२० बैशाख २०८१, बिहीबार

 

धुवाँखोला होमस्टेमा ‘घरबास तालिम’

गुल्मीको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङस्थित धुवाँखोला होमस्टेले सेवा थप प्रभावकारी बनाउन आधारभूत घरबाससम्बन्धी आवश्यक तालिम सञ्चालनमा ल्याएको छ ।

गाउँपालिका अध्यक्ष वेद थापामगरले मंगलबार तालिम उद्घाटन गरे । उनले प्राकृतिक सौन्दर्य, धार्मिक तथा सांस्कृतिक परम्परा, स्थानीय अर्गानिक परिकार र आत्मीय ग्रामीण वातावरण रहेको होमस्टेमा स्थानीय लोकसंस्कृति झल्काउने गीत र नृत्यको प्रदर्शनी विशेष रहेको बताए । ‘आफ्नो गाउँको विकास हामी आफैं गर्न सक्छौँ, त्यो पनि रमणीय तरिकाले ।

यसको उदाहरण धुवाँखोला होमस्टे हो,’ थापाले भने । गाउँगाउँमा पर्यटक भित्र्याएर आर्थिक रूपमा सक्षम बनाउन स्थानीयको भूमिका हुने उनले बताए । उक्त होमस्टे स्थानीय आमा समूह र क्लब मिलेर सञ्चालनमा ल्याएका हुन् ।

प्रशिक्षण दिन काठमाडौँबाट पर्यटनविद् जगतशेखर ढकालको नेतृत्वमा ८ प्रशिक्षक आएको आयोजकले जानकारी दिए । यस क्रममा नृत्य र संगीत, सरसफाइ, व्यवस्थापन र हाउस किपिङसम्बन्धी प्रशिक्षण हुने बताइएको छ ।

तालिम असार २२ गतेसम्म सञ्चालन हुनेछ । प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक पक्षहरूको संरक्षण र प्रवर्धन गर्दै सामाजिक तथा आर्थिक स्तरोन्नति गर्ने उद्देश्यले होमस्टे सञ्चालनमा ल्याइएको होमस्टेका अध्यक्ष राजेन्द्र गुरुङले बताए ।

होमस्टे सञ्चालन भएको करिब एक वर्षको अवधिभित्र हालसम्म ४ सय २७ पर्यटक भित्रिएका र करिब ६ लाख आम्दानी भएको सचिव आशिष गुरुङले बताए । धुवाँखोला आउने पाहुनाले सिद्धबाबा कालिलेख, हिले सत्यवती मन्दिर, गाउँवरपरका ऐतिहासिक धरोहर अवलोकनका साथै कोदोको ढिँडो, सेल, आटो, गुन्द्रुक, मकै, मकैको सेल, अर्गानिक निउरोको स्वाद लिन पाउने उनले जानकारी दिए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तारा थापा, वडा नम्बर ७ का अध्यक्ष लोकप्रताप शाह र कालीगण्डकी गाउँपालिका नेकपा अध्यक्ष रामजी ढकालले पनि मन्तव्य राखेका थिए । कार्यक्रम होमस्टेका अध्यक्ष राजेन्द्र गुरुङको अध्यक्षता, सचिव आशिष गुरुङको स्वागत मन्तव्य र पर्यटनविद् जगतशेखर ढकालको सञ्चालनमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्