बागलुङ। खानेपानी अभावले कष्ट भोगिरहेका तमानखोला गाउँपालिका–६ नर्जाका बासिन्दाका लागि अब सुखका दिन फिरेका छन् । गाग्री बोकेर घण्टौं धाउनुपर्ने बाध्यता हटेको छ । गाउँपालिकाले यहाँका घरैपिच्छे धारा पुर्याइदिएको छ । ‘एक घर एक धारा’को अवधारणाअन्तर्गत दुई वर्ष लगाएर काम सम्पन्न गरिएको हो ।
आव २०७४/७५ मा गाउँपालिकाको १५ लाख, चालू वर्ष १९ लाख र जनसहभागिताबाट ६ लाख रुपैयाँ गरी ४० लाख लागतमा धारा निर्माण सम्पन्न गरिएको गाउँपालिका प्रमुख जोकलाल बुढाले जानकारी दिए ।
पुस्तौंदेखि समस्या भोग्दै आएका स्थानीय घरमै पानी आएपछि निकै खुसी छन् । गाउँबाट पाँच सय मिटर माथि रहेको बराहकोट, महरिरेखोला मुहानबाट पानी ल्याएर नजा गाउँका १ सय १० व्यक्तिगत तथा ६ सार्वजनिक घरमा खानेपानीको सहज आपूर्ति गराइएको बराहकोट खानेपानी आयोजनाका अध्यक्ष चित्रबहादुर छन्त्यालले बताए । ‘गाउँमा भौगोलिक हिसाबले निकै टाढा–टाढा छरिएकाले पानी लिन घण्टौं हिँड्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘एक घर एक धाराले समयको बचत मात्र होइन, बचत भएको पानीबाट कृषिजन्य उत्पादन गर्नसमेत सहयोग पुर्याउँनेछ।’
खानेपानी सहज आपूर्ति हुँदा गाउँमा सिंहदरबार आएको महसुस गर्न पाएको स्थानीय जालबहादुर रसाइलीले प्रतिक्रिया दिए । त्यस्तै खानेपानी संकट भएको गाउँमा घरघरै पानी आउँदा स्थानीय दंग परेको वडाध्यक्ष कुलबहादुर छन्त्यालले बताए । उनका अनुसार बस्ती पातलो भएका कारण उनीहरूले पानी लिनै लामो समय गुजार्नुपरेको थियो ।
उक्त गाउँपालिकाका अधिकांश क्षेत्रमा खानेपानी समस्या छ । दुई वर्षभित्र सबै वडामा ‘एक घर एक धारा’ अभियानलाई प्राथमिकता दिएर अघि बढिरहेको गाउँपालिका प्रमुख बुढाले बताए । गाउँपालिकाले सडक नपुगेको स्थानमा सडक पु¥याउने, केन्द्रीय विद्युतीकरण, शिक्षा तथा स्वास्थ्यको गुणस्तरमा वृद्धि, ल्याब सेवा स्थापनाजस्ता कार्य गर्दा गाउँमा विकासको ढोका खुलेको स्थानीयले बताएका छन् । जिल्लाकै विकट तमानखोला गाउँपालिकामा जनप्रतिनिधि आइसकेपछि क्रमशः परिवर्तन भइरहेको छ ।



















































































































































































































