१७ बैशाख २०८१, सोमबार

 

हुवावेका नयाँ फोनमा यूट्युब, जीमेल र गुगलको एप स्टोर नचल्ने

एजेन्सी । चिनियाँ कम्पनी हुवावेले उत्पादन गर्ने नयाँ मोबाइल सेटहरूमा अब जीमेल, युट्युब, गुगल म्याप लगायतका एप्सहरू नचल्ने भएका छन्।

गुगलले स्मार्ट फोन तथा टेलिकम उत्पादक कम्पनी हुवावेलाई उपलब्ध गराउँदै आएको प्राविधिक सहायता तथा सुरक्षामा कटौती गरेपछि हुवावेका नयाँ एन्ड्रोइड मोबाइल डिभाइसहरू गुगल एप्स तथा सेवा अपडेट गर्नबाट अब विश्वभर वञ्चित हुनेभएका छन्।

चिनियाँ कम्पनी हुवावे र अमेरिकाबीच पछिल्लो समयमा विवाद बढिरहेका छ। गत बुधवार अमेरिकी राष्ट्रपति ट्रम्पले हुवावेलाई कालो सूचीमा राख्ने अनुमति विना उसलाई कुनै प्रविधि बेच्न अमेरिकी कम्पनीहरूमाथि रोक लगाउने निर्णय गरेको जनाएका थिए। त्यसै निर्णयको केहि दिन लगत्तै गुगलले प्रावधिक सहायता सीमित गर्ने निर्णय गरेको हो ।

रोयटर्स समाचार संस्थाका अनुसार नयाँ हुवावे स्मार्टफोनहरू गुगलका केही सेवाबाट वञ्चित हुनेछन्।

उक्त समाचार संस्थाका अनुसार हुवावेका नयाँ स्मार्टफोनहरूले गुगलको एप स्टोर तथा उसको जीमेल जस्ता सेवामा अब पहुँच पाउने छैनन्।

तर हुवावेले अझैपनि ओपन सोर्स लाइसेन्समार्फत उपलब्ध एन्ड्रोइड अपरेटिङ सिस्टम भने प्रयोग गर्न सक्नेछ।

गुगलका प्रवक्ताका अनुसार अहिले जीमेल, युट्युब लगायतका गुगल एप्स प्रयोग गरिरहेका हुवावे फोनका प्रयोगकर्ताहरुले भने उक्त एप्सहरु प्रयोग गर्न तथा अपडेट डाउनलोड गर्न सक्ने छन्। त्यसमा कुनै वाधा हुनेछैन।

प्रवक्ताले भने “हामी अमेरिकी सरकारको निर्देशनको पालना गरिरहेका छौं र यसबाट पर्ने प्रभावको समिक्षा गरिरहेका छौं।”

प्रतिक्रिया दिनुहोस्