एजेन्सी– श्रद्धा कपुर र राजकुमार राव अभिनीत बलिउड चलचित्र ‘स्त्री’ गत वर्ष सुपरहिट साबित भयो । यो सफलतापछि निर्देशक अमर कौशिक र निर्माता दिनेश विजन यही चलचित्रको सिक्वल बनाउने तयारीमा छन् ।
स्त्री–२ अर्को वर्ष छायांकनमा जानेछ ।
यो सिक्वलमा पुरानै कलाकारलाई निरन्तरता दिइने बुझिएको छ । अहिले स्क्रिप्टमाथि काम भइरहेको छ ।
कहानी टुंगो लाग्नासाथ ‘प्री–प्रोडक्सन’ को काम थाल्ने जनाइएको छ । निर्माण पक्षका अनुसार उनीहरूलाई चलचित्र बनाउन कुनै हतारो छैन ।
सबै कलाकार आफ्नो प्रोजेक्टमा समय दिन सक्ने भएपछि मात्र काम थालिनेछ ।
चलचित्रको पहिलो भागमा राजकुमार र श्रद्धाबाहेक पंकज त्रिपाठी, अपारशक्ति खुराना और अभिषेक बेनर्जी पनि थिए ।
उनीहरू सबैको काम दर्शकले निकै रुचाएकाले निर्माण पक्षले कलाकार फेर्न नचाहेको हो ।
निर्माता विजनका अनुसार चलचित्रको अन्त्य भाग दर्शकलाई अलि कन्फ्युजिङ लागेको थियो । हरेकको मनमा अब के हुन्छ भन्ने जिज्ञासा बाँकी छँदै चलचित्र सकिन्छ ।
‘हामीले बुझेर फिल्म यसरी अन्त्य गरेका हौं ताकि सिक्वेल बनाउन सकियोस्,’ उनले भने, ‘स्त्री–२ बन्ने पहिले नै तय थियो ।’ स्त्री– २ मा श्रद्धाको भूमिका कस्तो रहने भन्नेमा उनीहरू छलफल गरिरहेका छन् ।
















































































































































































