२२ बैशाख २०८१, शनिबार

 

प्रदेश स्तरीय सूचना प्रविधि मेला

 

गण्डकी प्रदेश स्तरीय सूचना प्रविधि मेला ‘क्यान इन्फोटेक–२०१९’ पोखरामा हुने भएको छ । नयाँबजारस्थित प्रर्दशनी केन्द्रमा हुने दशौँ संस्करणको मेला यही फागुन १८ देखि २४ गतेसम्म चल्नेछ ।

आयोजक कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघ कास्कीले मंगलबार बागलुङमा पत्रकार सम्मेलनको आयोजना गरी मेलाको तयारी पुरा भएको जनाएको हो ।

मेलामा सूचना तथा सञ्चार प्रविधि सम्बन्धी राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीहरुको सहभागिता रहने क्यान कास्कीका अध्यक्ष युवराज पौडेलले बताउनुभयो ।

मेलामा बृहद प्रविधि प्रदर्शनी, प्रदेश स्तरीय टाइपिङ्ग, सूचना प्रविधि सम्बन्धी हाजिरीजवाफ प्रतियोगिता, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, नयाँ प्रविधिका मोबाइलहरुको प्रदर्शनी तथा बिक्री कक्ष राखिनेछ ।

अध्यक्ष पौडेलका अनुसार मेलामा एक सय भन्दा बढी स्टल रहनेछन् । कतिपय कम्पनीले मेलाका अवसरमा आफ्ना उत्पादन, सेवा र उपभोक्ता योजना सार्वजनिक गर्ने तयारी गरेका छन् ।

मेलामा कम्युटर तथा सूचना, सञ्चारमा आएका नौला प्रविधि तथा उपकरणको अवलोकन तथा खरिद गर्न सकिने जनाइएको छ । पुराना प्रविधि समेटिएको ‘म्युजियम’ का साथै स्थानीय उत्पादनको समेत प्रर्दशनी राखिनेछ ।

‘विकसित सूचना प्रविधिका बारेमा ज्ञान र जानकारी दिने उद्देश्यले इन्फोटेक आयोजना गरिएको हो’ अध्यक्ष पौडेलले भन्नुभयो, ‘ग्रामिण तहसम्म सूचना प्रविधिको पहुँच पु¥याउन मेला फलदायी हुने हाम्रो विश्वास छ ।’

मेलाकै अवसरमा स्मार्ट पार्किङ, आइवटी, डिजिटल हस्ताक्षरका विषयमा विज्ञहरुसहितको सेमिनार पनि आयोजना गरिएको छ ।

मेलामा सूचना प्रविधि सम्बन्धी कम्पनीका विदेशी प्रतिनिधिहरु पनि सहभागी हुने क्यान कास्कीका सदस्य सुुनिल पाण्डेले बताउनुभयो ।

मेलामा विद्यार्थीलाई रु. ४० र अन्यलाई रु. ६० प्रवेश शुल्क तोकिएको छ । मेलाबाट बचेको रकम सूचना प्रविधिकै क्षेत्रमा खर्च गरिने आयोजकले जनाएको छ ।

मेला स्थलमा ‘सिटी रेवान महोत्सव तथा फुड फेस्टीबल’ समेत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्