङलुङ लगायतका पालिकाहररूले आज कात्तिक २५ गते फाल्गुनन्द जयन्तीका अवसरमा सार्वजनिक विदा दिएका छन्।
विश्वबान्धुत्व र अहिंसाका महान् तपस्वी किरात धर्मगुरु फाल्गुनन्दको पवित्र सन्देशलाई विश्वभर फैलाउन नातिसमेत रहेका किरात धर्मगुरु आत्मानन्द लिङ्देनले अगुवाइ गरिरहेका छन्।
इलामको माङ्सेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गरेको माङ्हिम अहिले किरात धार्मिक स्थलका रूपमा प्रसिद्ध छ भने पाँचथरको लेबे्रकुटी, सिलौटी लगायतका स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढेको छ।
पाँचथरमा फाल्गुनन्दको विशाल शालिक अनावरण गरिँदै
धर्मगुरु फाल्गुनन्दको १३४औं जन्मजयन्तीको उपलक्ष्यमा आइतबार पाँचथर सदरमुकाम फिदिममा फाल्गुनन्दको विशाल शालिकको अनावरण गरिँदैछ। उक्त कार्यक्रममा भाग लिन काठमाडौंबाट उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल फिदिम पुग्ने कार्यक्रम छ।
अनावरण कार्यक्रममा इलामको लारुम्बास्थित माङ्हिमबाट धर्मगुरु आत्मानन्द लिङ्देन र गुरुआमा पवित्राहाङ साँवा लिङ्देन सहभागी हुने उनीहरूका निकटस्थ खगेन्द्र लिङ्देनले जानकारी दिए।
किरात समुदायमा धर्म र संस्कृतिको ज्ञान दिने महागुरु फाल्गुनन्दको योगदानलाई संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारहरूले उचित महत्व प्रदान गर्नुपर्ने आदिवासी जनजाति पत्रकार महासंघ १ नं प्रदेशका संयोजक दिपीन राई बताउँछन्।













































































































































































































