नेपालले पर्यटन बजार बढाउन भियतनाम, कम्बोडिया र थाइल्यान्डमा प्रवर्धनका कार्यक्रम अघि सारेको छ ।
पर्यटन बोर्डले सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो–नेपाल) सँग सहकार्यमा नेपाललाई बौद्ध धार्मिक पर्यटनको प्रवेशद्वार एवं आकर्षक पर्यटकीय गन्तव्यका रूपमा प्रवर्धन गर्न यस्तो योजना बनाएको हो ।
बोर्ड र सोट्टो नेपालले बुधबार कार्यक्रम आयोजना गरी यससम्बन्धी जानकारी गराएका हुन् । उक्त अवसरमा बोर्डले तयार गरेको लुम्बिनीको वृत्तचित्र र सोट्टो नेपालले तयार गरेको नेपालसम्बन्धी प्रवर्धनात्मक वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सह–सचिव घनश्याम उपाध्यायले नेपाल सरकारले पर्यटनलाई दिएको महत्वमाथि प्रकाश पार्दै नेपाल भ्रमण वर्षका अवसरमा स्वदेशी र विदेशी पर्यटन व्यवसायीलाई व्यावसायिक सम्बन्ध विस्तार गर्न आग्रह गरे ।
यस्तै सोट्टो–नेपालका अध्यक्ष मधुसूदन उपाध्यायले बौद्ध धार्मिक पर्यटन केन्द्रका रूपमा नेपाल भ्रमण प्याकेज बिक्री गर्न कार्यक्रममा सहभागी स्थानीय पर्यटन व्यवसायी, प्रतिनिधिलाई अनुरोध गरे ।
उक्त अवसरमा नेपालबाट सहभागी पर्यटन व्यवसायी र विदेशी पर्यटन व्यवसायीबीच भियतनामको हनोई, कम्बोडियाको न्होम पेँेह र थाइल्यान्डको बैंककमा व्यावसायिक गतिविधि विस्तारसम्बन्धमा अन्तरक्रियासमेत सम्पन्न गरिएको थियो ।
तथ्यांकअनुसार सन् २०१८ मा भियतनामबाट १२ हजार ४ सय ५४ जना, कम्बोडियाबाट ३ हजार ७ सय ९० र थाइल्यान्डबाट ५३ हजार २ सय ५० जना पर्यटक नेपाल आएका थिए ।
नेपाल वायुसेवा निगमले सातामा तीनपटक काठमाडौं–बैंकक–काठमाडौं हवाई सेवा सञ्चालन गरिरहेको छ । सहज आवागमन भएकाले ती देशबाट नेपालमा पर्यटक आगमन बढ्ने विश्वास लिइएको छ ।
















































































































































































