२५ बैशाख २०८१, मंगलवार

 

कोरिया जान १० हजार सिट, ८४ हजारले दिए परीक्षा

- भाषा सिक्न मात्रै वर्षमा सवा नौ अर्ब, यो पैसाले हरेक वर्ष ४५ मेगावाटको विद्युत् आयोजना बन्न सक्छ, स्वदेशमै रोजगारी र मुनाफा आउन सक्छ, तर सोचिदिने कसले ?

रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत रोजगारीका लागि दक्षिण कोरिया जान यस वर्ष ८४ हजार दुई सय १४ जना युवा भाषा परीक्षामा सहभागी भएका छन् । शनिबार र आइतबार काठमाडौंका २१, ललितपुरका सात र पोखराका चार गरी ३२ केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।  सन् २०२० मा कोरिया जान गत चैतमा ९२ हजार तीन सय ५६ जनाले आवेदन परीक्षाका लागि आवेदन दिएका थिए ।

तीमध्ये उत्पादनमूलक क्षेत्रमा ६३ हजार तीन सय ७० जना र कृषि तथा पशुपालन क्षेत्रका लागि २८ हजार आठ सय ३४ जनाले आवेदन दिएका थिए । आवेदन दिनेमध्ये आठ हजार एक सय ४१ जना भने अनुपस्थित रहेको वैदेशिक रोजगार विभागको इपिएस शाखाले जनाएको छ ।

कोरियाको मानव संसाधन विभागका महानिर्देशकको नेतृत्वमा ९७ जनाको टोली परीक्षा सञ्चालन गर्न नेपाल आएको छ । जसमध्ये ७२ जनाले काठमाडौं तथा ललितपुरमा र बाँकी २५ जनाले पोखरामा परीक्षा सञ्चालन गरेका थिए । वैदेशिक रोजगार विभागको इपिएस शाखाले परीक्षाको सहजीकरण गरेको थियो । दुई दिनमा अर्काको नाममा परीक्षा दिएको आरोपमा एक सय ५६ जना कारबाहीमा परेका छन् ।

भाषा परीक्षाका लागि उत्पादनमूलक क्षेत्रको पूर्णांक सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ ९० पूर्णांकको परीक्षा लिइएको हो । जसमा सुनाइ र पढाइमा २०÷२० गरी ४० प्रश्न समावेश गरिएको थियो । उत्पादनमूलक क्षेत्रतर्फ ४७ दशमलव पाँच र कृषि तथा पशुपालनतर्फ ३६ अंक ल्याउनेमध्ये उच्च अंक प्राप्त गर्नेबाट भाषा परीक्षामा उत्तीर्ण छनोट गरिने इपिएस शाखाका निर्देशक कृष्ण खनालले जानकारी दिए ।

भाषा परीक्षामा पास हुँदैमा कोरिया जान पाउने ग्यारेन्टी भने नहुने इपिएस शाखाले स्पष्ट पारेको छ । त्यसका लागि सीप परीक्षा अनिवार्य रूपमा पास हुनुका साथै रोजगारदाता छनोटमा समेत पर्नुपर्ने निर्देशक खनाल बताउँछन् । भाषा परीक्षा पास गरेको दुई वर्षसम्म जाने सम्भावना भने रहन्छ । १८ देखि ३९ वर्षसम्मका युवाले इपिएस प्रणालीमार्फत कोरिया जान आवेदन दिन सक्ने व्यवस्था छ । सन् २००७ मा नेपाल सरकार र कोरिया सरकारबीच भएको द्वीपक्षीय सम्झौताका आधारमा सन् २००८ देखि इपिएस प्रणालीमार्फत नेपाली युवा कामका लागि कोरिया जान थालेका हुन् ।

यस वर्षदेखि कोरिया जान कामदारले भाषाका अलावा सीप परीक्षामा समेत सहभागी हुनुपर्नेछ । उत्पादनमूलक क्षेत्रतर्फ सय पूर्णांकको भाषा परीक्षाबाहेक सय पूर्णांककै सीप परीक्षा हुनेछ । कृषि तथा पशुपालन क्षेत्रतर्फ ९० अंकको भाषा र एक सय १० पूर्णांकको सीप परीक्षा लिइनेछ । यसरी समग्रमा यस वर्षको इपिएस परीक्षा दुई सय पूर्णांकको हुनेछ ।

रोजगारीका लागि कोरिया जाने सपना बोकेका बेरोजगार नेपाली युवाले भाषा सिक्न मात्रै वर्षमा नौ अर्ब रुपैयाँ खर्च गर्छन् । काठमाडौं उपत्यका, पोखरालगायत ठूला सहरमा भाषा सिकाउने इन्स्टिच्युटहरू सञ्चालनमा छन् । त्यस्ता इन्स्टिच्युटले एकजना युवाबाट एक वर्षको कोर्स पढाएबापत औसत २० हजार रुपैयाँ लिन्छन् । यस हिसाबले ९२ हजार आवेदकबाट एक अर्ब ८५ करोड रुपैयाँ उठाउँछन् । यस्तै, भाषा कक्षाका लागि सहरमा बस्न, भाडा तिर्न र घरबाट आवत–जावत गर्न उनीहरूलाई कम्तीमा एक वर्षमा ८० हजार रुपैयाँ लाग्छ ।

यसरी सहर बसाइ, यातायात र भाषा कक्षाबापत उनीहरूले कम्तीमा एक लाख खर्च गर्नुपर्छ । यसपालिको हिसाब गर्दा पनि ९२ हजार युवाका लागि एक लाख रुपैयाँका दरले नौ अर्ब २० करोड खर्च भएको छ । तर, यसरी खर्च गर्नेमध्ये १० प्रतिशत अर्थात् नौ हजारले मात्र कोरियाको रोजगारी पाउनेछन् । ८० हजार युवा निराश हुनुपर्नेछ ।

तर, उनीहरूका लागि खर्च भएको नौ अर्ब २० करोड रुपैयाँ संगठित रूपमा खर्च गर्ने हो भने वर्षमा ४५ मेगावाटको विद्युत् आयोजना बन्न सक्छ । यस्ता आयोजनाले युवालाई रोजगारी मात्र होइन, लगानीकर्तालाई वार्षिक रूपमा उन्नत आम्दानी हुन सक्छ । तर, यो विषयमा सोच्ने कसले ?

(आजको नयाँ पत्रीका दैनिकबाट)

 

प्रतिक्रिया दिनुहोस्