उदयपुर । मंगलबार रातभरि आएको भीषण हावाहुरी र चट्याङको कारण उदयपुरमा एक जनाको मृत्यु भएको छ । रातको १० बजेदेखि १२ बजेसम्म दुई घण्टा आएको भीषण हावाहुरी र चट्याङबाट कटारी नगरपालिका ८ बबलाका ३७ वर्षिय कालीमाया आले मगरको मृत्यु भएको हो ।
मगर घरमा नै बसिरहेको अवस्थामा हावाहुरीसँगै आएको चट्याङले मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख (एसपी) चन्द्रदेव राईले बताए। मगरको शव परिक्षणको लागि कटारी अस्पताल लगिएको प्रहरी प्रमुख राईले जानकारी दिए ।
हावाहुरीका कारण जिल्लाको त्रियुगा नगरपालिका, कटारी, चौदण्डी तथा बेलकाका विभिन्न स्थानमा आधा दर्जन भन्दा बढी घरको छानो उडाएको प्रारम्भिक सूचना आएको प्रहरीले जानकारी दिएको छ । हावा हुरीले त्रियुगा नगरपालिका ३ स्थित चाँपका कोकाई दास चौधरीको घरको छानो, अन्नपात्त उडाएको छ । हावाहुरीबाट करिव अढाई लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।



















































































































































































































