२९ बैशाख २०८२, सोमबार

 

फासिस्ट शक्तिमाथि विजयको ८०औँ वार्षिकोत्सव र विश्वप्रभाव

बागलुङ । सन् २०२५ मा विश्वले एउटा महत्त्वपूर्ण ऐतिहासिक उत्सव मनाउँदैछ– दोस्रो विश्वयुद्धमा फासिस्ट शक्तिमाथि विजयको ८०औं वार्षिकोत्सव।

यसले संसारलाई त्यतिबेलाको बेलायत, सोभियत संघ र अमेरिकाको नाजीविरोधी गठबन्धन र महान् देशभक्तिपूर्ण युद्धमा सोभियतहरूको त्यो पुस्ताले प्रदर्शन गरेको वीरता, साहस र अदम्य शक्तिको सम्मान र सम्झना गराउनेछ र जुनै प्रकारको फासिज्मविरुद्धको संघर्षका लागि प्रेरित गर्छ।

संसारमा सबै शान्ति चाहन्छन्। सबै स्वतन्त्रताको चाहना राख्छन् तैपनि युद्ध किन जारी छ, द्वन्द्व किन भइरहन्छरु ज्ञान र विज्ञानमा शताब्दीयौंको प्रगतिले हामीलाई अन्तरिक्ष अन्वेषण गर्न डोर्‍याएको आधा शताब्दी बितिसक्दा पनि डर र आतंकले अझै मानिसहरूलाई शान्तिपूर्वक सुत्नबाट किन रोक्छरु प्रथम विश्वुद्ध, द्वितीय विश्वयुद्ध, शीतयुद्ध, भियतनाम र कोरिया युद्ध, इरान र इराक, अफगानिस्तान, इजरायल, प्यालेस्टाइन, युक्रेन आदि सधैंका यी त्राही त्राहीहरू।

पृष्ठभूमि

१९३९ सेप्टेम्बर १ मा जर्मनीले पोल्यान्डमा आक्रमण गरेपछि युरोपमा दोस्रो विश्वयुद्ध सुरु भयो। दोस्रो विश्वयुद्ध साँच्चिकै एउटा विश्वव्यापी युद्ध थियो। यस द्वन्द्वमा लगभग ७० राष्ट्रले भाग लिएका थिए र लडाइँ अफ्रिका, एसिया र युरोप महादेशका साथै समुद्री तटहरूसम्म फैलिएको थियो।

युद्धको विश्वव्यापी रूप, यसमा भाग लिने सैन्य–गैरसैन्यको संख्या र हताहतको रेकर्ड आदिलाई दृष्टिगत गर्दा दोस्रो विश्वयुद्धलाई मानव इतिहासको सबैभन्दा ठुलो युद्ध मानिन्छ। यस युद्धमा व्यापक विनाश र राजनीतिक तथा सामाजिक परिवर्तनका उतारचढावहरूसँगै करोडौं मानिसको मृत्यु भयो।

यो महायुद्धमा एकातिर जर्मनी, इटाली र जापान शक्तिहरू थिए भने अर्कातर्फ फ्रान्स, ग्रेट ब्रिटेन, संयुक्त राज्य अमेरिका, सोभियत संघ थिए। दोस्रो विश्वयुद्धमा जर्मन अत्यन्त शक्तिशाली युद्ध प्रविधि र संयन्त्रद्वारा सुसज्जित थियो।

नाजी गठबन्धनले ६ घण्टामा डेनमार्क, एक दिनमा लक्जेमबर्ग, पाँच दिनमा हल्यान्ड, ११ दिनमा युगोस्लाभिया, १८ दिनमा बेल्जियम, २४ दिनमा ग्रिस, २७ दिनमा पोल्यान्ड, शक्तिशाली फ्रान्स जस्तो ठुलो देश ४२ दिनमा, नर्वे ६१ दिनमा सहजै कब्जा गर्‍यो।

पूरा युरोप दिग्विजय गर्दै अघि बढिरहेको नाजी गठबन्धनले जुन २२, १९४१ मा बिहान ४ बजे, बिहान घाम झुल्किन नपाउँदै अनाक्रमण सम्झौताको उल्लंघन गर्दै, अचानक, बिनासूचना सोभियत भूमिमा आक्रमण गर्‍यो।

सोभियत भूमि अहिलेसम्मकै सबैभन्दा ठुलो र शक्तिशाली सैन्य मेसिनरीहरूको पूर्वनियोजित प्रहारको निसाना बन्यो। फासिस्टहरूले सबैभन्दा बर्बर, अमानवीय र विनाशकारी युद्धतरिकाहरू अपनाए।

लाखौं घर, करोडौं नागरिक, सयौं सहर, हजारौं कारखाना र सङ्ग्राहलयहरू खरानी भए।

युगौंदेखि कैयन् युद्ध र झैझगडा झेल्दै बल्लतल्ल शान्तिपूर्ण संसारको निर्माणमा जुटेका सोभियतहरूको सपनालाई दुःस्वप्नमा परिणत गर्दै नाजीहरू राजधानी मस्कोनजिक पुगे र नजिकिँदै गरेको अक्टोबर क्रान्तिको दिन १९४१ नोभेम्बर ७ मा रेड स्क्वायरमा परेड खेल्ने ऐलानसमेत गरे।

यो आक्रमणसँगै सोभियत भूमिमाथि अनिश्चयको भुमरी ओइरियो। चारैतिर विनाश, पराजय र निराशाको कालो बादल मडारिएको त्यो बेला सोभियत सरकारले यो युद्ध ‘सोभियत राष्ट्रको जीवन र मृत्युको प्रश्न, सोभियत संघका जनता स्वतन्त्र हुने वा दासत्वमा पर्ने’ भन्ने धर्मसंकटको घडीमा पुगेको व्याख्या गर्‍यो।

राष्ट्रको जीवनमा आइपरेको यो संगीन घडीमा सोभियत सर्वोच्च सुरक्षा कमान्डले सबै देशवासीलाई आह्वान गर्‍योस् ‘सम्पूर्ण देश रणमैदानका लागि, सबै विजयका लागि।’

यही नारा १९४१ जुलाई १ मा राष्ट्रिय प्राब्दा दैनिकको पहिलो पृष्ठको शीर्षक बनेर बाहिर आयो। राज्यको यो नारालाई सम्पूर्ण सोभियत जनता, सबै वर्ग, तप्का र विचारधाराले समर्थन गरे।

उनीहरूले आह्वानको प्रत्युत्तरमा ‘सबै मातृभूमिको रक्षाका लागि डट्ने’ भन्दै प्रतिबद्धताको शंखघोष गरे। योसँगै विभिन्न नारा, गीत सिर्जना भए। तीमध्ये एक थियोस् ‘मातृभूमि आमा बोलाउँदै छिन् युवाहरू अघि बढ।’

‘मातृभूमि आमा’को यस आह्वानको शिरोधार गर्दै फरक विचार र संस्कृति भएका समुदाय, सामान्य नागरिक, महिला, युवा र किशोरहरू एउटै मोर्चामा गोलबद्ध भए र देशभक्ति युद्धको महासंग्राममा होमिए।

सोभियत संघमाथि नाजी जर्मनीको आक्रमणले विनाश, निराशा, दुःख, बिछोड र पीडा मात्र निम्त्याएन, बरु जनसमुदायमा सोभियत देशभक्तिको उत्कट भावना, सम्पूर्ण शक्तिका साथ मातृभूमिको स्वतन्त्रता र स्वाधीनताको रक्षा गर्ने संकल्प पनि जगायो।

बहुराष्ट्रिय सोभियत राज्यका सबै जनता समाजवादी पितृभूमिको रक्षा गर्न उठे। विगतका कुनै पनि युद्धमा सोभियत रुसी जनताले यस युद्धमा जति आफ्ना राष्ट्रिय उपलब्धि र सार्वभौमिकताको रक्षा गरेका थिएनन्, जुन तत्परताका साथ यो लडाइँमा उत्रिए।

तिनले विगत चौबिस वर्षको इतिहासमा विकास गरेका सोभियत आदर्श र विचारधारात्मक पथको रक्षार्थ प्रदर्शन गरेको एकता र फाँसीवादविरुद्धको संघर्षको अभूतपूर्व स्तरले महान् देशभक्तिपूर्ण युद्धलाई अन्तर्राष्ट्रियकरण गर्‍यो।

फलतः सोभियत जनता र लालसेनाको वीरतापूर्ण संघर्षलाई विश्वका सबै प्रगतिशील शक्तिबाट नैतिक समर्थन सुनिश्चित ग¥‍यो र सोभियत संघलाई आगामी विश्व महाशक्तिको स्तरमा स्थापित गर्न आधार तय ग¥यो।

सृष्टिकै भयङ्कर लडाइँ

‘मस्कोको लडाइँ’, ‘स्टालिनग्रादको लडाइँ’, ‘कुस्र्कको युद्ध’, ‘रझेभको संग्राम’ आदि मानव जातिको इतिहासमा भएका ठुला युद्धमा पर्छन्। राजधानी नै धावा बोल्न आइपुगेका नाजीविरुद्धको ‘मस्कोको लडाइँ’ दोस्रो विश्वयुद्धको सबैभन्दा ठुलो प्रतिरोध युद्ध थियो, जसमा सत्तरी लाखभन्दा बढी मानिसले भाग लिएका थिए। सात महिना लामो यो युद्धमा दश लाख सोभियतले बलिदान गरे।

मस्को युद्धको ठुलो रणनीतिक महत्त्व यसकारण थियो कि यसले पहिलोपटक जर्मन सेनाको अजेयताको मिथकलाई हटाइदियो। विश्वप्रसिद्ध अर्को महासंग्राम ‘स्टालिनग्रादको लडाइँ’ २०० दिन र २०० रात चल्यो।

यस महायुद्धमा कुलमा करिब पाँच लाख सोभियत वीरहरूले ज्यानको आहुति दिए भने जर्मनतर्फ तीन लाखभन्दा बढी क्षति भयो। सहरको एउटा पाभलोभ भवनको रक्षाका लागि मात्र ५८ दिनसम्म लडाइँ भयो।

नाजीहरू, जो कुनै बेला मस्को कब्जा गरेर रेड स्क्वायरमा जर्मनीको विजय मार्च गर्ने कुरामा ढुक्क थिए, स्टालिनग्रादको पराजयपछि तिनले जर्मनीमा तीन दिने शोक घोषणा गरे। त्यसैगरी सानो रझेभ सहरको मुक्तिका लागि सोभियत वीरहरूले पाँच सय २० दिन लडे।

युद्धअघि ५६ हजार मानिस बसोबास गर्ने रझेभ सहरमा मुक्तिपछि तीन सय ६० जना मात्र जीवित रहे। रझेभको संग्राममा सोभियत सेनाले दश लाखभन्दा बढी वीर गुमायो। रझेभको युद्धलाई त्यतिबेला लोकद्वारा ‘रझेभ मासु पिन्ने ग्राइन्डर’ नाम दिइएको थियो।

युद्धका सबैभन्दा त्रासदीपूर्ण दिनमा लेनिनग्रादलार्ई नाजीहरूले आठ सय ७२ दिन नाकाबन्दी गरेका थिए। जाडो, बमबारी र भोकले यहाँका लाखौं जनता मरे। प्रत्येक नागरिकले दिनको एक सय २५ ग्राम पाउरोटीले गुजारा गर्नुपर्ने दिनहरू आए।

तर पनि लेनिनग्रादका जनताले आत्मसमर्पण गरेनन्। त्यो त्रासदीपूर्ण समयमा पनि उनीहरूले आफ्नो ड्युटी चालु राखे र आफ्नो सहर रक्षा गरेर सारा विश्वलार्ई त्याग, बलिदान र उत्सर्गको अनुपम उदाहरण देखाए।

१९४४ जनवरी २७ को यस दिन सोभियत वीरहरूले लेनिनग्रादलाई पूर्ण रूपमा मुक्त गरेका थिए, त्यसका लागि दश लाख वीरहरूले सहादत प्राप्त गरे। दोस्रो विश्वयुद्धको अर्को भयंकर युद्ध कुस्र्कको लडाइँ हो, जसलाई इतिहासको सबैभन्दा ठुलो ट्यांक युद्ध पनि मानिन्छ। त्यसको विजयका लागि लाखौं सोभियतहरूले ज्यानको मूल्य चुकाए।

दोस्रो विश्वयुद्धका अन्य रणसंग्रामहरूको वर्णन यो सानो लेखमा सम्भव छैन। तथापि विभिन्न प्रकाशित तथ्यहरू हेर्दा महान् देशभक्तिपूर्ण युद्धको दौरान सोभियत संघ र युरोपका बाह्र्र सय वटा सहरहरू मुक्त गरिएको देखिन्छ।

विश्व इतिहासकै गौरवशाली दिन

इतिहासमा मे ९ तारिख द्वितीय विश्वयुद्धमा फासिस्टहरूमाथि विजय घोषित भएको दिन हो। लडाइँमा करिब सात आठ करोड मानिसले ज्यान गुमाए। चार वर्ष लामो र निर्णायक देशभक्तिपूर्ण युद्धपछि अविजित भनिएको जर्मन फासिस्ट शक्तिले हार्‍यो।

मे ९ को विजय दिवससँग सोभियत जनताको सबैभन्दा ठुलो भावनात्मक थियो र छ। मे ९ तिनीहरूको एउटा पुस्ताले प्राप्त गरेको सृष्टिकै ठुलो विजय थियो र इतिहासकै ठुलो बलिदान थियो। साथमा सृष्टिकै ठुलो वियोग, दुःख र विनाश पनि थियो।

सोभियत संघ टुक्रिए पनि रुस र सिआइएस राष्ट्रहरूमा अझै पनि यो दिवस गर्वसाथ मनाइन्छ।

मे ९ तारिख युद्धोन्माद नाजी जर्मनीलाई घुँडा टेकाएको दिन हो र अनगन्ती सोभियत वीरहरूको बलिदानबाट युरोपलाई ग्यास च्याम्बर र यातना शिविरबाट मुक्त गरेको मिति हो।

सन् १४१८ मा दिन र रात चलेको युद्धका दिनहरूले मानव समुदायलाई युद्धमा मारिएका, फासीवादी कैदमा यातना भोगेका, भोक र अभावबाट मरेका सबै कहालीलाग्दा क्षणहरूको दुःखद सम्झना गराउँछ।

यो महायुद्धमा दुई करोड ७० लाख भन्दा बढी सोभियत जनताले सहादत प्राप्त गरेका थिए। युद्धमा भाग नलिने त्यहाँ घरै छैन। ज्यान नगुमाएका वा घाइते नभएका परिवारै भेटिन्न।

हरेक घरले युद्धका पीडा भोगेका छन्, बिछोडका साक्षी बनेका छन्, संघर्षका गाथा बोकेका छन् र प्रत्येकले एउटा एउटा वीरताका कथा रचेका छन्।

ती सबै कथा उन्ने हो भने हजार महाभारत बन्नेछन्। त्रासदी, लडाइँ, विनाश र विजयको ग्रन्थ। साहस, बलिदान र त्यागको ग्रन्थ। ‘सबै युद्धका लागि सबै विजयका लागि’ भन्ने मन्त्रसाथ मातृभूमिको रक्षार्थ पूरा देश होमिएको ग्रन्थ।

उक्त युद्धमा जो लडेका थिए, तीमध्ये अद्यापि केही जीवित पनि छन् र तिनीहरू सय वर्ष उमेरको आसपासमा छन्।

बाँचुन्जेल तिनीहरू मे ९ तारिखको दिन आफूले पाएका तक्मा र सैनिक पोसाकमा सजिएर हरेक सहरको केन्द्रमा भेला हुन्थे र नयाँ पुस्ताका लागि देशभक्ति, त्याग र बलिदानको उदाहरण बन्थे।

त्यहाँ दोस्रो विश्वयुद्धका भेटरानहरूलाई सरकारले ठुलो सम्मान र सुविधा दिएको थियो। इतिहासका ती प्रत्यक्ष द्रष्टा र स्रष्टाहरू अब क्रमशः बिलाउँदैछन्।

युरोपको उन्मुक्ति

सोभियतहरूले आफ्नो बलिदानीपूर्ण संघर्षबाट केवल आफ्नो देश मात्र स्वतन्त्र गरेनन्, बल्कि वर्षौंदेखि फासिस्टहरूको जुवामुनि निसासिएका र यातना शिविरहरूमा कैद युरोपका उत्पीडितहरूलाई पनि मुक्त गरे।

करिब ७० लाख सोभियत सेनाले ११ युरोपेली देशको मुक्तिका लागि लडे।

इतिहासले यी उत्सर्गहरू सधैं सम्झिरहनेछ। युरोपको स्वतन्त्रताको लडाइँमा मात्रै बाह्र लाख सोभियत वीरहरूले ज्यान समर्पण गरे।

यीमध्ये पोल्यान्डको मुक्तिका लागि ६ लाख दुई सय १२, चेकोस्लोभाकियाका लागि एक लाख ३९ हजार नौ सय १८, हंगेरीका लागि एक लाख ४० हजार चार, जर्मनीका लागि एक लाख एक हजार नौ सय ६१, रोमानियाका लागि ६८ हजार नौ सय ९९, अस्ट्रियाका लागि २६ हजार ६, युगोस्लाभियाका लागि सात हजार नौ सय ९५, नर्वेका लागि तीन हजार चार सय ३६ र बुल्गेरियाका लागि नौ सय ७७ जनाले ज्यान गुमाए।

अंगभंग, गम्भीर घाइते र अपांग हुनेहरूको संख्या मात्र सत्ताइस लाख पुग्यो।

विश्वयुद्धका कहाली लाग्दा घटनाहरूमध्ये नाजीहरूले युरोपभर चालीस हजार यातना शिविर खोलेका थिए। ती सामूहिक हिरासत, श्रम शिविर, मृत्यु शिविर र ग्यास च्याम्बरमा पच्चीस लाख मानिस थुनिएका र तीमध्ये दश लाखले ज्यान गुमाएको अनुमान गरिन्छ।

सन् १९४५ जनवरी २७ मा सोभियत सेनाले मार्सल कोन्योभको नेतृत्वमा पोल्यान्डमा अवस्थित मृत्यु शिविर अस्विट्जका कैदीहरूलाई मुक्त गरेको थियो, जहाँ दश लाखभन्दा बढी मानिस योजनाबद्ध सफायाका क्रममा मारिएका थिए।

दोस्रो विश्वयुद्धभर युरोपका एघार र एसियाका दुई देश गरी सोभियत सेनाले जम्मा चार सय ८५ सहरहरू स्वतन्त्र गरेका थिए।

विजय महिमा

देशभक्तिपूर्ण युद्धमा सोभियतहरूको सौर्य, बलिदान, त्याग, बहादुरी र वीरताको गाथा लेख्ने हो भने यो लोककै लामो महाकाव्य बन्नेछ। युद्धमा सिपाही भूमिकामा भन्दा देशभक्तिको आदर्शले भाग लिनेहरूको बहुमत थियो।

पूरा देश नै होमिएको थियो। त्यसको छापामार युद्ध, गुरिल्ला कौशल प्रदर्शन गर्नेहरूको कहानी छुट्टै छ। युवतीहरूले प्रदर्शन अदम्य साहसका किंवदन्तीहरू विशेष छन्।

शत्रुको सातो काढ्ने ‘रात्रि बोक्सीहरू’, ‘विमान भेदक बन्दुकधारिनीहरू’ आदि तिनका उपनाम थिए। सोभियत आकाशको रक्षा गर्ने वायुसेनामा २५ प्रतिशत महिला थिए, साथमा तिनीहरू ट्यांकर, तोपखाना, डोन नदीदेखि अंग्रेजी च्यानलसम्मका गुरिल्लादस्ताको अग्रपंक्तिमा थिए।

त्यतिखेरका खुफिया कुटनीतिका कथाहरू सनसनीपूर्ण रोमाञ्चक छन्। बालबालिका र बुढाबुढीले उद्योगधन्दा चलाएर अर्थतन्त्र धानिदिनुपर्ने विचित्र व्यथा छ।

समग्रमा सारा देशवासी होमिएकाले यो युद्ध महान् देशभक्तिपूर्ण युद्धमा परिणत भयो। यसको साहस र समर्पणको गाथा मानव सभ्यताको इतिहासमा उच्च छ।

आखिर त्यो कुन रहस्य हो, जसले पूरा युरोप खर्लप्प निलेर विश्वविजयको यात्रामा बढेको जर्मनलाई हराइदियो रु जबकि हातहतियार र प्रविधिको शक्तिमा जर्मनहरू निकै शक्तिशाली थिए। हो, सोभियतहरूको अनुपम मातृभूमिप्रतिको प्रेम, अटल विश्वास र बहुराष्ट्रिय र बहुभाषिक जनताहरूबिच अद्वितीय एकता नै त्यसको कारक थियो। मैले सोभियत संघमा ६ वर्ष अध्ययन गरेँ।

अझै पनि म हरेक मे ९ मा रेडस्क्वायरमा हुने विजय उत्सवले उद्वेलित हुने गर्छु। त्यो सन् १९४५ को प्रथम विजय दिवस मानिलिऊँ, सृष्टिकै अनुपम क्षणजस्तै लाग्छ।

करोडौं सहयोद्धाहरू गुमाएर र ठुलो समर जितेर आएका ती योद्धाहरूको माझ जब सेनापति झुकोभले हरेक पल्टनलाई बधाइ दिँदै जान्छन्, प्रत्युत्तरमा प्रत्येक पल्टनबाट ‘हुर्रा’ भन्ने नाद गुन्जन्छ। यो श्रवण गर्दा त्यो नाद, त्यो ध्वनिले आकाश ढाक्दैछ र यसअघि धरतीमा गुन्जिएका ध्वनिलाई फिका पारेको छ झैं लाग्छ।

युगीन महत्व

द्वितीय विश्वयुद्धमा फासिस्ट शक्तिमाथि गरिएको विजयले युरोप मात्र स्वतन्त्र भएन, चीन, भारतजस्ता थुप्रै मुलुक यही लहरबिच मुक्त भए। यो विजयले औपनिवेशिक हैकममा दबिएका एसिया, अफ्रिका र ल्याटिन अमेरिकन मुलुकहरूमा ठुलो हलचल ल्याइदियो।

कहिल्यै नअस्ताउने सूर्य भनिएका साम्राज्यहरू अस्ताचलतर्फ लुके। साथमा युद्धको परिणामले विश्वको भूराजनीतिमा स्पष्ट ध्रुवीकरण ल्यायो।

तथापि शीतयुद्धका भयत्रासहरू गुन्जिरहे पनि दुई विश्वको प्रतिस्पर्धाले विज्ञान र अनुसन्धानको क्षेत्रमा ठुलो फड्को मा-यो। मानवजातिलाई पृथ्वीको विकासले मात्र पुगेन अनि देवकोटाले ‘उद्देश्य के लिनु, उडी छुनु चन्द्र एक’ भनेझैं अन्तरिक्षको यात्रासमेत तय भयो।

इतिहासका तिक्त पक्ष

द्वितीय विश्वयुद्धमा सोभियतहरूले जुन स्केलको योगदान गरे, त्यो रूपमा संसारसामु आफ्नो विश्वव्यापी निर्णायक भूमिकाको प्रचार गर्न सकेनन्। मिडियाको दुनियामा उनीहरू पिछडा रहे।

बिबिसी, सिएनएनजस्ता स्वतन्त्र कहल्याइएका समाचार माध्याम उनीहरूको पक्षमा रहेनन्, न बेलायत, फ्रान्स, स्पेनजस्ता साम्राज्यहरूले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी मुलुकहरूमा स्थापित गरेजस्तो तिनको भाषिक प्रभाव थियो ।

अर्को कुरा सोभियत दुनिया आफैं पनि बाँकी विश्वबाट अलग रहेकाले प्रसार कम भएको हुन सक्छ।

विश्व इतिहासको यो सत्य वा विडम्बना हो कि हरेक शक्ति इतिहासलाई आआफ्नो स्वार्थानुकूल ढाल्छन् र प्रस्तुत गर्छन्। उदाहरणका लागि दोस्रो विश्वयुद्ध अमेरिकाको पर्ल हार्बरमा जापानी सैन्य आक्रमण र प्रत्याक्रमणको विश्वमा कत्रोविधि चर्चा छ।

यसको फिल्म, भिडियो, सिडी सबैतिर पुगेका छन्। जब कि त्यहाँ जम्मा दुई हजार चार सय तीन जना मारिएका थिए। सोभियतहरूले लडेको लडाइँको सौर्यअगाडि पर्ल हार्बरको युद्ध मट्यांग्राले फट्यांग्रा मारे बराबर हो।

तर योभन्दा सय गुणा ठुला हजारौं लडाइँहरू सोभियतहरूले लडे। विश्वव्यापी मिडियामा तिनीहरू त्यो अनुपातको चर्चामा छैनन्।

दोस्रो विश्वयुद्धभर आठ लाख जति अमेरिकी र ब्रिटिस सैनिकले ज्यान गुमाएको तथ्यांक छ। तर सांसारिक सूचनाका मूलधारहरू दोस्रो विश्वयुद्ध तिनकै कारणले जितिएको जस्तो दाबी गर्छन्।

उता सोभियत संघले दुई करोड सत्तरी लाख मानिसहरू गुमायो र पूरा युरोप खर्लप्प निलेर आएको जर्मन गठबन्धनलाई लखेट्दै तिनको उद्गम स्थलमै पुर्‍यायो। तर विश्व इतिहासमा उसको यथेष्ट चर्चा छैन।

सोभियत संघको निर्णायक भूमिकालाई छायामा पार्दै विश्वका हालीमुहाली मिडिया र इतिहासकारहरू विशेषगरी अहिलेको परिप्रेक्षमा उक्त युद्ध अमेरिका, ब्रिटेनले गर्दा नै साम्य भए बयान गर्छन्।

अथवा घुमाउरो पाराले जस जति आफ्नो पोल्टामा पार्ने गरी इतिहासलाई परिभाषित गर्छन्।

निष्कर्ष

यो इतिहासको सबैभन्दा तितो पक्ष हो कि एक प्रकारले अमेरिका र पश्चिमाहरूको खुसीका लागि सोभियत संघ टुक्र्याइयो, वार्सा सैनिक संगठन भंग गरियो, लेनिनका मूर्तिहरू ढालिए। विश्व एकध्रुवीयजस्तै भयो।

तर इतिहासको यो बहाव विपरीत उत्तर एकलान्टिक सैनिक संगठनलाई विस्तार गर्न थालियो, यसले युक्रेन संकट निम्त्यायो।

विश्वाकाशमा फेरि अशान्तिको कालो बादल मडारियो। आज विश्वमा एक वा अर्को तरिकाबाट विजयको गौरवशाली इतिहासलाई तोडमोड र बङ्ग्याउने प्रयत्‍नहरू हुँदैछन्।

हिजो अस्ट्रियाको भियना, चेकोस्लोभाकियाको प्राग, पोल्यान्ड, बुल्गेरिया, युक्रेन आदि देशमा ती मुलुकहरूको स्वतन्त्रताका खातिर गरेको कुर्वानीका लागि सोभियत वीरहरूको सम्मानमा ठड्याइएका ऐतिहासिक स्मारक र सालिकहरूमाथि हमला हुँदैछ।

यो विश्व इतिहासको र शान्तिप्रेमी मानवजगत्को अपमान हो। आज फेरि इतिहासको चिहानमा गाडिएका फासिज्मले विभिन्न बहानामा शीर उठाउँदैछ।

फेरि पनि जातीयता, साम्प्रदायिकता एवं धर्मको आड लिएर नवफासिस्टहरूको उदय हुँदैछ।

दोस्रो विश्वयुद्ध रुस, बेलारुस र युक्रेनको साझा दुःख, पीडा र बलिदानको इतिहास हो। नाजीहरूले आक्रमणको सुरुवात नै युक्रेनको किभमा बमबारीसाथ गरेका थिए।

त्यसमा सहादत प्राप्त गर्नेहरूमध्ये एक करोड त युक्रेनीहरू थिए। युगकै विडम्बना आज रुस र युक्रेन युद्ध लड्दैछन्।

सृष्टिको आदिकालदेखिका दाजुभाइ, सत्तरी वर्ष एउटै मिसन बोकेर साझा सोभियत सभ्यता निर्माणमा जुटेका सहयात्री, काँधमा काँध मिलाउँदै एउटै मोर्चाबाट नाजी फासिस्टविरुद्ध लडेका सहयोद्धा एकापसका दुस्मनमा परिणत भएका छन्।

इतिहासमा योभन्दा पीडादायी कुरा के हुन सक्छरु दुई भाइ देशबिचको आजको दुरावस्था देखेर केही मेरा युक्रेनी मित्रहरू रुँदै लेख्छन्, ‘यदि यही नै हुनु थियो भने हाम्रा पुर्खाहरू द्वितीय विश्वयुद्धमा केका लागि सँगै लडेरु केका लागि त्यत्रो ज्यान फालेरु’

भर्खर मैले एउटा भनाइ पढेको थिएँ, त्यसले च्वास्स बिझ्यो, ‘१९४५ मा फासीवादलाई पराजित गर्ने सोभियत सैनिकका नातिनातिनाले अब फासीवादका नयाँ अनुयायीहरूसँग लड्नुपर्नेछ, जसका नायक स्टेपन बान्डेरा थिए।’

नभन्दै ती वीर पुस्ताका सन्ततिहरू जो द्वितीय विश्वयुद्धमा साझा शत्रु नाजीवाद र देशद्रोही बान्डेराविरुद्ध लडेका थिए। आज बान्डेरालाई युक्रेनी कट्टर राष्ट्रवादीहरूले नायकका रूपमा प्रस्तुत गर्दैछन्।

मलाई सबैभन्दा खट्केको कुरा, युद्धले गरेको भौतिक क्षति समयक्रममा पूर्ति होला। तर त्यसले नयाँ पुस्ताको मनमस्तिष्कमा कुनै देश र कुनै जातिविरुद्ध गरेको घृणाको जुन बीजारोपण छ, त्यो सबैभन्दा घातक छ।

अन्धधार्मिक असहिष्णु, जातीयता, साम्प्रदायिकता एवं नश्लीय र रंगभेदको बाक्लो आवाज नै फासीवादको उर्वरभूमि हो र विश्वयुद्धको कारक हो।

यो परिप्रेक्ष्यमा फासिज्ममाथि विजय प्राप्त गरेको दिन मे ९ र देशभक्तिपूर्ण युद्धको ८० औं वार्षिकोत्सवको सम्झना गर्न अझ सान्दर्भिक छ।

विजय दिवसको उपलक्ष्यमा विश्व मानव स्वतन्त्रताका लागि होमिने विश्वभरका वीरहरूलाई उच्च सम्मान र सबैलाई शुभकामना छ। संसारले युद्ध कहिल्यै भोग्न नपरोस्।

नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung