२३ भाद्र २०८३, मंगलवार

 

शृंखलाले पार गर्न नसकेको त्यो घुम्ती

‘यो साह्रै अन्याय भयो। श्रृंखला खतिवडा टप ५ मा पुग्न डिजर्भ गर्थिन्।’

एक महिनाअघि श्रृंखला मिसवर्ल्ड प्रतिस्पर्धाका लागि चीन गएदेखि नै नजिकबाट सहयोग गरिरहेकी पूर्व मिस नेपाल माल्भिका सुब्बाले उनी टप १२ बाट बाहिरिएपछि दिएको प्रतिक्रिया हाे- याे। शनिबार चीनको सान्या शहरमा आयोजित फाइनलमा शीर्ष ३० पार गर्दै टप १२ सम्म पुगेकी उनले इतिहास रच्ने माल्भिकालाई विश्वास थियो।

श्रृंखलाको त्यो चर्चित भिडियो कसरी बन्यो?

पूर्व मिस नेपाल माल्भिका मात्रै हैन्, कयौँ नेपालीहरुले याे पटक मिस वर्ल्डकाे ताज नेपाल आउने आशा गरेका थिए। भराेसा गरेका थिए। याे बीचमा उनकाे प्रस्तुति र उनीबारे राष्ट्रिय एवं अन्तरार्ष्ट्रिय मिडियामा भएकाे कभरेजले पनि श्रृंखलामाथि विश्वास बढाइदिएकाे थियाे। विश्वभरका १ सय १८ सुन्दरीहरुबीच प्रतिस्पर्धा हुँदा उनले देखाएको आत्मविश्वासले विश्वभर छरिएर रहेका नेपालीलाई राेमाञ्चित मात्र बनाएन, उनीमाथिकाे भराेसा पनि बढाइदियाे। अपेक्षा चुल्याइदियाे।

‘हेड टू हेड’ विधामा शीर्ष २० मा परेकी उनी साे विधाबाट टप ३० मा पुग्न सकेकी थिइनन्। त्यसपछि उनीसँगै उनका प्रशंसकहरू निराश बनेका थिए। तर एक्कासि दरिलो प्रस्तुतिसहित ब्युटीविथ पर्पसकाे अवार्ड उनकाे पाेल्टामा जाँदा धेरै छक्क परे। किनभने याे अवार्ड उनले पाउने चर्चा यसअघि धेरै भएकाे थिएन। मल्टिमिडिया अवार्डकाे विजेताकाे रूपमा धेरैले अनुमान गरिरहेका बेला याे नतिजा आएको थियाे।

इन्टरनेट भाेटका लागि विश्वभरबाटै सहभागिता जनाउने ढाेका खुला थियाे। विश्वभर छरिएर रहेका नेपालीले याे पटक यसअघि भन्दा बढी नै नेपाल सुन्दरीलार्इ माया दर्शाए। त्यही भएर सानियामा भेला भएका सुन्दरीहरूमध्ये सबैभन्दा बढी भाेट शृंखलाले पाउन सफल भइन्। रवाफिलाे भाेट उनलार्इ मल्टिमिडिया अवार्ड दिलाउने कारक बन्याे। दुई-दुई विधामा अवार्ड जित्दै मिस वर्ल्डकाे फाइनलमा पुगेपछि उनी निकै उत्साही देखिएकी थिइन्। उनले मिस वर्ल्ड टाइटललाई नै लक्ष्य बनाएकाे सार्वजनिक अभिव्यक्ति दिएकी थिइन्।

‘साँच्चै भन्नुपर्दा ब्युटी विथ पर्पसको उपाधि मेरा लागि मिस वर्ल्ड जिते जतिकै महत्वपूर्ण छ तर अझै धेरै गर्न बाँकी छ। टाइटलका लागि थप मिहिनेत गर्नेछु’, उपाधि हात पारेपछि मिस वर्ल्डका सोसल मिडिया संवाददाता जेके मिराजलाई अन्तर्वार्ता दिँदै उनले भनेकी थिइन्।

मिस वर्ल्डमा श्रृंखलालाई कसरी भइरहेछ भोटिङ?

श्रृंखलाले मिस वर्ल्ड यात्रालाई आफ्नो आवाज दरिलो बनाउँने माध्यम बताउँदै आएकी छिन्। ‘मलाई पब्लिक फिगर हुन मन थिएन। पब्लिक फिगर भैसकेपछि आफ्नो आवाज बलियो हुन्छ र त्यो आवाज म कसैका लागि प्रयोग गर्न सक्छु भन्ने कुराले मात्रै मलाई मिस नेपालमा तानेको थियो,’ हेड टू हेड च्यालेन्जमा यसअघि पराजित भएपछि श्रृंखलाले भनेकी थिइन्, ‘मिस वर्ल्ड पनि मेरो आवाज बलियो बनाउने माध्यम मात्रै हो। म एउटा मान्छेले पनि संसार परिवर्तन गर्न सक्छ भन्ने कुरामा हृदयदेखि विश्वास गर्छु।’

स्पष्ट विचार, लगनशील र स्थितिकाे सही आँकलन गर्न सक्ने क्षमता देखेका नेपालीहरूले उनी शीर्ष १२ बाहिरिँदा सन्तुष्ट हुन नसक्नु स्वभाविक हो। राम्राे प्रस्तुति, भिडियाे ब्लगर र अन्तरार्ष्ट्रिय मिडियाहरूले उनीबारे गरेका चर्चाले नेपालमा धेरैमा अपेक्षा बढाइदिएकाे साँचाे हाे। नेकपा नेता एवं संघीय सांसद विराेध खतिवडाकी छाेरी भएकाे फाइदा उनलाई मिस वर्ल्डमा राम्राेसँग भयाे। निकटतम प्रतिद्वन्द्वीसँग फराकिलाे अन्तरकाे भाेट संख्याका पछाडि याे फ्याक्टरकाे याेगदान महत्वपूर्ण रह्याे। भाेटका लागि सरकार, सत्तारूढ नेकपा एवं गैरअावासीय नेपाली संघका सर्कुलर नै थिए। टप १० सम्म यसअघि पनि नेपाली सुन्दरी पुगेका हुन्। मिस वर्ल्डमा नेपाली सुन्दरीकाे यसअघि भन्दा बढी चर्चा हुनुकाे एउटा कारण यी अफिसियल सर्कुलर पनि हुन्।

फाइनल राउन्डमा श्रृंखलका लागि भाेटभन्दा आफ्नो प्रस्तुति बढी महत्वपूर्ण थियाे। शीर्ष १२ का प्रतिस्पर्धाबीच उनले आफूलाई अब्बल सावित गर्नैपर्ने हुन्थ्याे। त्यहाँ कसैकाे भाेट, विश्लेषण, सर्कुलर निर्देशित हाैसलाले काम गर्ने स्थिति थिएन। भयाे पनि त्यस्तै। यसअघि मिस वर्ल्डका विभन्न विधामा राम्राे प्रस्तुति दिएकी उनी मिस थाइल्यान्डले पछिपार्दा शीर्ष पाँचमा पुग्नबाट राेकिइन्। शीर्ष १२ काे घुम्ती पार गरेकी भए उनी शीर्ष ५ मा पुग्ने थिइन्। याे भनेकाे मिस वर्ल्ड छनाैट हुने राउन्ड हाे। तर त्यही घुम्तीमा उनकाे मिस वर्ल्ड यात्राकाे गाडी राेकियाे।

एसिया एण्ड ओसियाना क्षेत्रबाट टप १२ मा पुगेकी श्रृंखलाकाे मिस वर्ल्ड यात्रा थाइल्याण्डकी निकोलेन मिसले उनकाे यात्रा त्यहीँ पूर्णविराम लगाइदिइन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung