बागलुङ । ‘शासन ब्यक्तिको हैन विधिको हुन्छ’ भन्ने नारासहित युवाहरुको व्यक्तित्व र नेतृत्वको विकास गर्दै आएको नेपाल जेसीजको आगामी वर्ष २०१९को अध्यक्षका लागि बागलुङका सुदिप राजभण्डारीले उम्मेदवारी दिएका छन् ।
नेपाल जेसीजको पूर्व उपाध्यक्ष समेत भइसकेका राजभण्डारीले यसपाली आफूले केन्द्रिय नेतृत्व पाउने दाबी गरेका छन् । यहि पुस ७ गतेदेखि १० गतेसम्म जनकपुरमा नेपाल जेसीजको महाधिवेशन हुदैँछ । जेसीजको यो ४५ औं महाधिवेशन हो ।
बागलुङ जेसीज सचिवालयमा पत्रकार सम्मेलन गरी उनले औपचारिक रुपमा आफूले नेपाल जेसीजको केन्द्रिय अध्यक्षको लागि उम्मेदवारी दिएको बताएका हुन् । उनले जेसीजको विधान र नीति अनुसार आफूले उम्मेदवार दिइसकेको र यसको प्रचारप्रसार जिल्लाबाट नै शुरु गरेको बताए ।
नेपाल जेसीजलाई सुचनामैत्री बनाउने युवालाई रोजगारी मुलक तालिम दिने आफ्नो योजना भएको राजभण्डारीले बताए ।
२००२ सालबाट बागलुङ जेसीजको साधारण सदस्यता लिई १६ वर्षको लामो जेसीज यात्रा गरेको बताउँदै राजभण्डारीले वर्ष २०१९ को लागि नेपाल जेसीजको केन्द्रिय अध्यक्ष पदका लागि आफू योग्य भएको दाबी गरेका छन् ।
सन् २००५ मा शाखाको महासचिव, २००६ मा कार्यकारिणी उपाध्यक्ष र २०१० मा शाखाको अध्यक्षमा रहेर आफूले कुशल नेतृत्व गरेको उनले बताए । राजभण्डारीले बागलुङ शाखाको अध्यक्ष हुदाँ देशभरमै उत्कृष्ट शाखा अध्यक्षका रुपमा तारा अवार्डले आफू सम्मानित भएको स्मरण समेत गरे ।
सन् २०११ मा राष्ट्रिय उपाध्यक्ष, २०१२ मा आइटी प्रोगाम कोडिनेटर र २०१४ मा कानुनी सल्लाहकारको जिम्मेवारी समेत निर्बाह गरिसकेका राजभण्डारीले आफूलाई जिताउन धौलागिरीका जेसीज मात्रै नभएर देशभरका जेसीजले सहयोग गर्ने बताए ।
जेसीजमा आबद्ध पश्चात विभिन्न तालिमहरुमा प्रशिक्षकको जिम्मेवारी पाएका राजभण्डारीले आफ्नो उम्मेदवारी अहिलेको आवश्यकता र समयसापेक्ष रहेको बताए ।
बागलुङ जिल्ला बाट नेपाल जेसीजको राष्ट्रिय अध्यक्षको लागि उमेदवार बनेका सुदीप राजभण्डारी दोस्रो ब्यक्ति हुन् । यसअघि बागलुङ कै पुनम शाक्य इसम् १९९९ पनि नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा उमेदवारी दिएका थिए ।
सन् २०१५ सालमा म्याग्दी जिल्लाका धनन्जय कुमार श्रेष्ठ नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष बनिसकेका छन् । बागलुङ जिल्ला बाट २० बर्षपछि नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा उमेदवार दिएको छ ।
नेपाल जेसीज देशभरिका १४५ शाखा का १७०० मतदाता रहेको महाधिवेशनमा अहिले राष्ट्रिय अध्यक्षमा बागलुङ बाट सुदीप राजभण्डारी र इटहरीका महेश पौडेल बिच चुनावी प्रतिस्पर्धा हुदैछ ।
जेसीज बाहेक अन्य विभिन्न सामाजिक संघ संस्थामा समेत महत्त्वपूर्ण भुमिका निभाउदै आएका राजभण्डारी ग्रीन डेभलपमेन्ट बैंक केन्द्रीय कार्यालयमा कर्जा तथा सञ्चालन प्रमुखमा रहेर काम गर्दै आएका छन् ।
राजभण्डारी नेपाल भाषा मंका खल बागलुङको सचिव, शंखधर बहुमुखी सहकारी संस्थाको लेखा संयोजक, कम्प्युटर एशोसियसन नेपाल महासंघ गण्डकी प्रदेशको सचिव, सिवाइसी लघुवित्त विकास बैंकको संस्थापक, शुभम इन्टरप्राइजेज (झोला तथा ड्रेस उत्पादन कम्पनी) को सञ्चालक, सिद्धार्थ शिक्षा सदन बागलुङको सञ्चालक लगायतका संघ संस्थामा आबद्ध रहेका छन् ।
पत्रकार भेटघाटमा नेपाल पत्रकार महासंघ बागलुङको अध्यक्ष दिल शिरिषले पनि मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रम बागलुङ जेसीजको अध्यक्ष अम्बिका बस्नेतको अध्यक्षता र संचालन महासचिव एन्जिल शाक्यले गरेका थिए ।



















































































































































































































