सरकारले ल्याएको गुठीसम्बन्धी विधेयक आइएलओ १६९ को व्यवस्थाविपरीत भएको कांग्रेस सांसदले बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद भीमसेनदास प्रधानले प्रधानमन्त्री आइएलओको सम्मेलनमा गएर फर्किंदै गर्दा आइएलओकै प्रावधानविपरीत विधेयक ल्याएर सरकारले आदिवासी–जनजातिको धर्मसंस्कृतिमाथि प्रहार गरेको आरोप लगाए ।
आइएलओ १६९ को प्रस्तावना स्थानीय आदिवासी–जनजातिको धर्म, संस्कृति, रीतिरिवाज तथा उनीहरूले भोगचलन गर्दै आएको जग्गाको संरक्षरण सरकारले गर्नुपर्छ भनेर नेपालले पारित गरेको अवस्थामा सरकारले त्यसविपरीत विधेयक ल्याएको उनको भनाइ छ । ‘काठमाडौंको संस्कृति र सम्पदाले नेपाललाई विश्वभर चिनाएको छ । यही सम्पदा र संस्कृतिमाथि सरकारले प्रहार गरिरहेको छ,’ प्रधानले भने । उनले विधेयक फिर्ता नलिए सरकार मात्र नभई व्यवस्था नै ढल्ने अवस्था आउन सक्ने चेतावनी दिए ।
‘काठमाडौंका जनता उठेपछि कुनै शासकले रोक्न सक्दैन,’ उनले भने, ‘याद होला, राणा–पञ्चायत ढलेको काठमाडौंका जनता जुरुक्कै उठेपछि हो । यहाँका जनता जुरुक्कै उठेपछि तानाशाही राजतन्त्र ढल्यो ।’
उनले थप भने, ‘पुनःस्थापित संसद्ले राजा फाल्यो । हिजो राजा फाल्ने हाम्रो एजेन्डा थिएन । काठमाडौंका जनता जुरुक्क उठेपछि राजा फालियो । हामीलाई केपी ओली सरकार ढल्ला भन्ने चिन्ता होइन । बलिदानबाट ल्याएको उपलब्धि र यो संविधान के होला भन्ने चिन्ता हो ।’
प्रधानले विधेयकमा भएको व्यवस्थाको आमरूपमै विरोध भइरहेको भन्दै सरकारले सरोकारवालासँग छलफलै नगरी विधेयक ल्याएको बताए । विधेयक फिर्ता लिन भएको आन्दोलनका सहभागीमाथि लाठी चार्ज गर्नेलाई कारबाही गर्न उनले माग गरे ।
पृथ्वीनारायण शाहले विजय गरेपछि पनि काठमाडौंको संस्कृति संरक्षण गरेको भन्दै उनले अहिले सरकारले यहाँको धर्म–संस्कृतिमाथि धावा बोलेको आरोप लगाए । ‘काठमाडौंमा आन्दोलनको हुरी चल्दै छ । बादल गर्जिंदै छ । बेलैमा ध्यान दिइयोस्,’ उनले भने, ‘सरोकारवालासँग, संस्कृतिविद्सँग छलफल गरेर मात्र विधेयक अघि बढाइयोस् ।’
भूमिसुधार तथा सहकारीमन्त्री पद्मा अर्यालसँग राजधानीका स्थानीय जनप्रतिनिधि र गुठियारले भेट गरेका छन् । उनीहरूसमक्ष मन्त्री अर्यालले सबैको सल्लाह र सहमतिमा विधेयक अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छन् ।













































































































































































































