२४ बैशाख २०८१, सोमबार

 

बागलुङका चार ‘नमूना गाउँ’छनौट

तस्बिर: रामबहादुर थापा, बागलुङ, रासस

बागलुङ । गण्डकी प्रदेश सरकारले शुरु गरेको ‘मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ’ का लागि बागलुङका चार गाउँ छनौट भएका छन् । गण्डकी प्रदेशको भूमि ब्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले जिल्ला स्तर छनौट समितिले सिफारिस गरेअनुसार सदर गर्दै हालै नमूना कृषि गाउँहरु छनौट गरेको हो ।

गण्डकी प्रदेशले ११ जिल्लाका ३६ नमूना कृषि गाउँ छनौट गरेको छ । कृषि गाउँका लागि बागलुङबाट बागलुङ क्षेत्र नम्बर १ को (क) मा पर्ने काठेखोला गाउँपालिका वडा नम्बर ७ रेश गाउँ र बागलुङ क्षेत्र नम्बर १ को (ख) मा पर्ने जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवा गाउँ छनौट भएका छन् । यसैगरी बागलुङ क्षेत्र नम्बर २ को (क) मा पर्ने ताराखोला गाउँपालिका वडा नम्बर ५ करिमेला गाउँ र बागलुङ क्षेत्र नम्बर २ को (ख) मा पर्ने निसीखोला गाउँपालिका वडा नम्बर ५ मसलगाउँ पनि कृषि नमूना गाउँका लागि छनौट भएका छन् ।

कृषि ज्ञान केन्द्र प्रमुखको संयोजकत्वमा पशु सेवा विज्ञ केन्द्र प्रमुख, सम्बन्धित तहको प्रमुख प्रशासकीय अधिकृत वा प्रतिनिधी, सम्बन्धित स्थानीय तहका कृषि वा पशु सेवा प्राविधिक कर्मचारी सदस्य र ज्ञान केन्द्रले तोकेको अधिकृत स्तरको कर्मचारी सदस्य सचिव रहेको छनौट समितिले नमूना कृषि गाउँ छनौट गरेको बागलुङबाट निर्वाचित गण्डकी प्रदेश सदस्य इन्द्रलाल सापकोटाले बताए ।

गाउँ छनौट गर्दा पर्यटकीय क्षेत्र भएको र कृषि पर्यटनको सम्भाव्यता भएका ठाउँलाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । छनौट भएका गाउँको पचास घरधुरीबाट एक÷एक जना सदस्य रहने गरि कृषि सहकारी वा समूह मार्फत त्यहाँको मौसम तथा हावापानी सुहाउने गरी पशुपालन, तरकारी खेती, कुखुरा, माछा तथा अन्य खाद्य तथा नगदेवाली उत्पादन गर्न सक्नेछन् ।

मन्त्रालयले एक निर्वाचन क्षेत्र एक नमूना कृषि गाउँका लागि गण्डकी प्रदेशको ३६ गाउँलाई नमूना कृषि गाउँको रुपमा छनौट गरेको छ । कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले चालू आर्थिक वर्षमा १० करोड ८० लाख बजेट विनियोजन गरेको छ । छनौट भएका प्रत्येक गाउँलाई पहिलो वर्ष ३० लाखका दरले अनुदान उपलव्ध गराउने र चौथो वर्षसम्म प्रत्येक वर्ष ५० प्रतिशत रकम घटाउँदै लगेर त्यसपछि स्थानीय तहलाई हस्तान्तरण गरिने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।

कार्यक्रम सञ्चालन गर्दा सहकारीले ज्ञान केन्द्र वा विज्ञ केन्द्र र एकाइको सहयोग लिई वातावरणमैत्री नमूना कृषि गाउँ स्थापनाका लागि जलवायु समानुकुलित प्रविधि, असल कृषि अभ्यास, पर्यावरणीय खेती, कृषि पर्यटन, दिगो कृषि यान्त्रीकीकरण, लैङ्गिक तथा सामाजिक समावेशीकरण, क्षमता विकास र सह सिकाई कार्यक्रमको वार्षिक कार्ययोजना बनाउनुपर्ने शर्त राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्