१० कार्तिक २०८३, सोमबार

 

यौनको सहज उपलब्धताले दाम्पत्य कमजोर

आधुनिकतम भनिने पश्चिमी समाजमा पनि विवाहलाई आजीवन संरक्षणीय विषयकै रूपमा स्विकारिन्छ । त्यहाँ वैवाहिक सम्बन्ध छिट्टै टुट्छन् तर विवाहपूर्व दुवै पक्षले यो सम्बन्ध आजीवन नटुटोस् भन्ने नै चाहेका हुन्छन् । यौन उदारता अपनाउने समाजमा यस्तो सम्बन्ध टुट्नुमा अनेक कारण हामी अनुमान गर्न सक्छौँ । दिमागी क्षमताले नभ्याउने कारण पनि हुन सक्छन् । विभिन्न आधुनिक ध्यान–धारणाले बहकिएका र प्रेम एवं घृणाका साँघुरा सोचाइमा प्रशिक्षित हाम्रा मस्तिष्क प्रेमपूर्ण र दिगो सम्बन्ध बनाउन चाहेर पनि वैवाहिक सम्बन्ध किन टुटेका होलान् भन्ने वास्तविकता बुझ्न असमर्थ छन् ।

हामीले कुनै गलत र भेदभावपूर्ण निर्णय गर्दै वैवाहिक सम्बन्ध विच्छेद गर्‍यौं भने अनेकौं समस्या भोग्नुपर्ने हुन्छ । कल्पना पनि गर्न नसकिने पीडादायी घटना सामना गर्नुपर्ने हुन्छ । भगवानलाई धन्यवाद दिनैपर्छ किनकि हामीले दैनन्दिन जीवनमा गरेका राम्रा–नराम्रा कर्मका आधारमा उहाँले हामीलाई समय–समयमा पुरस्कृत र दण्डित पनि गर्नुहुन्छ ।

प्रकृतिमा रहेका सबै प्राणीमा यो विधान समान रूपले लागू हुन्छ । प्रकृतिको विधान बुझ्ने व्यक्तिहरू आफूलाई सच्याउने प्रयास गरेर दीर्घकालीन सुख–शान्ति प्राप्त गर्छन् । त्यसै गरी प्रकृतिका विधानको उपेक्षा गर्नेहरू दुःख र चिन्ताको सागरमा डुब्छन् । आफू पनि दुःख पाउँछन् र आगामी पुस्तालाई पनि दुःख हस्तान्तरण गरिरहेका हुन्छन् ।

बेलायत–अमेरिकाबाट सँगै प्रकाशित हुने ‘द गार्जियन’ पत्रिकाको हालैको एउटा विचारोत्तेजक लेखले मेरो ध्यान तान्यो । अमेरिका, मिसिगनकी लेखिका रोज ह्याकम्यान ‘Is marriage really on the decline because of men’s cheap access to sex’  शीर्षक लेखमा आजको समाजमा पति–पत्नीबीच देखापरेका ज्वलन्त समस्या पस्किँदै प्रश्न तेस्र्याउँछिन्– समाजमा यौनको सहज उपलब्धताले विवाह नामक पवित्र परम्पराकै मर्यादा भंग त गरेको छैन? यस विषयमा देखाएको गम्भीर चासोका निम्ति रोजको प्रशंसा गर्नैपर्छ । उनले आफ्नो लेखमा बढ्दो असफल वैवाहिक सम्बन्धलाई लिएर चासो र चिन्ता व्यक्त गरेकी छिन् ।

उनले अत्यन्तै तर्कपूर्ण तरिकाले लेखका केही तत्वहरूको व्याख्या गर्दै तिनको समाधान पनि निकाल्ने प्रयास गरेकी छिन् । टेक्ससस्थित मार्क रेग्नेरस नामका प्रसिद्ध समाजशास्त्रीको उक्ति उद्धृत गर्दै उनी भन्छिन्, ‘पैसा खर्च नगरीकन मुक्त रूपमै दुध पाउन थालियो भने गाई कसले किन्छ र?’

यौन–स्वतन्त्रता र स्वच्छन्दताको वकालत गर्ने उत्तर आधुनिकतावादीहरूले जतिसुकै तर्क पेस गरे पनि समाजले सभ्यता र संस्कृतिका विकासमा आजको उचाइ छुनुको एउटा मुख्य कारण मानवको अनुशासित वैवाहिक जीवन पनि हो । दिगो र सुरक्षित वैवाहिक सम्बन्धले पति–पत्नीबीचको प्रेमलाई प्रगाढ बनाउँछ ।

सन्तानको भविष्य सुरक्षित र उज्ज्वल पार्छ । नैतिकतापूर्ण समाज निर्माण गर्छ । मानिस प्रकृतिका अरू प्राणीभन्दा अलग हो र ऊ जीवश्रेष्ठ हुनुमा यौन–अनुशासनले पनि अवदान पुर्‍याएको छ भन्ने कसले अस्वीकार गर्ला? सुख–शान्ति र आनन्दमय समाज निर्माणमा अनुशासित जीवनशैलीले कति सघाउँछ भन्ने कुरा संस्कृत र सभ्य समाजलाई सम्झाइरहन पर्दैन ।

दार्शनिकहरू भन्ने गर्छन्– कुनै पनि उपयोगी वस्तुको मूल्य तब मात्र हुन्छ जब त्यो कष्टोपार्जित हुन्छ । कुनै वस्तु, विद्या, विचार आदि दुर्लभ छ भने त्यसलाई पाउन हाम्रो मन असाध्यै तड्पिन्छ । तर सर्वत्र उपलब्ध हुन थाले मूल्यवान् वस्तुले पनि आफ्नो मूल्य र आकर्षण गुमाउन पुग्छ । पश्चिमी समाजमा संक्रामक भएर फैलिएको नग्नता, उच्छृंखलता, सहज यौनाचारले निम्त्याएको पारिवारिक विचलन, असफल वैवाहिक सम्बन्ध र संकटले आजसम्म प्रगाढ सामाजिक र पारिवारिक सम्बन्ध भएको हाम्रो समाजलाई पनि प्रभावित पार्न थालिसक्यो भन्ने छर्लंग छ ।

यो लेखमा घट्दो अनुराग र नग्नताको छताछुल्ल प्रदर्शनले पति–पत्नी सम्बन्धमा आएको अस्थिरता अथवा विचलन, यौन आकर्षणमा क्षीणता आदिले ल्याएको पारिवारिक र सामाजिक अव्यवस्था, अनाशक्ति आदिका सम्बन्धमा स्पष्ट पार्न खोजिएको छ । विशेष गरी पति–पत्नीबीचको प्रेम र आकर्षणमा आउन थालेको कमीको चर्चा, उनीहरूबीच यसरी क्षीण हुँदै गएको यो बन्धनको कारण समाजमा व्याप्त उत्ताउलोपन हो भन्ने आरोप लाग्ने गरेको देखिन्छ ।

कुनै विद्वानले वर्तमान सामाजिक वातावरणको अध्ययन गर्दै भनेका छन्– ‘सञ्चार–माध्यममा यौन विषयक खुला चर्चा, विज्ञापन, पत्रिका, संगीत, चलचित्र, सिरियल मात्र होइन, समाजमा जागरण ल्याउने र सकारात्मक सूचना प्रवाहित गर्ने जिम्मेवारी बोकेका अखबार र समाचार च्यानलहरूले पनि अनावश्यक रूपमा गरेको यौनताको खुला प्रदर्शन, चर्चा र होहल्लाले सामाजिक विकृति मात्र फैलाउँदै छ । छाडापन बढ्दै छ र प्रेमी–प्रेमिका, पति–पत्नीबीच आउनुपर्ने आकर्षण शक्तिमा ह्रास आउँदै छ । विषयको गोप्यता नै नभएपछि विपरीतलिंगीलाई आकर्षित गर्ने विधि र निधि नै अब के रह्यो र?

दम्पतीमा आजीवन रहिरहने प्रेम, मोहकता र आकर्षणशक्तिमा आएको क्षीणता र प्रभावहीनताले परिवार र समाजमा समस्या निम्त्याइरहेको छ । क्षमताहीन यो अवस्थालाई विज्ञानले ‘स्याचुरेसन’ भन्ने गर्छ । यो अवस्थामा ग्रहणशक्तिको अभाव देखा पर्छ । एउटा सुक्खा कपासले जलीय तत्व सजिलै शोषण गर्न सक्छ तर भिजेको कपासले सक्दैन । यौन विषयमा हुने आलाप, परिचर्चा, चित्र, गीत–संगीत आदिको सहज उपलब्धताले हाम्रो मानसिकता भिजेको कपासजस्तो भएका बेला मस्तिष्कले यौन–अनुभूतिको त्यो प्यास अनुभव गर्दैन ।

अर्को उदाहरण लिऊँ । घरबाहिरै पर्याप्त स्वादिष्ट परिकार सेवन गर्ने र स्वाद लिने मौका पायौँ भने हामी घरको सुन्दर र स्वस्थकर पाकशालाको उपेक्षा गर्न थाल्छौँ । भान्छाघरतिर हामी एक आँखाले पनि हेर्दैनौं । यही कुरा पति–पत्नीबीचको स्वस्थ जीवनसम्बन्धमा पनि लागू हुन्छ । हामी सबैले विज्ञानद्वारा व्याख्या गरिएको विद्युत् चुम्बकीय हस्तक्षेप (EMI-electromagnetic interference) का बारेमा त सुनेकै छौं । हाम्रा ल्यापटप, मोबाइल, रेडियोका नजिकमै शक्तिशाली चुम्बक ल्याएर राखिदिएपछि अब यी यन्त्रले आफ्नो स्वाभाविक कार्य गर्न सक्छन् र? हाम्रो समाजमा पनि यस्तै बाहिरी हस्तक्षेपमा सजिलै आकर्षित अथवा प्रभावित हुने ‘विश्वासघाती’ पुरुषहरूको संख्या दिनानुदिन बढिरहेको छ ।

अगणित संख्यामा पतिव्रता विवाहित नारीहरू आफ्ना पति–परमेश्वर (!) का बाहिरी जीवनका चपेटामा परेर प्रेम, आकर्षण र आनन्दविहीन जीवन बाँच्न मजबुर छन् ।

सर्वसुलभ वस्तुप्रति कुनै सभ्य व्यक्ति पनि धेरै आकर्षित हुने गरेको देखिँदैन । त्यसको स्तरलाई पनि कमसल मानिन्छ । त्यसप्रति सम्मान त बिल्कुलै हुँदैन । सृष्टिको प्रारम्भबाटै प्रेम र यौनको विषयलाई एकान्त र गोप्य नै राखिने गरिन्थ्यो । व्यक्तिगत मामिलाहरू आपसी सम्बन्धमा अथवा युग्म जीवनमा मात्र सीमित रहन्थे । आधुनिक समयमा नग्नतामा सुन्दरता र सभ्यता देख्ने चलन बढेको देखिन्छ । तर प्राचीन कालमा लज्जारूपी आभूषण भए मात्र नारीलाई सुन्दर र सभ्य मानिन्थ्यो । उसको लजालु हेराइ, चालचलन अथवा आचरणमा कोही पनि आकर्षित हुन्थ्यो ।

अंग्रेजीका महानतम कवि किट्स र सेलीलाई प्रेमसम्बन्धी काव्य रच्न प्रेरित गथ्र्यो । नारीमा भएका सुन्दर शील–स्वभाव , लज्जा–संकोच, शालीनता आदिले कवि, लेखक, संगीतकार, चित्रकारहरूलाई कृति रचना गर्न प्रेरित गथ्र्यो । तर आज चारैतिर नग्नताको निर्लज्ज र घिनलाग्दो प्रदर्शनबीच कुनै पनि कलाकारका मनमा सृजनशील अभिव्यक्तिका लागि उत्साह र कल्पना जाग्दैन । यस्ता वातावरणका बीच कुनै स्वस्थ विचार र भावना जन्मनु असम्भवप्राय छ ।

आजको आधुनिकता, सामाजिक वातावरण, विकृति, घृणायोग्य नांगोपन प्रदर्शनले गोपनीयतामा रहने मर्यादामा निरन्तर ठेस पुर्‍याइरहेको हुन्छ । विलियम सेक्सपियर भन्छन्– ‘यसले हाम्रा वासनालाई उत्तेजित त पार्छ तर हाम्रो रचनात्मक क्षमताचाहिँ बिस्तारै सिध्याउँछ ।’ सभ्य मानवको परिचय दिने, कलाकारको सिर्जनात्मकता बढाउने, सामाजिक विचलन–विकृतिलाई नियन्त्रण गर्न मद्दत पुर्‍याउने शालीन वेश–भूषा, आचरण, चालचलनविपरीत आधुनिकताका नाममा संयम र अनुशासनहीन स्वेच्छाचारिता अँगालेर हामी सुनको अण्डा दिने हंस मासिरहेका छौं ।

यतातिर पनि चिन्तन गर्ने बेला आएको छैन र? विख्यात अर्थनीतिविद् अल्फ्रेड मार्सलले Diminishing Marginal Utility (ह्रासमान सीमान्त उपयोगिता) सिद्धान्तमा यही कुरा भनेका छन् । जसलाई सामान्य भाषामा निम्नानुसार भन्न सकिन्छ– ‘कुनै परिकारमा हामी गुलियोको मात्रा जति थप्दै जान्छौँ, मिठास त्यति कम हुँदै जान्छ ।’ तसर्थ हामी सतर्क भई आफ्नो समाजलाई सही दिशा दिने, स–साना बाल–बालिकामा सुसंस्कार विकसित गर्ने, चारैतिर देखिने छाडापनको विरोध गर्ने र शालीनता एवं शिष्टाचार अपनाएर समाजलाई सही दिशा दिने समय आएको छ । अझै पनि यस विषयमा गम्भीर भएर सोचविचार गरे र जागरूक भए हामी आफ्नो सभ्यता–संस्कृति बचाउन समर्थ हुनेछौँ । नभए त सभ्यतम र श्रेष्ठतम भनेर परिचय दिने हाम्रो समाज पतनको रसातलमा पुग्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung