१० कार्तिक २०८३, सोमबार

 

योगप्रतिको मेरो विश्वास र उत्प्रेरणा

- सन्दर्भ– पाँचौं अन्तर्राष्ट्रिय योग दिवस

योग मानिसको जीवनमा नीरोगको बुटी हो भन्दा अत्युक्ति नहोला । यो मेरो आफ्नै अनुभव हो । मेरो जीवनमा ५ दशक पुग्दानपुग्दै कैयौं स्वास्थ्य–समस्या देखिए । त्यसको उपचार र निदानका लागि ठूलो धनराशिसमेत खर्च भयो । त्यति गर्दा पनि शरीर नीरोग हुन नसकेका बेला योग अपनाउन पुगेँ । त्यसैले योग मेरो जीवनमा सञ्जीवनी बुटी बन्न पुग्यो ।

मेरो शरीरमा उब्जिएका रोगहरू माइग्रेन, छालामा मुसा, फिस्टुला, घुँडा एवं जोर्नी दुख्ने आदि । त्यस बखत म राजधानीकै महँगा निजी अस्पतालमा उपचारका लागि धाइरहेँ । त्यसमध्येको ब्लुक्रसका चिकित्सक डा. डीबी शाहको निगरानीमा करिब २ वर्ष सेवा लिइरहेँ ।

३–३ महिनामा ईईजी हुन्थ्यो । सिटीस्क्यान पनि गरियो तर रोग केही देखिँदैन । यता आफ्नो व्यथा कम हुँदैन । त्यसले गर्दा मेरो दैनिकी हैरान बनेको थियो । ०५२ सालतिरको प्रसंग हो । एक दिन मेरा भिनाजु भीष्ममर्दन शाहले ‘आस्था च्यानलमा बाबा रामदेवको योग आउँछ, त्यो गरिहेर त’ भनेर सुझाउनुभयो । उहाँको उक्त सुझाव अनुसार स्पेस केबुल नेटवर्क जडान गरेर योगकी दर्शक बन्न पुगेँ । साथै अभ्यास पनि गरिरहेँ । एक दिन बाबा रामदेवले भन्नुभयो– ‘गंगाको अनुभव टिभीबाट पनि गर्न सकिन्छ तर स्नान गर्न गंगामै पुग्नुपर्छ ।’ अर्थात्, तिमी टिभी हेरर पनि योग त गर्न सक्छौ । योगगुरुको सान्निध्यमा पुगेर गर्दा जति लाभ हुन्छ त्यति टिभी हेरेर गरिएको कार्यक्रमले हुँदैन ।

उक्त भनाइ सुनेपछि म पनि योगशिविरमै गएर योग गर्ने निर्णय गरेँ । तर काठमाडौंमा कहाँ–कहाँ हुन्थ्यो, जानकारी थिएन । एक दिन बहिनी इन्दिरा शाहले कमलपोखरी, अग्रवालभवनमा योगशिविर हुन गइरहेको जानकारी गराइन् । त्यही सूचनाका भरमा म कुपन्डोलबाट इन्दिरालाई लिएर बिहान साढे ४ बजे अग्रवालभवन पुगेँ । त्यहाँ योग प्रशिक्षण कार्यक्रम रहेछ । त्यहाँ डा. चन्द्रमणि खनाल गुरुले १५ दिने प्रशिक्षण गराउनुभएको थियो । प्रशिक्षण समाप्त भएपछि पनि करिब ६ महिना उक्त प्रातःकालीन दैनिकीलाई निरन्तरता दिएँ ।

त्यस अवधिमा ललितपुरमा मन्त्री क्वार्टरसँगै जोडिएको भूपू सैनिक संगठनको कार्यालय परिसरमा पनि त्यही तालिकामा प्रशिक्षण कार्यक्रम सुरु भयो । उक्त स्थल मेरो घरबाट नजिक रहेकाले कमलपोखरी नगई त्यहीँ सहभागी हुन पुगेँ । त्यही निरन्तरता र लगाबले गर्दा २४ वर्षदेखि योगप्रशिक्षक भएर योगलाई निरन्तरता दिन सफल भएकी छु । ०६५ पुस २९ गते नेपालबाट हरिद्वार गएका योगप्रशिक्षार्थीको समूहमा सहभागी भएर बाबा रामदेवले प्रत्यक्ष रुपमा गराएको कार्यक्रममा प्रशिक्षण लिने अवसर पाइयो । ९ दिने उक्त कार्यक्रममा सहभागिताले थप उत्साही बन्न पुगेँ । स्वामी रामदेव र आचार्य बालकृष्णको उपस्थितिमा गरिएको प्रशिक्षणले आत्मविश्वास पनि वृद्धि हुन पुग्यो । त्यसैले अहिलेसम्म मैले योगलाई नित्य बनाइरहेकी छु ।

यता शरीरमा देखिएका माथि उल्लिखित रोगका सिकायत पनि हराउँदै गए । म स्वस्थ हुन पुगेँ । रोगका कारण गरिँदै आएको खर्चसमेत बचावट भएको छ । ‘प्रिभेन्सन इज वेटर देन क्योर’ भनिएजस्तै रोग लाग्नुभन्दा पहिला लाग्न नदिनु उत्तम भन्ने सिद्धान्त अपनाएर जीवन स्वस्थ बनाउन योगले मलाई प्रेरित गरिरहेको छ । अहिले योगकै कारण व्यक्तिगत जीवन मात्र नभएर सामाजिक जीवनमा पनि परिवर्तन भएको छ । योगका बारेमा प्रशिक्षण चलाउनु, जानकारी गराउनु, उत्प्रेरित गर्नु र गराउनु मेरो कर्तव्य भएको छ । त्यसैले योगका बारेमा जान्न, बुझ्न खोज्ने दर्शक तथा श्रोता एवं पाठकलाई पायक पर्ने स्थानका योगशिविरमा पुगेर योग अपनाउन आग्रह गर्दछु ।

बाबा रामदेवले टिभीबाट गंगाको अनुभव गर्न त सकिन्छ तर पानी छुन त्यहीँ जानुपर्छ भनेजस्तै स्वस्थ एवं नीरोगी जीवन जिउन योगाभ्यासमा सहभागी हुनैपर्छ । योगका जिज्ञासुलाई अनुकूलतामा पायक पर्ने शिविरमा सहभागी भएर योगको साधक बनौं भन्ने योग दिवसका अवसरमा मेरो आग्रह छ । अन्त्यमा योगलाई अन्तर्राष्ट्रियकरण गराउन पृष्ठभूमिमा रहेर योगदान गर्नुहुने बाबा रामदेव र आचार्य बालकृष्णमा नमन । साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जसले पहिलोपटक प्रधानमन्त्री भएपछि संयुक्त राष्ट्रसंघमा जुन २१ लाई योग दिवसका रूपमा प्रस्ताव गरी योगलाई अन्तर्राष्ट्रियकरण गराउनुभएकोमा योग प्रशिक्षकका नाताले विशेष अभार प्रकट गर्न चाहन्छु ।
(राणा ललितपुरमा पतञ्जली योग प्रशिक्षक हुनुहुन्छ)

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung