
काठमाडौं । सरकारले २५ सय ६३ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवसको तयारी स्वरूप प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा ५ सय ६३ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । कोषका उपाध्यक्ष भिक्षु मेत्तेयको अध्यक्षतामा ११ सदस्यीय व्यवस्थापन समिति गठन गरिएको कोषको कार्यलयले जानकारी गराएको छ ।
बुद्ध जयन्ती मनाउन राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, विभिन्न मुलुकका राजदूत एवं बौद्धमार्गी एवं भिक्षुभिक्षुणीहरु लुम्बिनी आउने भएका छन् । लुम्बिनी विकास कोषका अनुसार प्रधानमन्त्री ओली बुद्धपूर्णिमा मनाउन अघिल्लो दिन नै बुद्ध जन्मस्थल लुम्बिनी आइ पुग्नुनेछन् ।
जेठ ३ गते शुक्रबार दिउँसो लुम्बिनी आउनसाथ प्रधानमन्त्री ओली कपिलवस्तु जाने भएका छन् । त्यहाँ राजा शुद्धोधनको दरबार रहेको तिलौराकोट र अन्य बुद्ध स्थलको अवलोकन गर्ने तालिका रहेकाे छ ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेयका अनुसार प्रधानमन्त्री ओलीले शुक्रबार बेलुका मायादेवी मन्दिरअघिल्तिर बसेर बुद्ध पूर्णिमा प्रार्थना र ध्यानमा बस्नेछन् । बिहान बुद्ध पूजा र शान्ति ¥यालीमा सहभागी हुनेछन् । त्यस अवसरमा भिक्षुहरुलाई चिवर दान दिने कार्यक्रम रहेको मेत्तेयले जानकारी गराए । त्यसै दिन प्रम ओलीले लुम्बिनीमा बृक्षारोपण समेत गर्नेछन् । २ हजार ६ सय ६३ वटा बिरुवा रोप्ने कार्यक्रमको शुभारम्भ पनि प्रधानमन्त्रीले गर्नेछन् ।
लुम्बिनी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईका अनुसार त्यसपछि बिहान ११ बजे मुल समारोहको कार्यक्रम संचालन हुनेछ । बुद्धपूर्णिमाकै दिनलाई लुम्बिनी दिवसको रुपमा पनि मनाउन शुरू गरिएको छ । आगामी शनिवार परेको बुद्ध पूर्णिमालाई भव्य रूपमा मनाउन लुम्बिनी विकास कोष र प्रदेश ५ सरकारले विभिन्न समिति, उपसमितिहरु गठन गरेको छ ।
यही अवसर पारेर लुम्बिनीमा सरसफाई गरिएको छ । विकास कोषका कर्मचारी तथा नेपाली सेनाले लुम्बिनी परिसरमा सरसफाई गरिरहेका छन् । लुम्बिनी वरिपरिका सडकहरु सरसफाई भैरहेको छ । बुद्ध पूर्णिमाको अवसर पारेर रुपन्देही, कपिलवस्तु र नवलपरासीका २३ वटा विद्यालयका १ सय जना विद्यार्थीहरुलाई ५–५ हजारका दरले छात्रवृत्ति वितरण गरिने भएको छ ।