प्रभु इन्स्योरेन्स लिमिटेड कम्पनी स्थापनाको २३ औँ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गरेको छ। गत शुक्रबार राजधानीको तीनकुनेस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा आयोजित वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७४/०७५ को आर्थिक प्रतिवेदन पारित गरेको छ ।
उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा बीमा समितिका अध्यक्ष चिरन्जिवी चापागाईले निर्जीवन वीमा कम्पनीहरुमध्ये प्रभु इन्स्योरेन्सको संस्थागत सुशासन अब्बल रहेको बताए। कार्यक्रममा बोल्दै अध्यक्ष चापागाईले गत आर्थिक वर्ष २०७५/०७६ मा बिमा क्षेत्रले धेरै राम्रो प्रगति बताउँदै अघिल्लो वर्ष बिमाको पहुँच ६/७ प्रतिशत जनतामा रहेकोमा आव २०७५/०७६ मा १९ प्रतिशत जनतामा बिमाको पहुँच पुगेको बताए। उनले मुलुकको कुल गार्हस्थ उत्पादनमा बिमा क्षेत्रको योगदान २ प्रतिशत रहेको जानकारी गराए ।
कार्यक्रममा बोल्दै कम्पनीकी अध्यक्ष कुसुम लामाले कम्पनी बिमा समितिको मार्गदर्शनमा अगाडी बढिरहेको बताईन । कम्पनीले बिमाको बिकासको लागि नयाँ नयाँ प्रोडक्टहरुको शुरुवात गर्न लागेको र सोका लागि नियामनकारी निकायको सदैव सहयोगको आवश्यकता रहेको उनको भनाई थियो ।
त्यस्तै कम्पनीका सञ्चालक राजेन्द्र मल्लले पुनर्बिमासम्वन्धी सम्पूर्ण कारोवार मुलुक भित्र नहुने हुनाले अझै पनि ठूलो रकम विदेशिने गरेको बताए । उनले नेपालमा रहेको पुनर्बिमा कम्पनीलाई अझ मजबुत बनाउन आग्रह गरे ।
कार्यक्रममा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले कम्पनीले गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा १३ प्रतिशत व्यवसाय वृद्धि गर्न सफल भएको बताए । उनले ग्राहकको सुविधाको क्यासलेस दावी भुक्तानीको सेवा ७ वटै प्रदेशमा बिस्तार गरिसकिएको बताए । त्यस्तै ग्राहकलाई बिमा लेख तथा दावी सम्वन्धी जानकारी दिनको लागि अनलाईन सिस्टमको विकास गरिएको उनको भनाई थियो ।
देशभर ५० भन्दा बढी शाखा, उपशाखा तथा सेवा केन्द्रहरु रहेको कम्पनीको चुक्ता पूजी रु. १ अर्व ५० लाख ७६ हजार पुगेको छ ।













































































































































































































