२२ असार २०८२, आईतवार

 

इतिहास बिन्तीपत्र चढाएर मात्रै पाइएको होइनः प्रचण्ड

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो हक अधिकारका लागि उत्पीडित वर्ग आफै जागरुक हुनुपर्ने बताएका छन्।

मंगलबार लिःल (घले) ल्होसारको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले इतिहास संघर्षको उपज भएको बताए। ‘इतिहास बिन्तीपत्र चढाएर मात्र पाइएको छैन’, उनले भने, ‘त्यसका निम्ति जो उत्पीडिन, विभेद अन्यायमा परेका छन् उनीहरु आफै जागरुक हुन र अगाडि बढ्न जरुरी छ।’

अध्यक्ष प्रचण्डले उत्पीडित समुदायको हक अधिकारलाई सुनिश्चित गर्नका लागि संविधान बाधक नबनेको भन्दै संविधान संशोधन र परिमार्जन गरेर हक अधिकारको सुनिश्चित गर्न सकिने दावी गरे।

उनले भने, ‘यो संविधानको एउटा विशेषता के छ भने यसले कुनै पनि कुरालाई देशको सार्वभौम सत्ता, भौगोलिक अण्खडताका र हाम्रो राष्ट्रिय स्वतन्त्रता बाहेक अन्य कुनै पनि विषयलाई रोकेको छैन।’

अध्यक्ष प्रचण्डले घलेलाई थरका रुपमा लिएर एउटा ठूलो समूदायलाई संकुचन गर्न खोजिएको बताए। ‘यहाँ गुरुङ घले,  मगर घले, तामाङ घले हुँदा-हुँदा बाहुन क्षत्री पनि घले भनेर जता पनि लगेर जोडिदिन मिल्ने भएर घलेलाई जातिको रुपमा नभई एउटा थरको रुपमा संकुचित गर्ने परम्परा छ’, उनले भने। उनले आदिवासी जनजातिको सूचीकृत गर्दा घले समूदायमाथि अन्याय भएको भन्दै त्यसमाथि पुनर्विचार गरेर अगाडि बढ्नुपर्ने बताए।

‘तपाईंहरुका कुरा सुन्दा र अध्यक्ष ज्यूले जुन ज्ञापनपत्र बुझाउनुभएको छ त्यो हेर्दा साच्चै नै आदिवासीको जनजातिको अनुसूचीमा सूचिकृत गर्दा तपाईहरुमाथि अन्याय भएकै रहेछ भन्ने मलाई महसुस भएको छ’, उनले भने, ‘त्यसकारण यो ज्ञापनपत्रको आधारमा पार्टी, सरकार र संसदमा यो मुद्दालाई पुर्नविचार गरेर सूचीकरण गर्ने प्रक्रियालाई अगाडि बढाउन तपाईहरुको साथमा हुनेछु।’

अध्यक्ष प्रचण्डले कसैलाई विभेदमा पारेर राष्ट्रिय एकता बलियो हुन नसक्ने भन्दै सबै जातिजाति, भाषाभाषी, क्षेत्र, वर्ग र समुदायको हक अधिकारलाई सुनिश्चित गरे मात्र राष्ट्रिय एकता बलियो हुने बताए।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung