२४ बैशाख २०८१, सोमबार

 

बनारसको नेपाली मन्दिर हडप्ने दाउमा भारतीय बाबा

- नेपाली राजपरिवारले डेढ शताब्दीभन्दा अघि स्थापना गरेको पशुपतिनाथ मन्दिर स्थानीयले कब्जा गर्न खोजेपछि समाधान खोज्दै दूतावास

नयाँ दिल्ली– बनारसमा डेढ शताब्दीभन्दा अघि स्थापित नेपाली मन्दिर स्थानीयले कब्जा गर्न खोजेपछि विवाद नेपाली दूतावाससम्म आइपुगेको छ । स्थानीय बाबा गुलाब यादवले राजनीतिक पहुँचका आधारमा मन्दिरको जायजेथा कब्जा गर्न खोजेका हुन् ।

दूतावासका अनुसार १८९८ सालमा पौराणिक तथा धार्मिक महत्वको ललिताघाटमा बनाइएको पशुपतिनाथ मन्दिर नेपाल सरकारको खर्च र व्यवस्थापनमा सञ्चालन हुँदै आएको छ । त्यहाँ बनारसका नेपालीसँगै भारतीयले पनि पूजाआजा गर्छन् ।

मन्दिरमा अखडा परम्पराअनुसार बस्दै आएका बाबाका चेला उत्तराधिकारी हुने व्यवस्था छ । मूल बाबाको निधनपछि उनको स्थानमा यादव नियुक्त भएका हुन् । मन्दिर र धर्मशालामा व्यक्तिको भोगचलन अधिकार नरहने भए पनि यादवले धार्मिक सम्पत्तिमा आँखा गाडेपछि विवाद सुरु भएको हो ।

नेपाली राजपरिवारले बनाएको बनारसको ललिताघाटस्थित पशुपतिनाथ मन्दिर ।

मन्दिर सञ्चालन समितिका ट्रस्टी एवं विश्वनाथ मन्दिरका पुजारी टेकनारायण आचार्यले यादवले नेपालीको आस्था र विश्वासप्रति खेलबाड गरेको आरोप लगाए । ‘मन्दिरको सम्पत्ति आफ्ना नाममा गरेर अतिक्रमण गर्न खोजेपछि विवाद भएको हो,’ उनले भने । आचार्यका अनुसार स्थानीय राजनीतिक कार्यकर्ताले आर्थिक प्रलोभनमा यादवलाई नै समर्थन गरेकाले स्थिति जटिल बनेको छ ।

अहिलेको अवस्थामा मन्दिरको सम्पत्ति करोडांै रुपैयाँबराबर छ । ‘नेपाल सरकारको सम्पत्ति भएकाले सरकारले ट्रस्टीहरूलाई साथ लिएर उपचार खोज्नुपर्छ,’ उनले भने, ‘हामी त संरक्षक मात्र हौं ।’ स्थानीय स्तरमा विवाद सुल्झन नसकेपछि आफूहरूले समयमै दूतावासलाई जानकारी गराएको उनले बताए ।

आचार्यका अनुसार उक्त मुद्दा बनारस जिल्ला अदालतसम्म पुगेको थियो । तर राजनीतिक दलका कार्यकर्ताको पहुँच र दबाबमा अदालतले विपक्षी यादवलाई नै पक्षपोषण हुने गरी मुद्दा खारेज गरिदियो ।

उक्त मन्दिर राणाशासनअगावै नेपालको राजपरिवारले बनाएको हो । अहिले पनि संरक्षण र मन्दिरसँगै रहेको धर्मशाला सञ्चालन गर्न नेपालको गुठी संस्थानबाट वार्षिक करिब १ करोड रुपैयाँ आउने गरेको छ ।

दिल्लीस्थित दूतावासका सांस्कृतिक विभागप्रमुख होमप्रसाद लुइँटेलले भारतमा रहे पनि उक्त मन्दिर नेपाल सरकारको सम्पत्ति भएको बताए । मन्दिर ट्रस्टीसिपअन्तर्गत सञ्चालित छ । १४ सदस्यीय ट्रस्टी रहने व्यवस्था छ । दिल्लीस्थित नेपाली राजदूत पदेन सदस्य रहन्छन् । ‘नेपाल सरकारको सम्पत्ति भावावेशमा आएर कसैले कब्जा गर्न खोज्नु गलत हो,’ लुइँटेलले भने, ‘त्यसका विरुद्ध भारतको कानुनअनुसार उपचार खोज्न दूतावास क्रियाशील छ ।’

उनका अनुसार मन्दिर कब्जा गर्न खोजिएको बारे उत्तर प्रदेश सरकारका प्रमुख योगी आदित्यनाथलाई दूतावासका तर्फबाट जानकारी गराइसकिएको छ । आदित्यनाथले बुझेर समाधान निकाल्ने वचन दिए पनि ठोस काम भएको छैन । ‘कब्जा गर्नेविरुद्ध भारतको उच्च अदालत वा सर्वाेच्च अदालतसम्म जान सकिनेछ,’ लुइँटेलले भने ।

दूतावासका राजनीतिक कन्सुलर हरि ओडारीले मन्दिर प्राचीन र ऐतिहासिक भएकाले पनि जोगाउन आवश्यक रहेको बताए । उनका अनुसार नेपाली पेगोडा शैलीमा बनेको मन्दिरलाई दूतावासले विशेष चासो दिएर हेरिरहेको छ । गुनासो आएपछि दूतावास टोलीले मन्दिरको स्थलगत अवलोकन गरेको छ ।

‘मन्दिर कसैले कब्जा गर्छ भने दूतावासले प्रक्रियागत कानुनी उपचार खोज्नेछ,’ ओडारीले भने, ‘भारतमा निर्वाचनका कारण मुख्यमन्त्री योगी आदित्यनाथ व्यस्त रहेकाले निर्णयात्मक छलफल हुन सकेको छैन । निर्वाचनपछि अदालत जाने कि राज्य सरकारबाट समाधान खोज्ने भन्ने टुंगो लाग्नेछ ।’ गंगाको करिडोर सफाइ अभियान र अधिकरण भइरहे पनि घाटनजिक रहेको मन्दिरलाई अहिलेसम्म भारत सरकारले संरक्षण गरिरहेको छ ।

सन् १८५० मा एकवर्षे बेलायत भ्रमणपछि तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणा गुजरातको द्वारका हुँदै बनारस आएर सोही घाटमा केही दिन बसेका थिए । समुद्रपारि पुगेर आएकाले मन्दिरमा पूजाआजा गरी चोखोनितो (पतिता) भएर मात्र उनी नेपाल फर्किएको जनश्रुति छ ।

प्रतिक्रिया दिनुहोस्