६ जेष्ठ २०८१, आईतवार

 

प्रहरीकै शैक्षिक प्रमाणपत्र नक्कली

काठमाडौं । अपराधको अनुसन्धान गर्ने तथा ऐन नियम पालना गराउने जिम्मेवार निकाय प्रहरी प्रशासनमा कार्यरत अधिकृत शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको छ । महानगरीय प्रहरी परिसर, जावलाखेल ललितपुरमा कार्यरत प्रहरी नायव निरीक्षक प्रकाश चन्द्र घिमिरेको शैक्षिक प्रमाणपत्र नक्कली फेला परेको हो ।
नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी प्रहरी सेवामा प्रवेश गरेको दावी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी बिरुद्ध मुद्दा दायर गरेको छ ।

प्रहरी सेवा प्रवेशका लागि घिमिरेले पेश गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको उजुरीको अनुसन्धान हुँदा उक्त त्रुटि फेला परेको अख्तियारले जनाएको छ । घिमिरेले माध्यमिक शिक्षा परिषद्,क्षेत्रीय कार्यालय, बाराणसी, भारतबाट प्राप्त प्रमाण पत्र तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी सेवामा प्रवेश गरी नियुक्ति लिएको र अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

उनको उक्त कार्य भ्रष्टाचार निवारण ऐन अनुसार कसुर गरेको देखिएको भन्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बार्षिक ५  सय भन्दा धेरै नक्कली शैक्षिक प्रमाण पत्रका बारेमा उजुरी प गरेका छन् । प्रहरी र शिक्षकमा नक्कली प्रमाण पत्रका धेरै उजुरी पर्ने गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी परेको छ । आर्थिक वर्ष २०७४÷७५ मा परेका कूल उजुरीमध्ये शिक्षा क्षेत्रका उजुरी सबैभन्दा बढी रहेको पाइएको हो ।  कूल १९ हजार ४८८ वटा उजुरीमध्ये तीन हजार ५७० उजुरी अर्थात् १८ दशमलव ३२ प्रतिशत उजुरी शिक्षा क्षेत्रसँग सम्बन्धित रहेका छन् । तीमध्ये दुई हजार ४९९ वटा उजुरीको आवश्यक कारवाही भइसकेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्