
काठमाडौं । पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था झन चिन्ताजनक बनेको छ । निमोनिया रोगबाट ग्रसित अधिकारीलाई विगत २ महिनादेखि अस्पतालमा भर्ना गरिएपनि स्वास्थ्य अवस्था झन जटिल बन्दै गएको हाे ।
पूर्वअर्थमन्त्रीअधिकारीको अहिले काठमाडौंकोे ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । उपचारमा खटिएका एक चिकित्सका अनुसार अधिकारीको अवस्था जटिल बन्दै गएको छ । एक महिना अवधिसम्म मेडिसिटी अस्पतालमा उपचार गराई रहेका अधिकारीको स्वास्थ्यमा सुधार नआएपछि केही साता अघि ह्याम्स अस्पतालमा सारिएको थियो । ८३ वर्षीय अधिकारीको अवस्था चिन्ताजनक बन्दै गएपछि विभिन्न पार्टीका नेताहरु भेट्न पुगेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री एवं वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतले भेटेर उनकाे स्वास्थ्य लाभको कामना गरेका छन् ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा)का नेता अधिकारी मुलुकमा कुशल अर्थमन्त्रीका रुपमा चिनिएका थिए । उनी मनमोहन अधिकारी नेतृत्वको सरकारमा पहिलोपटक अर्थमन्त्री भएका थिए । त्यसबेलाको वृद्धभत्ता र स्थानीय निकायमा विकास बजेट बिनियोजन उनकै योजना थियो, यो अहिलेसम्म लोकप्रिय कार्यक्रम मानिएको छ । अधिकारी संसद विघटनपश्चात बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री भएका थिए । त्यसबेला पनि अस्पतालमा गएर सुत्केरी हुनेलाई भत्ता दिने व्यवस्था गरेका थिए । अस्पतालमा सुत्केरी हुनेले अहिले पनि हिमालमा १ हजार ५ सय, पहाडमा १ हजार र तराईमा ५ सय रुपैयाँ पाउने गरेका छन् ।