पृष्ठभूमि
विभिन्न ठाउँमा जन्मे–हुर्केका विभिन्न मानिसको विभिन्न कालक्रम र चरणमा विभिन्न वस्तु तथा परिवेशसँग अभिन्न आत्मीय सम्बन्ध जोडिएको हुँदो रहेछ । आजभन्दा करिब ४० देखि ५०–५२ वर्षअघि मेरा बाल्यकाल तथा किशोरकाल बितेको काठे खोला र यसको सेरोफेरोको भौगोलिक वातावरणमा रम्दाको घटनाले मजस्तै कैयन् व्यक्तिहरूलाई पारेको प्रभावसम्बन्धमा केन्द्रित हुँदै मेरो अन्तर्मनको भावना पोख्ने जमर्को गरिरहेछु ।
खोलाको नामकरण
जमिन, जल, जङ्गल, जडीबुटी जनताका लागि सञ्जीवनी हुन् । करिब ६ हजार ठूला–साना नदीनालाले सिँचेको नेपालको एउटा जिल्ला बागलुङको उत्तर–पूर्वी भूभागलाई आफ्नो फेरो बनाउँदै बगेको यो खोला साबिक धम्जा गाविसको ओखले हुँदै आएको साङ खोला, भीमापोखरा गाविसबाट झरेको अँधेरी खोला र धम्जा देउराली एवम् तङ्ग्राम गाविसको बीचबाट बगेको पौँदी खोलासँग मितेरी लगाएपछि संयुक्त नाम काठेखोला हुन गएको१ भनाइ छ ।
अर्कातिर नेपाल बाइसी–चौबीसी राजाहरूद्वारा शासित रहँदा तत्कालीन माझकोटे राजाका दाजुभाइका बीच झगडामा उक्त खोलाको कालीदह खण्डको तीरमा एक भाइ काटिएका हुँदा खोलाको नामै ‘काटे खोला’ हुँदै ‘काठेखोला’ हुन गएको२ भनाइ पनि सुन्न पाइन्छ । साथै बिहुँका एक बासिन्दाले सिगानाका राजालाई लगिदिएको दही राजाले पालेको कुकुरलाई माया गरी थोरै भाग खान दिँदा ठहरै भएपछि राजालाई मार्ने नियतसाथ विष मिलाएर ल्याएको आशंका गरी सिगानाका बासिन्दा (खास गरी अघिल्लो पुस्ताका मानिसहरू) अद्यापि बिहुँका छोरीबेटी लेनदेन गर्न मान्दैनन्, पानीसमेत बाराबार गर्छन् र कथङ्कदाचित् बिहुँमा कुनै खाने कुरा खानुपर्ने अवस्था आइपरे जमिनबाट उफ्रेर अर्थात् हावामा रहेर मात्र खाद्यवस्तु मुखमा राख्ने गरेको२/३ भनाइ सुनिन्छ ।
साथै धम्जा, भीमपोखरा र तङ्ग्रामदेखि बगेर आएको यो खोलाले बगाएर ल्याएको काठ र दाउरा दोबिल्लानेरका बासिन्दाले छोप्ने क्रममा उनीहरूले नै काठेखोला भनी नामकरण गरेको३ चर्चा पनि पाइन्छ । यो खोला दोबिल्ला बजार हुँदै सुल्डाँडा बजार र बागलुङ बजारको आसपासबाट बग्ने भएकाले यसलाई ‘काँठे खोला’ भन्दाभन्दै काठेखोला भएको हुन सक्ने केही विद्वान्को मत छ ।
खोलाका स्रोतहरू
यो खोलाको उत्पत्तिस्थलदेखि कालीगण्डकी नदीमा मिसिन पुग्ने विन्दु– वर्तमान मालढुङ्गा (पूर्व खुन्द्रुके) को तल्लो छेउसम्मको बहाव– को सामान्य आँकलन गर्दा यसले करिब १० देखि १२/१३ किलोमिटरको दूरी पार गरेको देखिन्छ । नेपालका विभिन्न खोलानालाको आकारका आधारमा वर्गीकरण गर्नुपर्दा यो मध्यम आकारको छ । बिहुँ, कादेस र लेखानीलाई सिँचित गर्दै बग्ने उनुवा खोला, सिगाना रेसबाट बग्ने जिरेदी खोला, सिगानाको सिलिखेत हुँदै बग्ने कोरीखोला र कायमारे खोला, पालाको धिमी करिना र बागलुङ नगरपालिकाको नुवारा, मूलपानीलाई दुई फ्याक पारी बगेको खहरे खोलो, तित्याङबाट बोक्से खाल्टानेर मिसिन आउने ढुङ्ग्रे खोला र तित्याङ तथा भकुन्डे गाविसलाई चिर्दै आउने रिठे खोला तथा केही झरना र सोताहरू यो खोलाको स्रोत छन् ।
खोलाको उपयोग
यो खोलाले आफ्नो सेरोफेरोका विभिन्न भूभागमा धेरथोर मात्रामा सिँचाइसेवा प्रदान गरी तत्–तत् क्षेत्रका कृषकको दिल जित्न सफल छ । आजभन्दा करिब ४० वर्षअघि कतिपय बजारबासी बागलुङेहरूको अब्बल खेतको फाँट आज एक नवीन आर्थिक महत्वको बजार बन्न पुगेको छ । नेपालमा योजनाबद्ध विकासको थालनीका साथै सम्भवतः दोस्रो, तेस्रो र चौथो पञ्चवर्षीय र त्रिवर्षीय योजनामा तत्कालीन सरकारले काठे खोलाको दोबिल्ला माथिको खण्डमा बाँध बाँधी खहरे, बोक्सेखाल्टा, सिम्ले, गहते, रुम्टा, खाल्टा खेत, सुल्डाँडा, गौँडाकोट, हाडेपाखा, बागलुङ बजारको वर्तमान महेन्द्रपथ फाँट, गुठी, रामरेखा, उपल्लाचौर, ओढारचौर, रमेटार र कुँडुलेसम्मका खेतबारीमा कुलो सिँचाइ सुविधा पुर्याउने हेतुले पटक–पटक गरी करिब २ करोडको बजेट लगानी गरेको हो तर तत्कालीन जिल्लास्तरीय नेताहरूको राजनीतिक खिचातानी र मनोमालिन्यका कारण सो योजना सफल हुन सकेन । यसरी यो खोला यहाँका सबैखाले जनतासँग समान रूपमा भिज्न चाहन्थ्यो । तर तत्कालीन जिल्लास्तरीय नेताहरूलाई यो पाच्य हुन नसक्दा नै कुलो सिँचाइको योजना सफल हुन नसकेको यहाँका पूर्वकृषकहरूको गुनासो रहँदै आएको छ ।
खानेपानी आपूर्तिमा योगदान
बागलुङ बजारमा पानीको ठूलो दुःख थियो, ४५–५० वर्षअघि । जनकविकेशरी धर्मराज थापा बागलुङमा आउनुहुँदा छहरा–पँधेरामा लाग्ने गरेको महिलाहरूको ताँती, पानीको पालोलाई लिएर एकआपसमा हुने हानाहान, चुल्ठो तानातानले उहाँलाई शोकाग्निमा होम्यो र ‘बागलुङको बजार, पँधेर्नीलाई दुःख हजार’ भन्ने लोकगीत सिर्जना गरी नारायणचोकको चौतारीमा गाइदिनुहुँदा सबै महिलाको ओठमा यो गीत झुन्डिएको थियो । छहरा–पँधेरामा पँधेर्नीहरूको लामो लर्कोबाट हायलकायल भएका पुरुषहरू र झै–झगडाभन्दा टाढै बस्न रुचाउने केही महिला भने हिउँद तथा गर्मी महिनामा यही खोलामा पुगी पानी बोक्ने गर्थे । यसरी पानी बोक्नेमा म आफैँ पनि अछुतो थिइनँ । यस प्रकार यो खोलाले अप्ठ्यारो र गाह्रो–साँघुरो पर्दाका घडीमा विभिन्न तबरबाट ऊर्जा दिएका घटना मेरो मस्तिष्कमा तरोताजा छन् ।
काठेखोलाको लुगा धुनेमा झर्नका लागि जाने बाटो पहिला अन्यन्त कठिन थियो । बजारमा पानीको समस्या रहेकाले नुहाउन तथा लुगा धुन काठेखोला नै सबैको भर थियो । त्यहाँ ओर्लिन र उक्लिनमा उत्पन्न कठिनाइ हटाउन समाजसेवी ओमप्रसाद गौचनको ध्यान आकृष्ट भयो । उहाँले आफ्नै पहलमा लुगा धुनेमा झर्नका लागि सिँढी निर्माण गरिदिनुभएपछि महिला, पुरुष, किशोर, युवा, प्रौढ सबैलाई सजिलो भयो । समाजसेवामा दत्तचित्त गौचनज्यूले लुगा धुनेदेखि थोरै माथि पौवासाथै गहुँ, मकै, कोदो पिस्ने पानीघट्टसमेत निर्माण गरिदिनुभयो । छहरा–पँधेरामा आएको बाढीपहिरोका कारण घट्ट धेरै अघि नै बगाएको हुँदा त्यसको अस्तित्व नामेट हुन पुगेको छ भने पौवाले उचित संरक्षण पर्खिरहेको छ ।
विद्युतीय प्रयोगमा काठेखोला
विद्युतीय सुविधाका दृष्टिबाट भन्नुपर्दा बागलुङ बजार २०३७/०३८ सम्म पनि अँध्यारो बजार थियो किनकि यहाँ राष्ट्रिय विद्युत प्रसारण केन्द्रद्वारा वितरित १३२ केभी लाइनको विद्युतीय सुविधा थिएन । सम्भवतः २०३५/०३६ तिर तत्कालीन सरकारले यो खोलामा लघु जलविद्युत् आयोजना सञ्चालन गरी १७५ किलोवाट क्षमता (वास्तविक उत्पादन क्षमता ७५ किवा) को जलविद्युत् निकालेर बजार उज्यालो बनाउने योजना अघि सार्यो। वि. संं. २०३८/०३९ तिर योजना सम्पन्न भएपछि बागलुङ बजारले काँचुली फेर्न पाएको अनुभूति गर्यो ।
यसको मिठासपूर्ण सुशीतल जलले नेरोघेरोका कतिपय बासिन्दालाई अविच्छिन्न रूपमा खानेपानीको जोहो मिलाइदिँदा तत्–तत् स्थानका महिलालाई सन्तोषको सास फेर्ने अवसर प्रदान गरेको छ । त्यस्तै यो खोलाको सङ्लो पानीमा सयर मार्नेे असला, बाम, काप्रे र कतलेजस्ता स्वादिला माछाले पारखीहरूलाई कुतकुत्याउने गरेको कुरा यहाँ चर्चा गर्नु असान्दर्भिक ठान्दिनँ । वर्षायाममा काठेखोलाले आसपासका गोठ र छाप्रा बगाई तल्लो क्षेत्रका बासिन्दालाई एकाध महिनाका लागि दाउराको आपूर्ति गर्ने गथ्र्यो ।
विसं २००७ को राजनीतिक परिवर्तनले सीमित नारीहरूमा चेतनाको लहर पैदा ग¥यो । यो लहरलाई देशको शैक्षिक जागरणले थप ऊर्जा दियो र पिछडिएका नारीहरू पातलै रूपमा भए पनि विभिन्न वर्गीय संगठनमा आबद्ध हुन थालेको छनक देखा नपरेको होइन । २०४६ सालमा पुनःस्थापित सीमित प्रजातान्त्रिक शासनपद्धतिपश्चात् यहाँका नारीहरू विभिन्न राजनीतिक दल र जनवर्गीय संगठनको छातामुनि गोलबन्द हुन पुगे ।
तर काठेखोलाको लुगा धुनेमा राणाकालका साथै पञ्चायतकालमा समेत बागलुङ नगरीलगायत यसको नेरोघेरोका बासिन्दा अन्य नजिकका तीरहरूमा प्रायः शनिबार जमघट हुने अघोषित वातावरण सिर्जना गथ्र्यो जुन आजभोलि विभिन्न दल वा संगठन वा संघसंस्थाले आयोजना गर्ने सानोतिनो सभा–सम्मेलनभन्दा कत्ति पनि कम थिएन; जुन अति स्वच्छ, शुद्ध र स्निग्ध रहन्थ्यो; तर राजनीतिक दृष्टिले पूर्णतया बेखबर, पूर्णतया शून्य । त्यसो त कुनै सचेत नारीले यो भेटघाटलाई चेतना जगाउने माध्यमका रूपमा प्रयोग गरेको हुन सक्ने पक्ष नकार्न नमिल्ला किनकि कतिपय भूमिगत पुरुष राजनीतिकर्मीहरू नुहाउने, लुगा धुने र वनभोजमा रमाउने नाममा यसका कुना–काप्चा, कन्दरा र ढाँडखोरहरूलाई छुट्टै राजनीतिक भेटघाट, मुद्दासम्बन्धी छलफलको माध्यमका रूपमा पनि प्रयोग गर्थे ।
खोलाले धारण गर्ने प्रचण्ड रूप
हिउँदका बेला सानो लाग्ने यो खोलाले बर्खाका बेला उग्र रूप धारण गथ्र्यो । हरेक बर्खामा यसले शिरतिरका छेउछाउका छाप्रा बढारेर ल्याउँदा यसको सतहमा सोतर परेका काठ, दाउरा र ठूला–साना माछासमेतको जुलुसजस्तो लाग्ने भलबाढीको दृश्य अत्यन्त भयावहसाथै कहिलेकाहीँ रोमाञ्चक पनि हुने गथ्र्यो । यो दृश्यावलोकन गर्न कम्पुटोलमा रहेको चौतारीमा बजारबासीको लस्कर लाग्थ्यो ।
त्यो जुलुसरूपी भलबाढीका काठ, दाउरा र माछा छोप्न वा तिनलाई तितरबितर पार्न माहिर खेलाडी व्यक्तित्वहरू तीरमा पुगी उपलब्ध मौका छोप्न पछि पर्दैनथे । हामी भने स–साना दाउराका झ्याँक्राहरू समेली कहिले डोकोमा त कहिले तीरमा भएका लहराले बाँधेर घर ल्याउँथ्यौँ । यो खोलामा बर्खामा आएको भलबाढीका कारण यसका विभिन्न भागहरू– मक्करे, चर्के ढाँड, लुगा धुनेलगायत क्षेत्रमा ल्याउने गरेको भौगर्भिक उथलपुथलले पानीमा रहेको अजेय शक्तिसम्बन्धी छुट्टै ज्ञानको अनुसञ्चार हुनुका साथै वर्षात्ले सिर्जेका विभिन्न स्थानका दह, मिहिनमा डुबुल्की मार्न पाउँदा पौडीप्रेमीहरूको मन अत्यन्त रोमाञ्चित भई रमाउँथ्यो ।
काठेखोलाको सेरोफेरोमा मेरो बाल्यकाल
म ६/७ वर्षको छँदा यो खोलाको लुगा धुने र चर्के ढाँडको केही माथिल्लो भूभागमा पर्ने कैलामपोखरी र त्यसैको छेउमा निर्मित तामा/पित्तलको गाईमुखे आनन्द धारामा दिनदिनै नुहाउन जाने गर्थें– मामा बालकृष्ण श्रेष्ठ ‘नेभा’का साथ । हिउँदमा नुहाइसकेपछिको जाडोलाई भगाउन मामा मलाई कैलामपोखरीको चौतारी र पोखरी खण्डको छेउछाउको गोरेटोमा २/३ चक्कर दौड लगाउन भन्नुहुन्थ्यो– शारीरिक रूपमा ‘वार्मअप’ गराउन योे प्रभावकारी माध्यम थियो ।
फागुनको आधा–आधीदेखि जेठसम्म खोलाको चिसोपन घट्ने र पानी सफा रहने भएकाले काठे खोलामै गएर नुहाउने गरिन्थ्यो । हरेक दिन बिहान नुहाउने बानी परेकाले गर्मीका बेला करिब पाँच–साढे पाँच बजे त हिउँदमा करिब साढे छ, सात बजे खोलाको चिसो पानीको स्पर्शबाट आनन्द लिन चुक्दैनथ्यौँ । यसले हामीलाई शारीरिक रूपमा दिनभरिका लागि छुट्टै किसिमको ऊर्जा प्रवाह गरी हर किसिमको काममा क्रियाशील र पठनपाठनमा समेत जागरूक रहन उत्प्रेरित गथ्र्यो । दिनहुँ बिहान खोलाबाट नुहाएर फर्किने क्रममा आफुले सक्दो ढुङ्गा बोकेर ल्याउने कार्य शारीरिक श्रमलाई सम्मान गर्ने हाम्रो दिनचर्याको एउटा गौण पाटो थियोे ।
अविस्मरणीय घटना
मेरा बाल्यकाल र किशोरकाल बितेको काठेखोला र यसको वरपर भएका केही घटना मेरा लागि अविस्मरणीय र ऊर्जाशील छन् । ती दिन ठेट रूपमा यही साल, महिना, दिन र बार भनेर यकिन त छैन तर ती घटना मथिङ्गलमा ताजै छन् । त्यसमध्येको एउटा अविस्मरणीय घटनालाई यहाँ उल्लेख गर्न चाहन्छु । म करिब ९–१० वर्षको छँदाको कुरा हो– मलाई पौडी खेल्न आउँदैनथ्यो । काठे खोला र लुगा धुने क्षेत्र चहार्नु हाम्रो दिनचर्याजस्तो थियो । एक दिन लुगा धुने क्षेत्रभन्दा थोरै माथि जँघार तर्ने गरेको ठाउँबाट फर्किने क्रममा पानीभित्र करिब एक कदमबराबरको दूरीमा रहेका दुई ठूला ढुङ्गाबीचको काप जुन साढे चार फिटदेखि पाँच फिटसम्म उचाइका बालबालिकालाई डुबाउने किसिमको थियो, संयोगवश मेरो एउटा खुट्टाले त्यो काप नाघेर अर्को ढुङ्गामाथि टेक्न खोज्दा गहिराइको खण्डमा पर्न गई म डुब्न पुगेँ । पानीको बहावले मलाई तलतिरको ठूलो जब्रे ढुङ्गासम्म हुत्याइदियो ।
भाग्यवश मेरो हातले त्यो जब्रे ढुङ्गालाई समात्न पुगेछ र त्यसैलाई बलियोसँग पक्रेर आधा शरीर पानीको सतहमा उतार्न सफल भएँ । तर म भने ‘तातो गाँस निल्नु न ओकल्नु’ भनेजस्तै पौडी खेल्न नजानेका कारण पानीमा हाम्फाल्न पनि मेरो लागि कठिन थियो भने त्यो जब्रे ढुङ्गाबाट उक्लेर बाहिर निक्लन मिल्ने अवस्था पनि त्यहाँनेर थिएन । त्यस्तो स्थितिमा म अत्तालिएर उत्तानो मुख पानीमाथि फाल हाल्न पुग्छु, जँघार तर्ने प्वाइन्ट भेट्ने आशाले । त्यो प्वाइन्ट भेट्न मलाई कठिन भयो । तर कताकता मलाई पानीभित्र डुबेरै हातखुट्टा चाल्ने अक्कल सुझेछ र ज्यान जोगाई पानीबाहिर उत्रन पुगेछु ।
सामान्य भनाइ छ, ‘अगुल्टोले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ ।’ तर मेरो हकमा यो घटनापछि खोलामा जाने, जानी–नजानी डुबेरै भए पनि अथवा टाउको पानीको सतहमा ननिकाली अन्धाधुन्ध पौडी खेल्ने लहड छुट्न थाल्यो । उमेर चढ्दै जाँदा वर्षायामका बेला पनि मक्करेमा मेरा अग्रज दाजुहरू शत्रुघ्न श्रेष्ठ र माधवप्रसाद श्रेष्ठका साथ डुबेरै वारपार गर्ने गर्थें किनकि पौडीका क्रममा उहाँहरू एक जना मेरो अगाडि र एक जना पछाडि रही सुरक्षाकवचको भूमिका निर्वाह गर्नुहुन्थ्यो । उहाँहरूबाट भएको यो अभूतपूर्व सहयोगले मलाई क्रमिक रूपमा टाउको बाहिर निकाली पौडी खेल्न सक्ने सीप विकास गर्न अत्यन्त सहज हुँदै गयो । तसर्थ यो सीप प्राप्तिमा उहाँहरूले खेल्नुभएको अहम् भूमिका कदापि बिर्सन सक्दिनँ ।
चर्के ढाँडमुनिको सानो दहमा माछा मार्न खोज्दा
बागलुङ बजारमा अहिले घरघरमा खानेपानी सुविधा भएपछि धेरैजसो महिला, पुरूष घर–घरमै नुहाइ–धुवाइ गर्न थालेका छन् । तर आजभन्दा ३५/३६ वर्षअघि पानीको असुविधाका कारण बजारका धेरैजसो मानिस काठे खोलाको शरण नपरी हुँदैनथ्यो ।
बागलुङ बजारको पुरानो बजार क्षेत्र (कम्पु टोल, देउराली चोक, नयाँ बजार, नौबीसे टोल, बुद्ध चोक, किनारा टोल, माझकोट टोल आदि) का साथै गुठीका धेरैजसो युवा तथा प्रौढहरू काठे खोलाका विभिन्न स्थानमा नुहाउन, पौडी सिक्न तथा पौडीको मजा लिन र बिदाका दिन ‘एक पन्थ दो काज’ हुने हिसाबले माछा मार्न पनि जान्थे । त्यतिखेर म देउराली चोकस्थित बालसखा सुयशप्रसाद श्रेष्ठको घरमा भाडामा बस्थेँ । विद्यार्थीकाल अत्यन्त रमाइलो हुन्छ । न कुनै शोक छ न कुनै सुर्ता । आफ्नै मनका राजा । त्यसैले होला म कक्षा नौमा अध्ययन गर्दै गर्दा एक शनिबार बिहान करिब १० बजे बालसखा एवम् सहपाठी सुयशप्रसाद श्रेष्ठ, ओमनारायण श्रेष्ठ र अशोककुमार प्रधानका साथ काठे खोलातिर लागेँ । विद्यार्थीजीवनका यी साथीमध्ये सुयशजी पोखरामा रम्न पुग्नुभएको छ भने अशोकजी भरतपुरमा । ओमनारायणजी र म भने आफ्नै जन्मभूमिलाई कर्मथलो बनाइरहेछौँ ।
खोलामा पुगेपछि चर्के ढाँडमुनिको सानो दहमा धेरै माछा खेलिरहेका देख्यौँ । हामीले त्यहीँनिर माछा मार्ने सल्लाह गर्यौँ । कसैले माटो खन्ने, कसैले माटो बोक्ने, कसैले ढुङ्गाको बाँध मिलाउने र त्यो दहमा जाने पानीको स्रोत थुन्ने कामको बाँडफाँट गर्यौँ । आफू सधैँ खाइखेलेको ठाउँ भएकाले होला, त्यो अँध्यारो कोप्चोमा रहेको ढाँडमा त्यस किसिमले काम गर्न हामीलाई कुनै भय लागेन । पानीको स्रोत करिबकरिब बन्द भएपछि त्यो दहबाट निक्लने पानीको बाटोमा पनि त्यसभित्रका माछा भाग्न नपाउन् भन्ने ध्येयले थोरै बाँध लगाई एउटा मझौला आकारको कुनेलो थाप्यौं ।
पानीभित्र रहेका माछालाई आफ्नो बनाउन माछाको आँखालाई प्रभावित गर्ने एक किसिमको विष खिर्रा काटेर ल्यायौं र थिच्दै दहमा राख्दै ग¥यौँ । अब हामी सबैले करिब एकेक धार्नी माछा लान पाउने भयौँ भनी मक्ख भयौँ । तर करिब दिनको तीन–साढे तीन बजेतिर हामीले खिर्राको डालाहरू थिच्दै गरेको ठाउँनिर एउटा अनौठो जीव देखा पर्यो । त्यसको मुख च्याप्टो आकारको थियो । मसिना दाँत र खुट्टाहरू थिए । माछा त हुँदै होइन । न बाम माछा थियो न सर्प । त्यस किसिमको जीव म मुम्बई घुम्न जाँदा त्यहाँको एउटा प्रसिद्ध कृत्रिम माछापोखरी ‘तारापोरेवाला फिस अक्वाय्रियम’ मा पनि देखिनँ । त्यो जीवले टाउकोको एक चौथाइ भाग मात्र निकाली मुख बाउँदै केके सङ्केत गरिरहेको हामीलाई लाग्यो ।
केही समयसम्म त्यसो गरिरहँदा हामीमाथि आक्रमण गर्ने त होइन भन्ने आशङ्का पनि भयो र त्यस्तो भइहालेमा हामीसँग रहेको कोदालोले प्रतिकार गर्ने सल्लाह पनि ग¥यौँ । हामी साना थियौँ र थोरै थियौं तर एकता बलियो थियो । यही सङ्केत पाएर होला, त्यो जीव करिब १५÷२० मिनेटपछि हाम्रो सामुन्नेबाट ओझेल प¥यो । अब खिर्राको विषका कारण आँखा तिलमिलाएका माछा पानीको सतहमाथि तैरिनेछन् र तिनलाई कुनेलोमा सजिलै छोप्न पाउनेछौँ भन्ने सपनामा रमाइरहेका हामी त्यो जीवको आगमन र प्रत्यागमनसँगै एउटा मात्र माछाको पनि चाल देख्न नपाउँदा अँध्यारिँदै रित्तै हात घर फर्कियौँ ।
काठेखोलासँगको आत्मीयता
यो खोलाको सेरोफेरोका सबै बालबालिका, युवा र अधबैँसेहरूमा आजभन्दा करिब १५/२० वर्षअघिसम्म एउटा छुट्टै अपनत्व र सन्निकटताको भावना पैदा गराउनमा यो कहिल्यै पछि परेन । हामी बागलुङदेखि पूर्व वा दक्षिण कतै टाढा गई फर्कंदा वर्तमान मालढुङ्गा (पूर्व खुन्द्रुके) नेरको दोभाननेर वा माइडाँडामुनिको पुलनेर आइपुग्दा यो खोलाको पानीको स्पर्शले हामी पूर्ण रूपमा द्रवीभूत हुन्थ्यौं, हामीलाई आफ्नो घरकै पिँढीमा टेकेको भान हुन्थ्यो भने त्यहाँ कलकलाइरहेको सङ्लो पानीको रसास्वादनले लामो बाटोको हिँडाइले सिर्जेको गर्हौँ मन याने थकान पनि पूर्णतया मेटिएको अनुभूति हुन्थ्यो ।
अहिले त बागलुङ बजार र यसको सेरोफेरो सडक यातायातबाट सौविध्य क्षेत्र बनेको हुँदा पहिलाजस्तो पैदल हिँडिरहनुपर्ने स्थिति रहेन । त्यसैले यी कुरा कथाजस्तो लाग्न सक्छ । यो खोलाको असला माछा निकै स्वादिलोमा गनिन्छ । यसबारे डा. तेजकुमार श्रेष्ठले गहन अध्ययन गरी विद्यावारिधि उपाधिसमेत ग्रहण गरिसक्नुभएको छ । तर केही वर्षअघि खोलामा विस्फोटक पदार्थ र बिजुलीको करेन्ट प्रयोगका कारण ती माछा र अन्य दुर्लभ जलचर र आसपास बाँचेका स्थलचरसमेत लोप भएको अवस्था छ । मलाई अझ अर्को ठूलो चिन्ता लागेर आउने गर्छ कि कतै यो खोलाले पनि भोलि काठमाडौँको बागमती र विष्णुमती नदीको जस्तो नियति भोग्नुपर्ने त होइन ! यो सम्बद्ध सबै तह र तप्काका सरोकारवालाले गम्भीरतापूर्वक सोच्नुपर्छ । यसको स्वच्छताको रक्षा तथा निरन्तर बहावका लागि पनि हामी सबैले आवाज उठाउनुपर्ने हो कि ? आज पनि विविध वनस्पतिले सिँगारिएको यो खोलाको तीर, यसले ठाउँ–ठाउँमा बनाएको भङ्गालो, ढाँडखोर, बगर, समथर भाग, दह आदि सबै उमेर र क्षेत्रका व्यक्तिहरूका लागि अझ भनौँ कवि, लेखक तथा कलाकर्मी र पौडीबाजहरूका लागि प्रेरणास्रोत र जीवनदाता रहँदै आएको छ ।
मलाई लाग्छ, यसको ऊर्जाशीलता र शक्ति शब्दमा वर्णन गर्न सम्भव छैन । यसको दुवै किनारमा सजिवन, सिमली वा अन्य कुनै वनस्पति लगाउन सके यो क्षेत्र पर्यावरणीय दृष्टिकोणबाट आकर्षक बन्नेछ । विभिन्न जलचर, स्थलचर र वन्यजन्तु तथा पक्षीहरूका लागि महत्वपूर्ण क्रीडास्थल हुनेछ । यसले स्थानीय जनमानसलाई आर्थिक रूपमा पनि यथोचित टेवा पुर्याई थप ऊर्जाशील बन्न सक्ने दिशातर्फ हाम्रो ध्यान केन्द्रित गर्न ढिला भइसकेको त होइन ?
नोट : १. भीमसेन उमाविका प्राचार्य टीकाराम सापकोटासँग कुराकानीका आधारमा २. अधिवक्ता काजी गाउँले श्रेष्ठसँग कुराकानीका आधारमा ३. लक्ष्मी खड्कासँग कुराकानीका आधारमा (जनमत पूर्णाङ्क १७७ (वैशाख २०६९) तथा यस आलेखका लेखकको प्रकाशित कृति ‘प्रतिविम्बित अनुभूतिहरू’बाट संशोधनसहित साभार)



















































































































































































































