काठमाडौं । सरकारले देशभरका ७५३ वटै स्थानीय तहमा कर्मचारीहरूको रिक्त दरबन्दीको माग फारम पठाउन परिपत्र गरेको छ। कर्मचारी समायोजनबाट पनि पदपूर्ति हुन नसकी पद रिक्त रही स्थानीय तहहरूमा सेवाग्राहीहरूले सेवा नपाएको गुनासो बढेको भन्दै रिक्त पदहरूको जानकारी पठाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बुधबार परिपत्र जारी गरेको हो।
विगतमा पनि कर्मचारीका लागि मागफाराम भरेर पठाएका स्थानीय तहहरूले पनि यो परिपत्र प्राप्त भएसँगै पुनः माग फाराम भरेर पठाउन पनि पत्रमा भनिएको छ। सरकारले यसअघि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारीहरूको समायोजन गरेको थियो।




















































































































































































































