झम सिर्पाली
बागलुङ । जिल्लामा विद्युत् र डिजेलबाट चल्ने मिल स्थापना भएपछि परम्परागत ढिकी–जाँतो र पानी घट्टको प्रयोग घटेको छ । गाउँघरमा आधुनिक प्रविधि भित्रिएपछि कुटानी–पिसानीका परम्परागत साधन हराउँदै गएका हुन् ।
अहिले गाउँ–गाउँमा धमाधम आधुनिक विद्युतीय र डिजेलबाट चल्ने मिल स्थापना भइरहेका छन् । प्रविधिले परम्परागत साधनलाई विस्थापित गर्दै लगेको छ ।
यसै प्रसँगमा जाँतो ( ढुङ्गा कुँदेर बनाईएको मकैलाई च्याँख्ला पार्ने स्थानीय साधन) बनाउने निसिखोला २ काल्नेचौरका स्थानीय ६० वर्षीय वृद्धसंग कुरा गर्ने अवसर जुट्यो । जस्को नाम हो रणबिर विश्वकर्मा ।
१५ बर्षको उमेर देखि २०३० साल तिर आफ्नो पुर्खाले गरेको देखेर जाँतो बनाउन सिकेर आफ्नो जिविकोपार्जन गर्दै आएका उनी अहिले माग कम भएपछि चिन्ता देखिन्छन् । उनका अनुसार तत्कालीन समयमा एकजोडी जाँतोको साठ िदेखि सत्तरी रुपैयाँसम्म पर्ने गर्दथ्यो । एक विषेश प्रकारको ढुङ्गाबाट बन्ने यो साधनको माग त्योबेला असाध्यै बढी हुनेभएकाले यस्को उत्पादन र बिक्रीबाट १० जनाको परिवारको सामान्य खर्च चलाउन सकिएको उनी बताउछन् ।
उनका अनुसार अहिले यस्को मूल्य ७ देखि ८ हजार पर्ने भएपनि माग कम हुने गरेको छ ।
मिलमा पिनेको भन्दा यस्मा पिनेको च्याँख्लाको भात स्वादिलो हुनेभएकाले अझै पनि यस्को माग केही मात्रामा भएको पाईन्छ भने मिलको सुविधा नपुगेको दुर्गम क्षेत्रमा भने कुटानिपीसानी भरपर्दो साधन नै यही हो ।
आधुनिक प्रविधिको युगमा मानिसहरु छिटोछरितो र सहजताका लागि सुविधामुखी हुनु अस्वभाविक होइन तर कुनै न कुनै माध्यमबाट यस्ता खाले स्थानयि र पुरातात्त्विक महत्वका प्रविधिहरुलाई पनि जोगाईराख्नु हाम्रो दायित्व भने हुनेछ ।



















































































































































































































