बागलुङ जिल्ला प्रहरी कार्यालयले ठूलो मात्रमा लागुऔषध बरामद गर्न सफल भएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले लुकाईछिपाई जमिनमुनि राखेको लागूऔषध बरामद गरेको हो ।
बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित विजय खाजाघरका सञ्चालिका बागलुङ नगरपालिका–१३ पैयुँपाटा निवासी ४३ वर्षीया शान्तिदेवी कुँवरको खाजाघर पछाडिको खाली जमीनमुनि लुकाइछिपाई राखेको स्थानबाट प्रहरीले प्लाष्टिकको बोरामा दुई मिलीग्रामका डाइजेपाम १०५, फेनार्गन १०५ र नुर्फिन १०५ एम्पुल बरामद गरेको हो ।
नेपाली सेनाको २३ नं बाहिनी अड्डा नजिकै खाजाघर सञ्चालन गरी बस्ने कुँवरले खाजाघरमा अवैध लागुऔषध लुकाइछिपाइ राखी बिक्री वितरण गर्ने गरेका पाइएको हो । उनले युवाहरुलाई विक्रि गर्ने र पैसा तिर्न नसक्ने लागुऔषध प्रयोगकर्ताको मोबाइल, ल्यापटपलगायत सामग्री समेत धितो लिने गरेको अनुसन्धानबाट पत्ता लागेको प्रहरीले जनाएको छ ।
कुँवरलाई पुस १४ गते प्रहरीले नियन्त्रणमा लिएर खाजाघर खानतलासी गर्दा माथिल्लो तलामा लुकाइछिपाइ राखेको अवस्थामा दुई एमएल लेखिएको डाइजेपाम, फेनार्गन र नुर्फिन दुई(दुई एम्पुल र लागुऔषध प्रयोगकर्ताले धितो राखेका सामसुङ मोबाइल ५ थान, कलर्स मोबाइल चारथान, नोकिया मोबाइल एक थान, डाइमण्ड मोबाइल एक थान, सोलारपावर बैँक एक थान, आइफोन एक थान, इण्टेल लेखिएको ट्याब एक थान, एसर ल्यापटप एक थानसमेत बरामद गरी थप अनुसन्धान थालिएको प्रहरी उपरीक्षक दीपक रेग्मीले बताए ।



















































































































































































































