१० कार्तिक २०८३, सोमबार

 

इन्दिरा गान्धीको छलकपटबाट मुक्त हुँदा मन हलुङ्गो भएको छ – बीपी

आर.एन.ए.सी.को विमान चढेर पटनाबाट काठमाडाँै विमानस्थलमा आइपुग्यौँ । परिवारका सदस्य र जयप्रकाशजी सहित ठुलो सङ्ख्यामा मेरा मित्रहरु विमानस्थल हामीलाई बिदाई गर्न आएका थिए । हामीमध्ये धेरैका आँखा रसाएका थिए । मप्रति देखाइएको यत्रो ठुलो स्नेहले मेरो मनलाई साह्रै छोयो । अघिल्लो दिन पटना आइपुगेदेखि नै थुप्रै मित्र र शुभेच्छुकहरु मलाई भेट्न आइरहेका थिए ।

काठमाडाँै पुगेपछि मेरो भविष्य अनिश्चित र चिन्ताजनक हुन्छ भन्ने कुरा थाहा पाएर उनीहरु चिन्तित थिए । सुशीलालाई बितेका धेरै दिनदेखि ठुलो पीडा भइरहेको थियो । उनलाई सजिलै भक्कानो छुट्छ । आफ्नो स्वास्थ्यमा असर नपारिकनै उनी यो कष्ट पार गर्न सकुन भन्ने कामना गर्छु । उनी उच्च रक्ततापबाट नराम्रोसँग पीडित छिन् , जसले उनको मुटुमा समेत केही असर पारिसकेको छ ।

काठमाडौँ विमानस्थल आइपुगेपछि हाम्रो विमानलाई धावनमार्गको टाढाको कुनातिर लगिन्छ । त्यहाँ हामी ( जीएम गणेशमान सिंह, शैलजा , नीलाम्बर पन्थी, रामबाबु , खुमबहादुर र म) लाई ओरालिन्छ । हामीहरुका लागि बनाइएको एउटा पालमा विमानस्थलका औपचारीकताहरु पुरा गरिन्छन् । त्यसपछि हामीलाई छुट्याइन्छ । म र जीएमलाई प्रहरीको जीपबाट सुन्दरीजल शिविर ल्याइन्छ । शैलजालाई अर्काे जीपमा लगियो । लगिँदै गर्दा उनले बिदाइको हात हल्लाइन् ।

अरुहरुलाई एउटा अर्कै जीपमा लगियो । सुन्दरीजल बन्दीगृहमा फेरि आइपुग्याँै । बन्दीगृहमा नयाँ रंग लगाइएको थियो । यसमा सेतो रंग लगाइएको थियो । हामीलाई सैनिकको जिम्मा लगाइयो । फेरि उही पुराना रमाइला दिनहरुमा हामी फर्कियौँ । यो बातावरणमा मलाई हलुङगो अनुभव हुन्छ ।यो कुरा जीएमलाई भन्छु । इन्दिराको छलकपट, दोधारे व्यवहार र त्यहाँको अन्यौलपुर्ण वातावरणबाट मुक्त भएकोले मलाई हलुङगो भइरहेको छ । हामी नेपाल फर्किएबाट हाम्रो भावी कदमका बारे रहेको अनिश्चयको अन्त्य भएकोले पनि आनन्द महसुस भएको हो । अब पछाडि फर्कने कुरा छैन ।

सैनिक र निजामती अधिकृतहरुका साथ एकजना अञ्चलाधीश आउँछ र केही प्रश्नहरु गर्छ । अञ्चलाधीशले नेतृत्व गरेको टोलीमा सैनिक र प्रहरी अधिकृतहरु सामेल गरियो? हाम्रो बयान ( हामीले दिएका जवाफहरु ) को टेप रेकर्ड गरिनु अर्काे अनौठो कुरा थियो । हामीसँग सातवटा जति प्रश्नहरु गरिए । जवाफ दिनुअघि मैले अञ्चलाधीशलाई मेरो वक्तव्यको एउटा प्रति दिएको थिए । आफ्नो नेपाल फिर्तीको उद्देश्य खुलाइएको त्यो वक्तव्य मैले गोप्य रुपमा छापी वितरण गरेको थिए ।

हामीलाई सोधिएका प्रश्नहरु नेपालको अस्तित्वमाथिको खतबाराबारे हामीले उठाएका चिन्ताहरु र भारतका खेलका बारे सम्बन्धित थिए । एउटा प्रश्न भारत र चीनसहित विश्वले राजाको शान्तिक्षेत्रको प्रस्तावलाई दिने मान्यताका बारे थियो । अर्काे प्रश्न चाहिँ हामीले भारतमै छोडेर आएका गिरिजाका बारे थियो । कतै मैले वैकल्पिक कदमका निम्ति गरेको रणनीति त होइन भनेर । अनि अर्काे प्रश्न अपहरण , ३०,००,००० रुपैयाँ र ओखलढुङ्गा कार्बाहीका बारे थियो । सातौ प्रश्न थियो । के मेरो आगमनले नेपाललाई खतरा पुग्दैन भन्ने । मैले हामी देशको हितका निम्ति राजनीतिक समझदारी कायम गर्न राजासक्षम आफुहरुलाई प्रस्तुत गरेर आएका हौ । अहिले पुरानो कुरा कोट्याउने र एक अर्कालाई आरोप लगाउने बेला होइन ।

उनीहरुले हामीसँग राम्रै व्यवहार गरिरहेका छन् । अहिले साह्रै जाडो छ । म आठ बजेतिर सुत्न गएँ । तर राम्रोसँग निदाउन सकिनँ । शैलजालाई पनि राम्रै व्यवहार गरिएको होला भन्ने आशा गर्छु । उनी कुनै कारागारमा एक्लै छिन् । मैले अञ्चलाधीशसँग उनको बारेमा सोधेँ । उनको राम्रो हेरविचार गरिएको र मैले चिन्ता लिनुपर्दैैन भनेर मलाई जवाफ दिए।

क्याम्पमा हाम्रो बन्दोवस्त भइसकेपछि र अञ्चलाधीश गइसकेपछि आफुलाई विमानस्थलको (सुरक्षा) प्रमुख डी.एस्.पी. भनेर चिनाउदै एकजना भीमकाय मानिस आधा दर्जनजति हठ्ठाकठ्ठा केटाहरुका साथ आउँछ । डी.एस्.पी. अग्लो र केही मोटो थियो । उसका औलाहरु साना र बरिष्ठ थिए । विमानस्थलमा हराएका मेरा पञ्जाहरु पाइएन भन्न ऊ आएको थियो । तर किन छ जना मानिसहरुका साथ? हामीलाई उनीहरुसँग चिनाउन ?

जेल जर्नल पुस्तकबाट

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung