
गुमानसिंह भण्डारी
गलकाेट ।पर्यटकलाई आकर्षीत गर्न बागलुङको गलकोट नगरपालिका १० पाण्डवखानीमा ‘मह शिकार (हनी हन्टिङ)’ बैशाखमा गरिने भएको छ ।
गलकोट नगरपलिका १० पाण्डवखानी र सरस्वती युवा क्लब रमुवाको सयुक्त आयोजनामा आगामी बैशाख १९ गते मह सिकार कार्यक्रम गर्न लागिएको हो । सो मह सिकार कार्यक्रममा रमुवाका मौरी भिरमा रहेका १ सय भन्दा बढी मौरीका गोलाबाट मह काढिने वडा अध्यक्ष तिलक घर्तिले बताए ।
उनले परम्परागत प्रविधि अपनाएर मात्र महको शिकार गरिने बताउँदै अनुभवी र स्थानिय दक्ष मह शिकारीले मात्र शिकारमा भाग लिने बताए ।

“अग्ला भिरपहरामा चढेर मह काढ्नु साहस र कौशलको काम हो”, अध्यक्ष घर्तिले भने, “यसले पर्यटकलाई पनि लोभ्याउँछ ।”गलकोट रमुवाका पहरामा भिर मौरी पाइने भए पनि पहिलो पटक यसरी मह शिकार कार्यक्रम गर्न लागिएको हो । आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कार्यक्रमले टेवा पुग्ने विश्वास लिइएको छ । पाण्डवखानीको रमुवाका स्थानियले प्रत्येक बर्ष मह काढने गरेका छन ।

एउटा घारबाट करिब २० लिटर मह काढिन्छ अध्यक्ष घर्तिले भन्नुभयो, सम्पुर्ण घारबाट गरि एक सिजनमा २ हजार लिटर मह निकाल्ने गरिएको सरस्वती युवा क्लबका अध्यक्ष गिरिप्रसाद घर्तिले बताउनुभयो । रुमुवाका स्थानियहरुले वर्षौ पहिलेदेखि मह शिकार गर्ने गरेपनि उचित प्रचार र मोटरबाटोको कारण रमुवा क्षेत्र ओझेलमा परेको स्थानियको भनाई छ ।
हटियादेखि पाण्डवखानी सम्म ट्याक्सी चल्न सक्ने मोटरबाटो भएपछि यस वर्ष मह शिकार कार्यक्रममा आन्तरिक पर्यटकहरु भित्रिन सक्ने वडा कार्यालयले जनाएको छ । “बैशाख १५ गतेदेखि मह काढ्न सुरु गर्छौ” वडा अध्यक्ष घर्तिले भने। बैशाख १९ गते रमुवाको ठुलो भिरमा सम्पुर्ण दर्शकहरुलाई देखाउने गरि मह काढ्ने कला देखाईने बताए।

बैशाख १५ गतेदेखि १९ गतेसम्म काढिने महलाई जम्मा गरि अन्तिम दिन ५० रुपैयाँका दरले मह चखाईने स्थानियको भनाई छ । त्यस्तै स्थानियले खरिद गरि लैजान सक्ने व्यवस्था समेत मिलाईने क्लबले जनाएको छ । कार्यक्रमले गलकोट रमुवा सगैँ सम्पुर्ण गलकोट क्षेत्रको पर्यटन प्रवर्द्धन हुने पाण्डवखानीका समाजसेवी मानसिंह छन्त्यालले बताए । भीर मौरीको मह स्वास्थ्यवर्दक मानिने हुँदा यसको व्यवसायिकरणको सम्भावना उच्च रहेको छन्त्यालले बताए ।
“गलकोटको धेरै ठाउँमा भिर मौरी भए पनि मह काढ्ने गरिएको छैन”, उनले भने, “रमुवाको मह सिकार कार्यक्रमले शिकार हेर्ने अवसर पनि जुटाएको छ ।”
अग्ला र कहालिलाग्दो भिरमा मह शिकार गरेको दृश्यले सबैलाई आकर्षित गर्ने उनको भनाई छ । शिकार नगर्दै मह किन्नका लागि माग आइरहेको आयोजकले जनाएको छ । अधिल्लो बर्षसम्म स्थानियले मिलेर मह काढ्ने र आफ आफुमा बाडेँर खाने चलन थियो ।

आफुले पाएको मह बचेर केहि स्थानियले हजारौँ आम्दानी गर्ने गरेका थिए । तर यस वर्ष व्यवस्थित तरिकाले मह काढिने भएकाले कार्यक्रममा सहभागी हुनेले समेत मह पाउने आयोजकले जनाएको छ । बैशाख १५ देखि १९ गतेसम्म सरस्वती युवा क्लबले विभिन्न खेलकुद तथासांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको हुदाँ मह शिकार कार्यक्रम प्रभावकारी हुने स्थानियको अपेक्षा छ ।